झापा मिडिया कपले ल्याएको उत्साह « Yalambar Times
२८ भाद्र २०८१, शुक्रबार

झापा मिडिया कपले ल्याएको उत्साह


यलम्वर टाइम्स
१८ भाद्र २०७४, आईतवार ०१:००

[नरेश खाती]

सञ्चारकर्मीको काम सामान्यतय नागरिकलाई सत्य तथ्य सूचना प्रदान गर्नु हो । सञ्चारकर्मीहरु स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्मका खबर नागरिकको घरदैलोमा ल्याउन अहोरात्र खटिरहेका हुन्छन् । रात, दिन घामपानी, बढी पहिरो नभनी नागरिकको सूचनाको हक प्रदान गर्ने झापाभरका सञ्चारकर्मीहरु एकसाथ खेल मैदानमा देखिए । झापाको अर्जुनधारा नगरपालिका वडा न.९ को खरबन्दी (बालकल्याण प्रा.वि.)को खेल मैदानमा जर्सी लगाएका सञ्चारकर्मीहरु दौडा दौडी गरिरहेको दृश्य देखिन्थ्यो । मैदान बाहिरबाट हेर्ने दर्शकले यी सञ्चारकर्मी हुन् की पेशागत फुटबल खेलाडी ठम्याउन सकेका थिएनन् । उनीहरु प्रश्न गर्थे यो क–कसको खेल हो ? पत्रकार–पत्रकार बीचको हो भनी, उत्तर दिँदा उनीहरु छक्क पर्दथे । दर्शकहरु पत्रकारले पनि फुटबल खेलेको देखेर दगं परेका थिए । जर्सी लगाएर खेल मैदानमा उत्रिएको सञ्चारकर्मीहरु पेशेवर फुटबल खेलाडीभन्दा कम देखिन्दैनन् थिए ।

झापाको सबैभन्दा पुरानो दैनिक पत्रिका ‘विवेचना दैनिक’ जसले पत्रिका जगतमा लामो इतिहास बनाएको छ । यही विवेचना दैनिक पत्रिका प्रकाशन भएको २५ वर्ष पूरा भएको छ । विवेचना दैनिकको रजत महोत्सवको अवसरमा, विवेचना दैनिक प्रकाशन समूहले आफ्नो रजत महोत्सव मनाउने शिलशिलमा रचनात्मक र सिर्जनात्मक ढंगले कार्यक्रमको तय गरिएको पाइयो । यसै कार्यक्रम अन्र्तगत झापाभरका सञ्चारकर्मीहरुलाई एकसाथ खेल मैदानमा उत्रार्ने कार्य गरेको थियो । फुटबल खेलको मध्यमबाट अजर्नुधारा नगरपालिका–९ खरबन्दीको खेल मैदानमा देखिएका सञ्चारकर्मी आठवटा टिम बनाएर सामेल भएका थिए ।

‘झापा मिडिया कप–२०७४’ मा यलम्बर टाइम्स–मेरो रेडियो र जनसंसद– लोकतन्त्र–सरगम–रेडियो अन, न्यू मेची टाइम्स दैनिक, सनराइज एफएम, सूर्योदय टेलिभिजन, विवेचना दैनिक, आमसञ्चार अनलाइन र इजलास दैनिक थिए । पहिलो दिन भाद्र १०गते शनिबार उद्घाटन खेलमा यलम्बर टाइम्स–मेरो रेडियो र जनसंसद– लोकतन्त्र–सरगम–रेडियो अन बीच सम्पन्न भयो ।

अर्जुनधारा नगरपालिका झापाको पुरानो तथा ऐतिहासिक बजार शनिश्चरे रहेको नगरपालिका हो । यही स्थानमा पुराना खेलाडी, साहित्यकार, पत्रकार रहेका छन् । शनिश्चरेबाट एउटा साप्ताहिक पत्रिका यलम्बर टाइम्स र मेरो रेडियो, यलम्वर टाइम्स डटकम अनलाईन, अर्जुनधारा अनलाईले नागरिकलाई स्थानीय तथा राष्ट्रिय गतिविधिबारे सूसुचित गर्ने काम गरिरहेका छ । एक दर्जन भन्दा बढी सञ्चारकर्मी रहेको यो नगर उर्वरभूमि मानिन्छ । यही नगरमा पहिलो पटक हुन लागेको ‘झापा मिडिया कप–२०७४ मा भाग लिनु अर्जुनधारा नगरपालिकामा रहेर मिडियामा कार्यरत् मिडियाकर्मीका लागि प्रतिष्ठाको विषय थियो ।

