
[दिपीन राई]
मानिसलाई जीवनमा सबैभन्दा साह्रो भनेको नहुनु नै रहेछ । सोचेको जस्तो, चिताएको जस्तो अनि आँटेको जस्तो पुगेन भने त्यसले मानिसलाई पछिसम्म पिरल्दोरहेछ । आज त्यो बेलाको दुःख, कष्ट मेरो मनमा झल्झली आइरहेको छ । हुन त मानिस असन्तुष्ट प्राणी हो तर पनि सबै थोकले त कहाँ पुग्छ र !
पारिवारिक दृष्टिले अत्यन्त कष्टपूर्ण जीवन चलेको बेला एउटा बालकले दशैं–तिहारमा मीठो मसिनो खाने, राम्रो लुगा लगाउने र रमाइलो गर्ने सपना देख्नु स्वाभाविक नै हो । तर तिनका अभिभावकले कसरी पु¥याउँछन्, त्यो चाहिँ अलिक छुट्टै र कष्टकर पाटो हुनसक्छ । रै पनि त्यो घरमा चाडपर्व दुःख–सुखमा भए पनि मनाएरै जान्छ । कष्टपूर्ण भएतापनि महिनाको हिसाबले असोज–कार्तिक पात्रोमा परिवर्तन भएरै जान्छ । समय एकै ठाउँ र एकैनासले पर्खिरहदैन । कसले मीठो खायो, कसले खाएन भनेर असोज–कार्तिक महिनाले घर–घरमा आएर हेर्न पनि सक्दैन । हो, त्यतिबेलाको चाडवाडमा छाएको कष्ट उ, यो धर्तीमा नभएतापनि उसले म माथि आशा र भरोसा राख्दै रमाउँदै व्यक्त गरको भनाईले खोलाको बगरमा काँस फुलेको समयमा सम्झना आइदिन्छ ।
जब खोल्सा खोल्सी, खोला बगरमा भदौ महिनादेखि कार्तिक, मंसिरसम्म सेताम्मे काँस हुन्छ, बाल्यकालमा ती बालकले आशा र भरोसा गरेर भनिएका शब्दले मेरो मन छुने गर्छ । उसका ती शब्दहरु यति बेला कथा जस्तो भएका छन् । ऊ मेरो परिवारभित्रकै सदस्य हो । समय र जिन्दगीले मानिसलाई कहाँ–कहाँ पु¥याउँछ, अनि सोचेको जस्तो पनि नहुँदो रहेछ । सोचेको, चिताएको सबै पुगिदिने भए मानिसले भगवान् पुकार्दैन थिए होला । नपुगेरै होला आज पूजापाठ, भाकल गरेर मठ–मन्दिर धाएका हुन सक्छन् र यथार्थ पनि त्यस्तै हुँदै गइरहेको छ ।
त्यही यथार्थमा हिँडेको जिन्दगी आज एउटा सम्झना बनेर छाएको छ । त्यो सम्झना हाम्रो परिवारलाई मात्रै होइन समाजलाई पनि छाएको हुनसक्छ । समाज हुने खाने र हुँदा खाने दुई प्रकारले चलेको हुन्छ । हुने खाने मानिसको जिन्दगी र सोच पनि त्यही खालको परिवेशले चलेको हुन्छ । सबै सुविधा भएर पनि मानिस असन्तुष्ट प्राणी भएर होला हुने खाने मानिसहरु जस्तै भएर हिँडेको पाउँदैनौं । हुँदा खानेको त परै जाओस् ।
हुँदा खाने परिवेशमा चलेको हो हाम्रो परिवार । जग्गा–जमिन भएर पनि हाम्रा पिताजी आफू हुर्किएको ठाउँको माया–ममताले गर्दा तराईको सबै बेचबिखन गरेर स–परिवार पहाड चढेका थिए । श्रीमानको आग्रहमा हाम्री आमा पनि नाबालक भाइबहिनी लिएर पहाड चढ्नु भएको थियो । त्यो बेला मनग्गे खान पुग्ने खेतबारी र घर बेचेर अर्जुनधारा–झापा नफर्किने हिसाबले छरछिमेकलाई बिदाइको हात हल्लाउँदै हिंडेको हाम्रो परिवार मध्ये म भने ‘मावली बाजे सिहार्दै पढ्दै बस्नु’ भनेर छाडिएको थिएँ । बिहानको करिब नौं बजेको थियो, हाम्रा बुवालाई आफन्त, छिमेकीहरुबाट बिदा हुन निकै समय लागेको थियो ।
