शिक्षक जीवन « Yalambar Times
३० आश्विन २०८१, बुधबार

शिक्षक जीवन


यलम्वर टाइम्स
५ कार्तिक २०७६, मंगलवार ०६:२०

[भोलानाथ पौडेल]

जीवनको सर्वस्व भरी दिने असल र परिपक्व संस्कार दिँने सशक्त ज्ञानपुञ्जका धनी वर्णन नै गर्न नसकिने भगवान हुनुहुन्छ आमा बुबा । वहाँहरु नै पहिलो शिक्षक हुनुहुन्छ । म त केवल जन्मपछि बाटो खोज्ने पथिक हुँ । खोजी रहन्छु । अघि बढ्दै पढ्न र पढाउन बस् । यो शक्ति हुँदा हुँदै पनि मानव जन्मपछि संसारमा शिक्षाको उज्यालो किरण छर्दै औपचारिक या अनौपचारिक ज्ञान भरिदिने ज्ञानपुञ्जको शक्ति भनेकै शिक्षक हुन् । हरेक ज्ञानलाई व्यवहारिक प्रयोगमा उतार्न प्रयत्नशील, सबैमा समान व्यवहार, बिना भेदभावको शिक्षण र सामाजिक दायित्वको वोध र सद्भाव उत्पन्न गराउन सक्ने प्रगतिशील ज्ञान छर्न सक्षम शक्ति शिक्षकमा हुनै पर्दो रहेछ । तबमात्र शिक्षक गुरू र गुरू शिक्षक भनिएको छ हो । गुरूव्र्रम्हा गुरूर्विष्णु गुरूर्देव महेश्वर । त्यसैले शिक्षक बिनाको शिक्षा मानव जीवनमा निरर्थक बन्छ । पौराणिक ग्रन्थले एकलव्य जस्ता बीर साहसीको जीवन चरिचार्थ गरेको छ ।

जस्तो सुकै शिक्षाको लागि शिक्षकको जीवन र कर्म महान प्रेरक र महान प्रेरणादायक छ । शिक्षा, शिक्षक र राजनीति एक अर्काका परिप्रेरक हुन् । राजनीतिलाई जस्तो अर्थमा बुझे पनि शिक्षा र शिक्षक उसका मूल अंग हुन् । शिक्षक बिनाको शिक्षा कसरी बुझ्ने बुझाउने, खोज्ने खोजाउने, व्यवस्थापन गर्ने गराउने भन्ने अन्योल हुन्छ । त्यसैले शिक्षक जीवन उत्तम र महान जीवन हो । राजनीति कुटनीतिको चेतना भरीदिने नीतिका बाटा र पाटा छरीदिने पनि शिक्षक । यस्तो युक्ति छ शिक्षकले भनेको कर्म गर गरेको कर्म नगर । शिक्षक समाजभित्रको चेतनाको संवाहक प्रगतिशील प्रतिनिधि हो । जसले जहाँ पनि ज्ञान छर्न ज्ञान लिन दिन र सहकार्य गर्न सक्तछन् । यस्तो उत्तम शिक्षक जीवन मैले पनि २०३८ पौष २६ गते देखि सम्हाल्न पाएँ । यस्तो समाजमा प्रवेश गरेँ छु कि नवआगन्तुक देख्ने साथ महिला र बालबालिकाहरू घरभित्र लुक्थे ।

ताप्लेजुङ सिकैचाको बखिम सेखेवा रुखुयामाराङ र फुङ्लादेनको बिचमा पर्ने हाङ्गोडे डाँडामा दानबीर अमृतबहादुर राईले दिएको जमिनमा निर्माण गरेको २ तले ४ कोठे फुसको छानो एल आकार भएको सुहाउँदो भवन ७५ जना बालबालिकालाई श्री लक्ष्मी प्रावि वरक्पाको एक दरबन्दी त्यहाँ सारी शाखा विद्यालयको रुपमा अध्यापन गराउन पाएँ । खुसीको सीमा वर्णननै गर्न नसकिने थियो । जब शिक्षण सुरु गरियो भाषा नमिलेर असजिलो भयो । नेपाली बुझ्दैनन् । लिम्बू राई समाजको भाषा सिकेर सिकाइ गर्नु पर्दा अर्कै मज्जा र रमाइलो अनुभुतिका साथ यसरी सिकाइयो । (मामुए ‘क’ मेत्ते ‘ख’ मेत्ते ‘क’ साप्ते ‘ख’ साप्ते) यसरी मिश्रित भाषामा अध्यापन गराउँदा उनीहरुले पनि खुसीले सिके । आफूले पनि भाषाको ज्ञान लिन सकेँ ।