सञ्चारकर्मी आफ्नै नगरमा फुटबल खेलेर जान्छन तर अर्जुनधारा नगरबासी सञ्चारकर्मी दर्शक मात्र हुन पक्कै सुहाएन । यलम्बर टाइम्सका सम्पादक दिपिन राई र मेरो रेडियोका प्रबन्ध निर्देशक कुमार भट्टराई बिच कुरा मिल्यो । मेरो रेडियोका अध्यक्ष शंकर सुवेदीको पनि साथ पायौं । जर्सी स्वस्तिका शिशु सदन स्कुलबाट सौजन्य प्राप्त भयो । हामी अर्जुनधारा नगरपालिकामा यलम्बर टाइम्स र मेरो रेडियाकर्मी मिलेर टिम बनाउने र ‘झापा मिडिया कप–२०७४ मा भाग लिने सल्लाह अनुसार १६ जनाको टिम बनाएर भाद्र १० गते खेल मैदान खर्बन्दीमा हाम्रो टिमका साथीहरु १ बजे भेला भयौं । लामो समय भएको थियो फुटबल खेल्न छाडेको । धेरै सञ्चारकर्मीहरु एकताका फुटबल खेलेका भए पनि लामो समयपछि खेल मैदानमा उत्रेको हुन सक्छ ।

यलम्बर टाइम्स–मेरो रेडियोको टिम कप्तान कमल पोख्रेलको नेतृत्वमा खेल मैदानमा उत्रिएको टिमले जनसंसद–लोकतन्त्र–सरगम–रेडियो अनको टिमलाई दुई शुन्य गोल अन्तरले पराजित गर्यो । भाद्र १० गते नै भएको न्यू मेची टाइम्स दैनिक र सनराइज एफएम बिच भएको खेलमा सनराइज एफएम विजयी भयो । सूर्योदय टेलिभिजन र विवेचना दैनिक बिच भएको खेलमा सूर्योदय टेलिभिजन विजयी भयो । आमसञ्चार अनलाइन र इजलास दैनिक बिच भएको खेलमा इजलास दैनिकले बाहिरका खेलाडी खेलाएको भन्दै आमसञ्चार अनलाइनलाई विजयी घोषणा गरिएको थियो ।

दोस्रो दिन अर्थात भाद्र ११ गते नै सेमिफाइल र फाइनल खेल वर्षातका कारण हुन सकेन र भाद्र १२ लाई सर्यो । १२ गते बिहान पहिलो सेमिफाइनल खेल यलम्बर टाइम्स–मेरो रेडियो र सनराइज एफएम बिच भयो जसमा यलम्बर टाइम्स–मेरो रेडियो ३ शुन्यले विजयी भयो । त्यसै गरी आमसञ्चार अनलाइन र सूर्योदय टेलिभिजन बिच भएको खेलमा सूर्योदय टेलिभिजन विजयी भयो । अब पालो थियो यलम्बर टाइम्स–मेरो रेडियो र सूर्योदय टेलिभिजन बिच फाइनल खेलको भाद्र १२ गते नै दिनको करिब २ः३० बजेतिर खेल शुरु भयो । सूर्योदय टेलिभिजनको टिम पनि राम्रै थियो हामीले आफ्नो टिम यलम्बर टाइम्स–मेरो रेडियोलाई त कम आँक्ने कुरै भएन ।

खेल सम्पन्न भयो तर नतिजा सूर्योदय टेलिभिजनको पोल्टामा पर्यो । ३–० अन्तरले सूर्योदय टेलिभिजन विजयी भयो । यलम्बर टाइम्स–मेरो रेडियो टिम उपविजेतामा सीमित रह्यो । विजयी टिमले ट्रफि सहित नगद २१ हजार प्राप्त गर्यो भने उपविजेता टिमले कप र ११ हजारमा चित्त बुझाउनु पर्यो । खेलमा हार जित स्वभाविक हो । फाइन हुनु अघि सञ्चारकर्मी महिला र जेसिस बिच मैत्रीपूर्ण खेल भएको थियो जसमा लेडी जेसिस विजयी भएको थियो । केही दिन अघि मात्र तयारी गरेर खेलेका सञ्चारकर्मीले मैदानमा रामै खेल प्रर्दशन गरेका थिए । धेरै सञ्चारकर्मीहरु खेल मैदानमा ४० मिनेट पनि टिक्न सकेनन् । धेरै पत्रकार पूर्व फूटबल खेलाडी थिए तर भने जस्तो खेल्न नसकेको गुनासो गरे । जे होस् समग्रमा ‘झापा मिडिया कप-२०७४ को माध्यमबाट पत्रकारलाई सजग गराएको छ । खास गरी स्वास्थ्यको सवालमा ।

अर्को कुरा छरिएर रहेका ‘झापाली सञ्चारकर्मीहरुलाई एकसाथ एउटै मैदानमा उतारको छ, मैत्रीभाव जगाएको छ । केही समान्य विवाद बाहेक विवेचना दैनिकले आयोजना गरेको ‘झापा मिडिया कप–२०७४ सफल भएको छ । यस कार्यको लागि धन्यवाद छ विवेचना दैनिक प्रकाशन समूहलाई र म्याच कमिस्नार भगीरथ आले ‘मामा’लाई पनि ।