कहिले गाडी नचढेका मेरा भाइबहिनी सेतो कारमा चढेको दृश्य पनि राम्रै थियो । ती रमाउँदै गरेका बबुरालाई के थाहा ? मधेशमा हुर्किएकालाई पहाडमा कति दुःख, कष्ट हुन्छ भनेर । रैपनि बालबच्चा न हुन्, जता–जता बाबु–आमा जान्छन् त्यता जानै प¥यो । केही समयपछि (२०४४ सालतिर) सेतो कार बिर्तामोड तर्फ हुइँकियो ।
भएभरका सबै परिवार पहाड लागे । कार हुइँकिएपछि समाजले कुरा काट्न थाले, ‘जेठाले यो नचाहिँदो काम ग¥यो । पहाडमा ती नानीहरु दुईदिन पनि टिक्न सक्दैनन् । माइलीले पनि साह्रै दुःख पाउने भई ।’ समाजमा हाम्रा पिताजीलाई राई जेठा र मातालाई माइली भनेर बोलाउँथे । हाम्रा परिवारका कुरा दुई–चार दिन चल्यो छरछिमेकमा ।
समय न हो, बिस्तारै ती सबै बिर्सदै गयो समाजले । बिर्सदै जानु पनि पर्दोरहेछ । यता म मावली बाजेको साथी भएर बस्दा भौतिक सुख प्राप्त भएतापनि आमाबुबा र भाइबहिनीहरुसँगको बिछोड र सम्झनाले आधा मन दुःखी नै भइरहन्थ्यो । पहाडको दुःख अनि भौतारिएको जीवन, तराईको हावापानीमा हुर्किएको बालबच्चा सधैँ त कहाँ टिक्न सक्छ र ? पहाडमा टिक्न नसकेपछि हाम्रो परिवार अर्जुनधारातिरै पुनः आगमन भयो । तराई बस्दा कलकलाउँदा ती बालबच्चा पहाडको दुःख–कष्ट र अन्नको अभावले भोकमारीबाट पीडित कुपोषण लागेको बालबच्चा जस्तै कोहीको पेट फुलेको त हात खुट्टा सुकेको, कोहीको टाउको ठूलो, शरीर सानो जिङ्ग्रिङ्ग परेको अवस्थामा फर्किए ।
भएको सबै बेचेर पहाड हुइँकिएको हाम्रो परिवार पुनः तराईमा आउँदा टेक्ने न समाउने अवस्थामा रहयो । धन्न मावली बाजे भारतीय सेनाका पेन्सिनियर हुनुहुन्थ्यो र उहाँको घरमा बस्ने व्यवस्था मावली बाजेले मिलाइदिनु भयो । छोरी, नातिनातिनीले दुःख पाए भनेर हाम्रो परिवारलाई बाजेले ५/६ महिना हेर्नु भयो । त्यस बेला म इलाम स्थित दाहालको घरमा काम गर्दै अध्ययन गर्दै थिए ।
जब म अध्ययन सकेर इलामबाट झापा आएँ । झापाको कनकाई एक्सप्रेससँगै दैनिक विवेचना भन्ने पत्रिकामा काम गर्ने अवसर पाएँ । जुनबेला मैंले काम शुरु गरे त्यो २०४९ साल हुनुपर्छ । मासिक बाह्र सयको मेरो जागिरले मेरो परिवारलाई थोरै भए पनि सहयोग पुगेको थियो । जसले दिन्छ त्यसैसँग आश हुन्छ भने झैं घरमा खाने–लाउने कुराहरुमा मेरो टेवा भएपछि मसिना भाइबहिनीहरुको आश मसँग बढ्न थाल्यो ।
परिवार ठूलो भएकाले आम्दानीले नपुगेर महिनामा आधा खाना कनिकाको चामल हुन्थ्यो । लाउने कुरामा नयाँ हुँदैन थियो । शनिश्चरे बजारको हाटमा पाइने फाटा कम्पनीका बङ्गलादेशी लताकपडा भाइबहिनीहरुका लागि किनेर दशैं टारिन्थ्यो ।