यता ओहोर दोहोर गर्ने बाटो भने घरबाट १० घण्टा सदरमुकामबाट ९ घण्टाको पैदल यात्रा लेकाली पातल जङ्गलै जङ्गल । जङ्गली जनावको भय बाटो वनस्पतिले झ्याम्मै ढाकेर अँध्यारो ओसिलो कतै गहिरी खोल्सी अनकन्टार अध्याँरो… । खोँच उकाली ओराली बाटो डरले जीउ पातमा राख्दै ओहोर दोहोर गरिरहँदा बानी परिएछ । साथी बनाउँदै चिनारी गर्दैसँगै हिंड्दै जाँदा डर भाग्दै गयो । यसरी हिंड्दा डाँडामा कुर्रा हाल्दै हिँडेको क्षण बहुत रमाइलो थियो । यसरी डिंड्दै गर्दा घरको यादले कटक्कै मन दुख्थ्यो । किनकि नाङ्खोल्याङको सिरान पोखरी भन्ने ठाउँ मकै कोदो अलि बढी धान कम फल्ने जति परिश्रम गरे पनि श्रम अमुसार अन्न नफल्दा खान लाउन धौ–धौ थियो ।

मावलीको घरजग्गामा कुत कबोलेर खेतीपाती गर्दै रहनु भएका बुबाआमाको यादले सताउँथ्यो । जब मैले शिक्षक नियुक्तिको प्रमाण–पत्र बाबाआमालाई देखाएँ । अति खुसी हुनुहुँदै भन्नु भयो – ‘अब खेत जोड्ने अनि बारी र घर । अब केहि गर्न सजिलो हुने भयो र अरुबाट हेपिनु पर्ने दिन पनि गए ।’ यसरी खुसी हुँदै आमाबुबा हरेक आइतबार बिहान ४ बजे नै उठेर खाना पकाइ खुवाइ चामल बोकाएर विद्यालय पठाउनु हुन्थ्यो । मेरो साथी आदरणीय दाजु पारस निरौला तेम्वेवा भन्ने ठाउँमा शिक्षक नै हुनुहुन्थ्यो ।

हाल अर्जुनधारा–९ चारघरे चोक अदुवा खोला छेउमा स–परिवार बस्तै आउनुभएको छ । त्यसताक तलब भत्ता मासिक रु. ३ सय ३० रुपैयाँ राज्यको ढुकुटीबाट प्राप्त हुन्थ्यो । हरेक तीन महिनामा तलब लिएर घरमा रु. ९ सय रुपैयाँ आमाबुबालाई दिन्थेँ र म मासिक रु.३० रुपैयाँले खर्च टार्ने गर्थेँ । दिन बित्तै जाँदा २०३९ सालमा पहिले घरबारी जोडियो र पछिमात्र खेत जोड्न सफल भइयो तर दुःख लाग्छ खेत जोडेको एक महिना हुँदा नहुँदा बाबा बित्नु भयो ।

शिक्षक भएको कर्म थलो दिन रमाइलोसँग बित्तै गयो । विद्यालय क्षेत्रमा सर आयो गयो भन्थे । म पनि प्रतिदिन बिहान बेलुका २, ४ घरमा गएर गफ गर्ने चिया खाजा भातै पनि खाने सबैसँग बोल्ने हाँस्ने गीत गाउँने नाच्ने अनि सबैलाई बोलाउने हँसाउने गीत गाउँन लगाउने नाच्न लगाउँने कार्यमा बालबालिका युवायुवती लगायत अविभावक समेत सामेल गराइ हिनता बोधलाई हौस्याउन यो कार्य गरिरहेँ । अब सबैमा बानी पर्न थालेछ क्यारे महिला र बालबालिकाहरु लजाएर डराएर सर्माएर लुक्न छोडे । खुल्ला दिलले बोल्न बोलाउन थाले । समाजमा सकारात्मक परिवर्तन हुन थाल्यो । म खुसी भएँ । सबैले मान सम्मान आदर सत्कार गरे । मलाई लाग्यो व्यक्ति विशेष त सुधार हुँदै आयो । वातावरण भने कसरी सुधार ल्याउने ? शौचालय छैन शौचालयको ज्ञान छैन तै पनि प्रयास गर्दै नुहाइधुवाइ सफा सुग्घरमा पनि दिनानुदिन विस्तारै सकारात्मक परिवर्तन गर्न गराउन सकेको महसुस हुन थाल्यो । सबै जनमानसमा सकारात्मक अनुभुति भएको पाएँ ।

