यलम्वर टाइम्सको १० औं वर्ष र संघीयता « Yalambar Times
१० असार २०८२, मंगलवार

यलम्वर टाइम्सको १० औं वर्ष र संघीयता


यलम्वर टाइम्स
१४ श्रावण २०७४, शनिबार ०७:३३

कुमार भट्टराई

देश अहिले संघीयता कार्यान्वयनको पक्षमा अघि बढिरहेको छ । विकेन्द्रीकरणको कुरा उठ्नु ग्रामीण विकासका लागि सपना देख्नु थियो कुनै बेला । त्यो सपना आज आज पूरा हुने दिशातिर अघि बढिरहेको छ । हामी सबै यतिखेर गाउँ–गाउँमा सिंहदरवार भन्ने कुराको सार्थकता खोज्न तल्लिन छौं ।

तर यो विकेन्न्द्रीकरण सरकारले ल्याएको नीतिले मात्र कार्यान्वयन हुन्छ त ? यो प्रश्नचिन्ह सँगै उब्जिएर आउँछ ।

किनभने सरकारी लगानीका लागि बजेटहरु त विकेन्द्रीकरण उन्मुख हुन शुरु भयो होला, तर केन्द्रीकृत हाम्रो मानसिकता र सक्षम दिमाग तथा व्यक्तित्वहरु जो

पलायन छन् गाउँ–गाउँबाट उनीहरु फर्किएर गाउँ आउँछन् त अब ?
पढेलेखका, बृद्धिजीवि र योग्यहरु सबै रोजगारीका नाममा, सुविधाका नाममा, पढ्ने नाममा विभिन्न नाममा कि त देश छाडेर हिंडेका छन्, कि त शहर केन्द्रित भएका छन् । जरो गाडिएर उतैतिर भाँसिएकाहरु यो विकेन्द्रीकरणबाट प्रभावित भएर आफ्नो आफ्नो गाउँ फर्किन्छन् त ?
गाउँ विकास भएन, मान्छेमा चेतना आएन भनेर राजनीतिक तथा सामाजिक आरोप लगाउनेहरु नै हुन् आफू सक्षम भएको भानमा सबैलाई गाली गर्दै गाउँ छाड्नेहरु । आफ्नो विवेकका कुनै पक्ष समेत अचेतन समाजमा लगानी नगरी पलायन हुने बौद्धिक वर्गहरुको अति वितृष्णित भावनाहरुले नै हो धेरै त हामीलाई आत्मग्लानी भएको । गाउँप्रति, ठाउँप्रति अझ देशैप्रति प्रत्येक नागरिकलाई असन्तुष्टि जगाउने कुनै अनपठ नागरिक होइन । आफूलाई सक्षम छु भन्ने जमात नै हो, जसका कारण न त देश बन्यो, न त समाज । यहीभित्र आफूलाई कतै पु¥याउन नसक्नेहरु असन्तुष्टिका बीच पनि आफूलाई समायनुकल निर्वाह गरिरहेका छन् ।
हो, यही बेला आएको छ देशमा संघीयता । तर यसको प्रयोग गर्ने सिलसिलामा नबुझिरहेको गाउँले समाजले सदुपयोग गर्छ कि प्रयोगशालाको रुपमा उपभोग गर्छ, हेर्न बाँकी छ ।
सबै बौद्धिक वर्ग पलायन हुने क्रम भए पनि केहीले त गाउँ छाडेनन् । केही गाउँ छाडेर पनि फर्किए । कोही सिक्न गएर आए, कोही सिकेर आए । गाउँबाट शहर तर्फ लाग्दै गएर फेरि गाउँ सेवामा नै फर्किएका व्यक्ति हुन् दिपीन राई ।
विभिन्न सञ्चार माध्यममा आफूलाई स्थापित गर्दै निष्पक्ष र निष्कलंकित पत्रकारको रुपमा पहिचान बनाउन सफल दिपीन राई साविक शनिश्चरे गाविसलाई केन्द्र बनाइ यलम्बर टाइम्स सञ्चालन शुरुवात् गर्नु त्यतिखेरबाट नै विकेन्द्रिकरण तर्फ उन्मुख भएको देखिन्छ ।
हालको अर्जुनधारा नगरपालिका र साविकको अर्जुनधारा, खुदुनावारी र शनिश्चरे गाविसलाई केन्द्र भागमा राखेर सञ्चालित कुनै पनि खबर पत्रिका यलम्बर टाइम्सभन्दा अघि भएको मैले बुझेको छैन । यसले पनि के बुझिन्छ भने दिपीन राईले आफ्नो पत्रिकाका मार्फत गाउँको विकासका पक्षमा खेलेको भूमिका अनुकरणीय छ ।
विकास भनेको बाटो, पुल–कुलेसो र विजुलीको पोलमात्र होइन, त्यस क्षेत्रमा चेतना भर्ने सञ्चार माध्यम पनि हो । गाउँभित्र लुकेका हरेक समस्याहरुलाई राज्यसम्म जबसम्म साक्षात्कार गराउन सकिंदैन, तबसम्म ग्रामीण विकास सम्भव छैन भन्ने बुझेका दिपीन राईले यलम्बर टाइम्स हालको अर्जुनधारा नगरपालिकाभित्रबाट प्रकाशन शुरुवात् गर्नु भनेको यो समाजको लागि उपहार पनि थियो ।
गाउँका सम्भावनाहरुको उजागर गर्नु, प्रतिभाहरुको खोजी गर्नु, गाउँमा नै रोजगारीको सिर्जना गर्नु र सचेत हुन खोज्ने हरेक नागरिकलाई सुसूचित गर्नु यलम्बर टाइम्सको जुन उद्देश्य थियो, यो पत्रिका निरन्तर त्यस तर्फ क्रियाशील छ ।
ग्रामीण पत्रकारितालाई केन्द्रमा राखेर हरेक हप्ता प्रकाशन हुने यो पत्रिकाले केन्द्र र गाउँ दुबैलाई रथका दुई पाङ्ग्राको रुपमा अघि बढाइको छ । केन्द्रीय समाचारहरुलाई गाउँ पु¥याउनु र गाउँका सूचनाहरुले केन्द्रलाई झक्झक्याउन यलम्बरले जुन भूमिका खेलेको छ, यो सह्रानीय छ ।
बीस बर्षभन्दा लामो पत्रकारिताको समयाक्रममा दिपीनजीसँग जुन सहयात्रा गर्दै आइरहेको छु, यसक्रममा उहाँले भोग्नु भएको अवरोहहरुबीच यलम्बर टाइम्सलाई अर्जुनधाराबासीको आफ्नो पत्रिकाको रुपमा स्थापित गर्न जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यसलाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
पत्रिकाले १०औं बर्ष प्रवेश गरिरहँदा यसको संस्थागत विकास र निरन्तरताका लागि हामी सबैको साथ–सहयोगको खाँचो खड्किन सक्छ, त्यसका लागि नागरिक दायित्व वहन गर्ने वाचा गर्दै पत्रिकाको दीर्घजीवनको कामना समेत गर्दछु ।