कुरा ०५१ सालतिरको हो । हामी बसाइँको क्रममा पुनः पुरानै ठाउँ अर्जुनधाराको रमाइलो बस्तीमा सानो छाप्रो हाली बस्न पुग्यौं । घरको मूल खाम्बा सिसौको लाथ्रा थियो । छाना आँधा काँस र आँधा कालो प्लाष्टिकको थियो । बेलुका ओछ्यानमा सुत्दा टल्किएको चन्द्रमा र तारा देखिन्थ्ये । भाइबहिनीहरु सानै थिए । आमाले बनि गरेर ल्याएको अन्न र मैले जोहो गरेको पैसाले हाम्रो परिवार चल्दै थियो । गाई, बाख्रा थिएनन् । सानो एक हल बहर भने थियो । त्यही बहर लिएर अर्काको हलो जोत्दै हाम्रो बुवा हिड्नु हुन्थ्यो । स्वभावले हाम्रो बुवा एक सरो काम गर्ने हुनुहुन्थ्यो । माइला भाइको स्वाभाव पनि बुवाको जस्तै, हलो जोत्नै नमान्ने । त्यो समयमा कान्छा भाइ पालुलाई एक रुपैयाँ दिएर बुवाले दिनभरी हलो जोताउँनु हुन्थ्यो । कसको बारी कतिमा ठेक्का लिएको हो, कान्छालाई थाहा हुँदैन थियो । दश–एघार वर्षको केटो ऊ । पत्रिकाको काम सिध्याएर म खाना खान आउँदा आफुजत्रै गोरुसँगै अर्काको बारीमा हलो जोत्दै गरेको भेटिन्थ्यो । बिचरा बालक एक रुपैयाँ र पेटभरी खान दिंदा ऊ अर्काको खेतबारी जोतिनै रहन्थ्यो ।
गोठालमा दिउँसोभरि दशैंको विषयमा गरेका कुरा कतिबेला दाजु आउँछ र सुनाउँला भन्दै भाइबहिनी बसेका रहेछन् ।
दुःखकै समयमा केटाकेटीबिच चाडवाड आउँदै गर्दा गाई गोठालो गरेको बेलामा पालुले गोठाला साथीभाइसँग गफ गरेछ, ‘दशैंमा यस्तो लगाउने, उस्तो लगाउने, यो खाने, त्यो खाने’ भनेर । साँझ पर्दै थियो । भदौं महिनाको अन्तिम साता, मौसम पनि सफा हुँदै गएको थियो । रात लामो र दिन छोटो । डाँडामा घाम अस्ताउँदै गर्दा काँस सेताम्मे फुलेर बिरिङ्ग, फूलमति बगर पुरै ढाकेको थियो । बेलुका ६ बजेको हुनुपर्छ, म घरमा पुग्दा । गोठालमा दिउँसोभरि दशैंको विषयमा गरेका कुरा कतिबेला दाजु आउँछ र सुनाउँला भन्दै भाइबहिनी बसेका रहेछन् ।
घर पुगेर झोला बिसाउँदै गर्दा कान्छा भाइ पालुले भन्यो, ‘दाजु, काँस फुलेपछि दशैं आउँछ । यसपालिको दशैंमा के व्यवस्था गर्ने ?’ गलेर लखतरान भएको बेला म चुपचाप लागेर बसें । केही समय पश्चात पुनः कान्छा बोल्यो, ‘बुबाले गोरु नार्नुमात्र हुन्छ, खाली म नै जोत्नु पर्छ । माइला दाइपनि जोत्न मान्दैन । यसपालिको दशैंमा चप्पल, सट–पेन्ट चाहिन्छ नि ! मलाई त ।’
ऊ एकोहोरो बोलेपछि मैले भनें, ‘हुन्छ, स्कुलको ड्रेस पनि मिल्ने किनिदिन्छु । तँलाई मात्र होइन, अरुलाई पनि त किन्नु पर्छ नि ।’ मैंले त्यसो भनेपछि ऊ मन नलागी–नलागी घरभित्र गयो । फेरि केमा चित्त बुझेन कुन्नि एउटा जिनिसको पेन्ट किनिदिनु दाजु, बरु म धान काट्न खेताला गएर सट र चप्पल किन्छु हुँदैन ?’ भनी नयाँ प्रस्ताव राख्यो । मैंले ‘एक सयमा आउँछ भने किनिदिन्छु’ भने ।