यसरी समाज रुपान्तरण गर्नको लागि धेरै मिहिनेत गर्दै गएँ गर्दै गएँ । मिहिनेत अनुसारको फल पनि प्राप्त हुँदै गयो । त्यस गाउँमा ५ वटा टोल थिए । पाँचै टोलमा नयाँ चेतना फैलिएर सामाजिक शारीरिक सांस्कृतिक र राजनीतिक जस्ता क्षेत्रमा आएको परिवर्तनले सबैमा निक्कै खुसी तुल्याएको थियो । माध्यम थियो बालबालिका । उनीहरुको मन मस्तिष्कभित्र मेरो लगनशीलताले ठाउँ लिएछ र त होला अभिभावक समेत प्रभावित भइ हरेक छलफल र छलफलका निचोडमा मलाई तान्थे म पनि भाग लिन्थेँ । यसरी बालबालिकामा सकारात्मक छाप भर्न सकेकोले अभिभावक युवायुवती बालबालिका सबै खुशी भएर गाउँघरमा पक्षपात रहित सकारात्मक उद्देश्य लिएर छरेका हरेक कार्य सिद्ध र सफल भइरहे । कार्य क्षेत्र वल्लो पल्लो गाउँघरमा पनि साथीभाइहरुको प्रिय थिएँ । कार्यक्षेत्र र वरपर सबै प्रिय बनेका थिए । मलाई अझै पनि त्यो ठाउँ प्यारे छ । मलाई लाग्छ त्यहाँ अझै पनि मलाई सम्झिरहेका छन् । किनकि त्यहाँको संस्थापक शिक्षक भएर परिवर्तनकारी शिक्षाको प्रादुर्भाव गरेको थिएँ । जो ननासिने सबैका अन्तरहृदयमा कोपिलिँदै फुल्दै फक्रिदैँ रहिरहेका छन् र रहिरहने छन् ।

त्यहाँ रहँदै बस्दै अनुभव साट्दै सांस्कृतिक भाषिक शारीरिक शिक्षामा म पनि अल्मलिएँ सहकार्य पनि गरेँ सहयोग पनि पाएँ । यहिँ रहँदै २०४० सालमा स्थायी हुन सकेँ । २०४२ सालमा बाघसँग जम्काभेटपछि खुकुरीले काटेर मारेको क्षण सम्झिँदा अहिले पनि आङ जिरिङ्ग जिरिङ्ग हुन्छ । शिक्षक विद्यार्थीको शैक्षिक भ्रमण अविभावक सहित वनभोज दीपावली तिहारमा आफ्नै गीत आफ्नै बाजा आफ्नै संगीत आफ्नै नाच आफ्नै स्वर लहरीले सजाएको देउसी नाच्ने ति कलाकार सम्झिँदा एकोहोरो हुन्छु । यसरी कलकलाउँदो १९ बर्षे जीवन शिक्षकको रुपमा प्रवेश गरेर त्यो ठाउँमा १४ वर्ष बिताइ २०५२ मा घर पायक नाङ्खोल्याङमा सरुवा आइ यस्तै कर्म गर्दै २०६४ सालमा झापाको श्री निम्न माध्यमिक विद्यालयमा कञ्चनबारीमा आइपुग्दा समयले रफ्तार लिएर हो या मानव चेतनाको परिवर्तनले हो स्थानीय कलाकृति आफ्नोपन, मौलिकता, आदर सम्मान, भेषभुषा लवाइखवाइ घटेको छ ।

टीभीमा चलचित्रका दृश्यमा विदेशी नक्कलमा जङफुडको प्रयोगमा सभ्यता अघि बढेको पाउँदा अलि निरास छु । यस्ता कार्यमा परिवर्तन ल्याउन आवश्यक त छ । तर, एक्लैले हुँदैन रहेछ । किनकि मानव मष्तिष्कमा खुल्ला र स्वतन्त्रताको भावमा खुशीतन्त्रले राज गरिरहेको पाएँ । ज्ञान र सभ्यता छर्ने शिक्षकलाई सबैबाट हातेमालो भए सहयोग पुर्याए परिवर्तन गर्न असम्भव त छैन । शिक्षकको हातमा कलिला नानीहरुको भविष्य निर्माण गर्ने, सामाजिक रुपान्तरण गर्ने मूल अभिभारा छ । त्यसैले शिक्षक शिक्षाको उज्यालो ज्योति सबैको मन मष्तिष्कमा छर्ने सक्षम दीप हो । दीपको बाती र वर्तन हो । बलेको दीपको प्रकाश र तेज हो । त्यसैले शिक्षक आँफू जलेर अध्याँरोमा उज्यालो छर्दै अघि बढिरहन्छ । अघि बढिरहन्छ हर समय अन्त्यसम्म बस ।