यस वर्षकी आमा दिलमाया « Yalambar Times
२९ भाद्र २०८१, शनिबार

यस वर्षकी आमा दिलमाया


यलम्वर टाइम्स
१ आश्विन २०७४, आईतवार ०६:४६

[राजन साम्पाङ]

अर्जुनधारा । अम्बिका प्रतिष्ठान अर्जुनधाराले यस वर्षको आमा सम्मान पुरस्कार अर्जुनधारा–९ की दिलमाया अधिकारीलाई प्रदान गर्न लागेको छ ।

वरिष्ठ साहित्यकार तथा समालोचक कृष्णधरावसी र पत्रकार तथा युवा साहित्यकार कुमार भट्टराईको ममतामयी माता स्वर्गीय अम्बिकादेवी भट्टराईको स्मृतिमा नगद १० हजारसहित सम्मानपत्रले दिलमायालाई आउने अष्ठमीका दिन सम्मान गर्न लागिएको हो ।

कलिलै उमेरमा पति वियोग परेकी दिलमाया अधिकारीले दुई नाबालक छोरालाई हुर्काइ उच्च शिक्षा हासिल गर्न सक्ने बनाई समाजमा बाँच्न सक्ने योग्य सुपुत्र बनाउँदाको अवस्थालाई मध्यनजर गर्दै दिलमायालाई उक्त राशिको पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका महासचिव कुमार भट्टराईले बताए ।

२०१५ सालमा जन्मिएर मावलमै हुर्किएकी टुहुरी दिलमाया अधिकारीको २०२८ सालमा पति चिनबहादुर अधिकारीसँग विवाह भएको थियो । कान्छो छोरो ३ महिनाको नहुँदै क्षयरोगका कारण पति चिनबहादुरको निधन भएपछि उनले समाजमा पतिको ईज्जत राख्दै दुई छोराहरुलाई हुँर्काउदाको पीडा कठोर र संघर्षशिल भएको र दुवै छोरालाई योग्य बनाउन सफल भएको भनी उनलाई सम्मान गर्न लागिएको हो ।

दिलमायाका जेठा छोरा लोकबहादुर अधिकार (४०) र कान्छा छोरा अमरबहादुर अधिकारी (३६), एक नातिनी र ३ नाति र बुहारीसहितसँगै बस्दै आएका छन् । विगतका पीडाहरुलाई सम्झेर ल्याउँदा दिलमाया भन्छिन् –‘त्यस्ता दुःख कुनै महिलाहरुलाई नपरोस् ।’

प्रत्येक वर्ष अष्टमीका दिन स्वर्गीय अम्बिका भट्टराईको तिथि परेको हुँदा दुई मुर्धनिय साहित्यकार धरावासी र भट्टराईले समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई उपस्थित गराई औपचारिक कार्यक्रमसँगै आमाप्रति श्रद्धा राख्दै उक्त पुरस्कार प्रदान गर्दै आएका छन् । स्वर्गीय अम्बिका पनि आफू जीवित रहँदा योग्य छोराछोरी बनाउँदा उनले गरेको संघर्ष कम कष्टकर थिएन ।

त्यसैले पति वियोगमा परि योग्य सन्तान बनाउन संघर्ष गर्ने महिलालाई प्रदान गरिने उक्त पुरस्कार यो पटक दिलमायालाई प्रदान गर्दा प्रतिष्ठानले सही संघर्षशिल महिला छनौट गरेकामा मेरो रेडियोका अध्यक्ष शंकर सुवेदीले धन्यवाद प्रदान गरेका छन् ।