०५०/०५१ सालको एक सय रुपैयाँ निकै ठूलो धनराशी नै मानिन्थ्यो । राम्रो जिन्सको पेन्ट फाटा कम्पनीको एक–दुई सयमा आउँथ्यो । शनिबारको दिन पारेर कपडा किन्न एक सय रुपैयाँ पालुलाई दिएँ । माइला भाइ आफै यता–उता गर्दै दशैंको कपडा किन्न थाल्यो । अरु भाइबहिनीलाई पनि किनिदिएँ ।
ऐलानी भए पनि अन्न फलेको खेत सबै बिरिङ्ग खोलाले कटान गरेर लगिदिँदा कष्टले नै बित्थ्यो चाडवाड । देउसी–भैलो खेल्न आउँनेबाट लुक्नुपर्ने स्थिति थियो त्यसबेला ।
कान्छा स्वभावैले घरको हेरबिचार र चिन्ता गर्ने खालको थियो । दशैंमा के खाने ? चामल छ, कि छैन ? माछामासु कहाँ बन्दोबस्त गर्ने ? यस विषयमा पनि खुब चिन्ता गर्दथ्यो । सबै कुरा अपुरै भएर दशैं–तिहार बित्दा अब आउँने दशैं–तिहार, चाडवाड चाहिँ राम्ररी नै मनाउनु पर्छ भन्दै गफिन्थ्यो । दुःखमा हुर्केको जिन्दगी अरु भाइबहिनी पनि कान्छा जस्तै गफिन्थे । केटाकेटी न हो दशैं–तिहार भनेपछि मनमा उत्सुकता बढेर आउँनु स्वभाविकै हो । ऐलानी भए पनि अन्न फलेको खेत सबै बिरिङ्ग खोलाले कटान गरेर लगिदिँदा कष्टले नै बित्थ्यो चाडवाड । देउसी–भैलो खेल्न आउँनेबाट लुक्नुपर्ने स्थिति थियो त्यसबेला । दशैं–तिहारमा लिङ्गे पिङ्ग भनेपछि हुरुक्कै हुने पालु दशैं अगावै सोह्र श्राद्धबाट नै पिङको डोरीका लागि भन्दै गाउँमा सनपाट उठाउन लाग्थ्यो । साथीभाइलाई अराउने अनि मिलेर गाउँ–घरमा बाँस जम्मा गर्ने गथ्र्यो । गाउँबस्तीमा पालु भनेपछि सबैले रमाइलो ठान्थे ।
कम बोल्ने तर हसाएर बोल्ने हुँदा सबैले माया गर्ने, घर र समाजमा विश्वासिलो रुपमा उभिदै आएको थियो । समाजमा कोही दुःख बिमार प¥यो, मेलापातमा कसैलाई सहयोग गर्नु प¥यो भने पालु नाँई भन्न सक्दैन थियो । तिहारमा पैसा कमाउन देउसी खेल्नुपर्छ भनेर साथीभाइसँग रातभरि देउसी खेली केही रकम आफू राखी बाँकी रकम घर–परिवारका लागि खर्च गर्नु भनेर आमालाई दिन्थ्यो । भाङ्ग, धतुरो सेवनबाट टाढै बस्ने, सबैलाई समान व्यवहारले हेर्ने पालुपछि समय, परिस्थिति र आर्थिक अभावले परिवारमा पिरोल्लिरहेको बेला मलाई ससुरालीसम्म पु¥याएर भारतको पुनामा कमाउन भनी हाम फाल्यो । पुनाको एक होटलमा उसले काम गर्न शुरु गरेछ ।
शुरुमा धेरै तलब कसले पो दिन्छ र ? त्यसमा पनि होटल लाइनमा । भारत छिरेपछि मेरो डरले पाँच–छ महिना मसँग गफ गर्न डराइ रहन्थ्यो । बिस्तारै मैले नै उसलाई फोन गरेर त्यहाँको रहन–सहनको बारेमा बुझें । फोनमा गफ गर्दा भन्थ्यो, ‘दशैंको तयारी कस्तो छ ? घर–व्यवहार कसरी चलाउँदै हुनुहुन्छ ?’ उसको हरेक प्रश्नमा घर–व्यवहारको कुरामात्र हुन्थ्यो । उसको इमान्दारिताले पनि उसलाई होटलको मालिकले प्रशंसा गर्थे रे । उसका साथीभाइ घर आउँदा हामीलाई सुनाउँथे । आज भन्दै भोली भन्दै उसले पुनामा सात वर्ष बिताइसकेको थियो । आठ वर्षमा एकपल्ट दशैं–तिहार मनाउन आफ्नो गाउँ–घर आएको थियो । ऊ आउँदा गाउँनै उज्यालो भए जस्तो हुन्थ्यो । घर त त्यसै पनि उज्यालो हुने नै भयो । काँस फुल्यो कि मलाई पनि उसको सम्झना आउँथ्यो । उसले पुनामा बस्दा कमाएको पैसाले घर–व्यवहार चलाउन सहज हुँदै गएको थियो । आमा र मलाई घर चलाउन पूरै सहयोग पुगेको थियो । दिदीबहिनी, भाउजू, भतिजहरुलाई खुशी पाथ्र्यो । उसको उपस्थितिले दशैं–तिहार पनि रमाइलो नै गरी बित्यो ।
मैले विगतलाई सम्झिएँ, ‘पैसा नहुँदाको र पैसा हुँदाको दशैं–तिहार निकै फरक हुँदोरहेछ । पैसा नहुँदा देउसी–भैलो आउँदा भाग्नु परेको अवस्था आज पनि याद आउँछ । उसले सपना ठूलो देखेको थियो । उसको सोचाइ सधैँ परिवारमा नै थियो । उमेरले वयस्क हुँदै जाँदा उसलाई पनि जोडी बाँधिदिनु पर्छ भन्नेमा परिवार चिन्तन गरिरहेका थियौं । गाउँ–घरमा पनि इष्टमित्रले कुरा उठाएका थिए । विवाहका लागि एक–दुई ठाउँ केटी हेर्न पनि नगइएको होइन ।
समाजमा कहिले पनि फटाह नदेखिएको, केही गर्ने सोच बोकेको इमान्दार युवा थियो ऊ । पुनाबाट आएपछि कान्छा आफन्त कहाँ भेटघाटका लागि कतै गएको थिएन । आफन्तहरुले ‘कान्छा आएछ’ भनी सोधिरहन्थे । पहिलादेखि नै माइती मान्दै आउनुभएकी भीमकुमारी फुपूले पनि ‘कान्छा त बाहिरबाट आएको निकै भएछ, अनुहार देखाउन पनि आउँदैनस् त ?’ भन्नुहुँदो रहेछ । त्यसको प्रतिउत्तरमा ऊ चाहिँ– ‘फुपू ! एकैचोटी जोडी भएर अनुहार देखाउन आउँछु, अहिले हतार छ’ भन्दै हिँड्दो रहेछ । फुपूलाई मात्र होइन, सबैलाई त्यस्तै जवाफ दिंदोरहेछ ।
दशा हो कि भावीले त्यस्तै लेखेर आएको हो । सधैँको व्यवहार अलिक फरक चाहिँ देखिन्थ्यो । साथीभाइले पनि उसको व्यवहारमा शंका गर्न थालेका थिए । दशैं–तिहार राम्ररी नै बित्यो । सबै भाइबहिनीहरु बिच हाँसीमजाक नै भयो । देउसी खेल्दै, गाउँमा पिङ लगाएर खेल्दै हर्षोल्लासका साथ चाडवाड राम्ररी नै टरेर गयो । हुर्केको भाइको विवाहको चर्चा घरमा र गाउँमा पनि उठेको थियो । एक–दुई ठाउँ केटी हेर्न पनि लगियो । केटी हेरेको ठाउँमा एक–दुई वर्ष पर्खिनु पनि भनेका थिए । यो २०६८ कात्र्तिक २० गतेको कुरा हो, बेलुका साढे तीन बजेको हुनुपर्छ । स–परिवार भएकै बेला ऊसँग, ‘कान्छा कतै नहिंड्, घरमै बस्दै गर् । एउटा सल्लाह छ’ भनेर एक घण्टा जति परिवारसँग गफ गरेर म कामको सिलसिलामा शनिश्चरे बजार आएँ ।
त्यतिकैमा पालु साथीभाइको लहलहैमा साथीको घर सुखानीतर्फ लागेछ । मन चञ्चल भए जस्तै देखिने, एकैछिन घरमा मन नअड्याउने उसको स्वभावले नै होला सुखानीबाट फर्कने क्रममा खुदुनाबारी चोक छैवैमा मोटरसाईकल दुर्घटना भई बाटा छेउमा काटेको सिसौको ठुटामा ठोकिन पुगेछ । साँझ साढे छ बजे बेहोस अवस्थामा शंकर हस्पिटलमा ल्याइपु¥याउँदा कान्छाको अवस्था अचेत थियो । उसलाई अलिक राम्रो उपचार हुन्छ कि भनेर बिर्तामोड कन्काई हस्पिटलमा पु¥याएका थियौं । पु¥याएको पन्ध्र मिनेटमा कान्छाले धर्ती छोडेको खबर डाक्टरले बताए । संसार अध्याँरो भएको महशुस भयो । यता आमा–बुबा, बहिनी, भाउजू पालु निको भएर आउँछ भनेर कुरिरहेको बेला कन्काई हस्पिटलको मूर्दा घरमा कान्छालाई राखेर राती बाह्र बजे साथीभाइसँग हिंड्दै घर फर्कनु प¥यो । घरको ठूलो सहयोगी, व्यवहार बुझ्ने, अझ अरु भन्दा कम भएर हिंड्नु हुँदैन भनेर घर–परिवारमा अर्ति दिने, सकारात्मक बिचार राख्ने, घर–व्यवहार चलाउन ठूलो मद्दत दिने त्यही भाइ यो धर्तीमा नहुँदा परिवारका सबै सदस्यको मन दुःखेकै छ ।
त्यसमा पनि काँस फुलेका बेला सानु छँदा पालुले चाडवाडमा ‘मिठो खान र नयाँ लुगा लगाउन पाइन्छ, घरै पिच्छे मीठो खान पाइन्छ’ भनेर रमाएको क्षण, अझ बाल्यकालमा भनेको उसको भनाईले सताइ नै रहन्छ । जहाँ काँस फुलेको देख्छु, त्यो पुरानो क्षणले पछ्याई नै रहन्छ । भगवान्ले पनि मान्छेको इच्छा पूर्ति गर्न नसकेको जस्तो लाग्छ ।
ऊ भन्थ्यो, ‘एउटा गतिलो घर बनाएर स्वदेशमा नै गरी खाने इच्छा छ । हाम्रो उमेर र बैंश विदेशमा फ्याँकेर के गर्नु ? बल हुइञ्जेल स्वदेशमै गर्नुपर्छ भन्दै हामीसँग गफिन्थ्यो तर नेपालको राजनीतिक अस्थिरता र दैनिक बन्द–हड्तालले केही गर्न सकिदैन भन्ने उसमा थियो । ती सबै कुरा भएर पनि स्वदेश भनेको स्वदेश नै हो । आफ्नो देशमा गरेको जस्तो अरुकोमा कहाँ हुन्छ र ? भन्ने शक्ति उसमा पलाइसकेको थियो । यति हुँदासम्म ऊ बितिसकेको थियो ।
अहिलेको वर्ष पनि बिरिङमा काँस फुल्यो । त्योसँगै बाल्यकालका उसका वाक्यहरु काँसका फूलहरुसँगै मेरो मनमा पनि फुलेर सेताम्यै भए ।
हरेक कात्र्तिक एक्काइस गते वर्ष बितिरहेको हुन्छ ऊ धर्तीमा मिसिएको । अहिलेको वर्ष पनि बिरिङमा काँस फुल्यो । त्योसँगै बाल्यकालका उसका वाक्यहरु काँसका फूलहरुसँगै मेरो मनमा पनि फुलेर सेताम्यै भए । तर यसबेला मैले उसका लागि जिन्सको पेन्ट किन्न सय रुपैयाँ दिन सक्दिन, मेरा आँखाका आँशुदेखि बाहेक । हरेक वर्ष यस बगरमा काँस फुल्नेछ, त्योसँगै मेरो भाइ पालुपनि यसै काँससँगै दशैंको उत्सवमा मनभरि सम्झना भएर फुल्नेछ ।
