बालबालिकाहरुलाई समयमै समय दिऔं « Yalambar Times
८ मंसिर २०८१, शनिबार

बालबालिकाहरुलाई समयमै समय दिऔं


यलम्वर टाइम्स
२९ जेष्ठ २०७७, बिहीबार ०३:१३

जानुका ढुङ्गाना

[जानुका ढुङ्गाना]

बालबालिकाहरुमा धेरै कुराहरु सिक्ने, बुझ्ने र जान्ने जिज्ञासा हुन्छ, त्यसैले उनीहरुले आफ्ना अभिभावकहरुसँग प्रश्नहरु गरिरहेको हामी पाउछौं । जस्तो कि यो के हो ? यो किन यस्तो भएको इत्यादि । हामीले उनीहरुको प्रश्नको सहि उत्तर दिनुपर्दछ यदि उत्तर दिन सकिएन वा समय मिलेन भने एकछिन पख है भनेर समय निकालेर सहि उत्तर दिने गर्नुपर्छ । किनभने बाल मस्तिष्कमा हामीले जस्तो कुरा भरिदियो उनीहरुको बुझाइ र त्यही अनुसारको सिकाइको विकास भएको हुन्छ, त्यसैले कहिल्यै गलत उत्तर दिनु हुँदैन वा ठाडै थाहा छैन भनेर झर्किनु पनि हुँदैन ।

यस कोरोना भाइरस (कोभीड–१९)को महामारीको समयमा बालबालिकाहरुको कलिलो मस्तिष्कमा धेरै किसिमको प्रश्नहरु उब्जिरहेको हुन्छ । यसबारेमा बुझ्ने कौतुहलता हुन सक्छन् । त्यसकारण अभिभावकहरुले उनीहरुलाई यसबारेमा उचित तरिकाले जानकारी दिनुपर्छ । उनीहरुमा डर त्रास तथा भ्रम पैदा हुने किसिमको सिकाइ पनि हुनु हुँदैन सकारात्मक तवरले बुझ्ने भाषा, शैलीमा उनीहरुको स्तर अनुसार सहि ढंगमा जानकारी दिएमा सजिलै बुझी स्वयं पनि यसको बारेमा सजग हुन सक्छन् ।

देशमा लकडाउनका कारण सबै विद्यालयहरु बन्द छन् जसका कारण बालबालिकाहरुको दैनिकीमा प्रत्यक्ष असर परेको छ । त्यसैले यो बेलामा उनीहरु कुन समयमा के गर्ने ? दिनहरु कसरी बिताउने ? भनेर पनि अन्योलमा परिरहेका छन् । यस्तो परिस्थितिमा हामी अभिभावकहरुले पनि आफ्नो दैनिक कामकाजबाट केही समय निकाली उनीहरुमा विशेष ध्यान पुर्याउनु पर्दछ ।

सञ्चारमाध्यम मार्फत प्रसारण हुने कोरोना संक्रमणबाट विश्वमा भइरहेको मृत्युको खबर हाम्रा बालबालबालिकाले सुन्ने र हेर्ने गरेकका छन् । यसरी सोसल मिडियामा प्रसारण हुने गरेका यी विभिन्न समाचारहरुले पनि भित्र भित्र भयभित भएका हुन सक्छन यस्ता खबरहरुले उनीहरुमा डर, त्रास पैदा गर्ने पनि हुन सक्छ तसर्थ हामीले उनीलाई यसबाट जोगिन हालमा आफुले अपनाएका सुरक्षा विधिबारेमा जानकारी दिने, धेरै समय उनीहरुसँगै बिताउने, सुरक्षाको आभास गराउने, उचित सुरक्षा–सावधानी अपनाएमा केही हुँदैन डर मान्नु पर्दैन, हामी तिम्रो साथैमा छौ भन्ने जस्ता हौसला मिल्ने शब्द प्रयोग गरि प्रेरणा दिनुपर्छ । साथै व्यक्तिगत सरसफाइमा समेत ध्यान दिन अभिप्रेरित गर्नु पर्दछ ।


हुन त ईन्टरनेटलाई हाल शिक्षा दिने एक वैकल्पिक माध्यमको रुपमा बिस्तार गर्न खोजिरहेको छ । यो अवस्थामा पढ्ने वा कुनै गेम खेल्ने बहानामा बालबालिकाहरुले नै यसको अत्यधिक प्रयोग गरिरहेको पाउँछौं । बालबालिकाहरुले सहि ढंगले यसको प्रयोग गरिरहेका छन् वा छैनन् भनी बेला बेला उनीहरुसँगै बसी जाँच गर्नुपर्छ ।

यो महामारीको परिस्थितिमा हाम्रा बालबालिकाहरु मनोरञ्जनको लागि ईन्टरनेटको बढ्दो प्रयोग गरेको हामी पाउँछौ । हुन त ईन्टरनेटलाई हाल शिक्षा दिने एक वैकल्पिक माध्यमको रुपमा बिस्तार गर्न खोजिरहेको छ । यो अवस्थामा पढ्ने वा कुनै गेम खेल्ने बहानामा बालबालिकाहरुले नै यसको अत्यधिक प्रयोग गरिरहेको पाउँछौं । बालबालिकाहरुले सहि ढंगले यसको प्रयोग गरिरहेका छन् वा छैनन् भनी बेला बेला उनीहरुसँगै बसी जाँच गर्नुपर्छ । हाल ईन्टरनेट वा सोसियल मिडियामार्फत कतिपय बालबालिका, युवा तथा महिलाहरु पनि विभिन्न किसिमका यौनजन्य हिंसा अनि दुव्र्यवहारको सिकार भइरहेको घटना अनगिन्ती छन् ।

तसर्थ यस्तो कुरालाई हाम्रा बालबालिकाहरुले कसरी नियालिइ रहेका छन्, यसको असर हाम्रा बालबालिकाहरुमा के कस्तो परिरहेको छ, कतै यसैको कारण उनीहरुक गलत संगतमा फसेका त छैनन, दुव्र्यवहारका कारण बाल मनोविज्ञानमा नकारात्मक असर पर्न गई बिचलित हुन पुगेका त छैनन् ? आदि कुराको बारेमा ध्यान पुर्याउनु हामी अभिभावकको मुख्य कर्तव्य हुन आउँछ ।

बालिकाहरुमात्र यौनजन्य हिंसामा पर्छन् भन्ने बुझाई अभिभावकहरुमा हुनसक्छ तर बालिकाहरु जस्तै बालकहरु पनि विभिन्न यौनजन्य हिंसाको सिकार हुने गर्दछन् तसर्थ अभिभावकहरुले बालिकाहरुलाई जस्तै बालकहरुलाई पनि विशेष रेखदेख गर्नुपर्दछ । महामारीको बेलामा उनीहरु के कस्ता अवस्थामाबाट गुजरिरहेका छन् यस्ता कुराहरुमा ध्यान पुर्याउनु आवश्यक देखिछ ।

आफ्नो दैनिक कार्य तालिका बमोजिम व्यस्त हुन नपाउँदा, अभिभावकको पर्याप्त समय नपाउँदा, उनीहरुको उचित हेरविचार नहुँदा कतिपय अवस्थामा बालबालिकाहरुको मस्तिष्कमा नकारात्मक असर पर्न गई मनोबल कमजोर भई मनोसामाजिक असर पर्ने गर्छ । हाम्रा बालबालिकाहरुमा भनेको नमान्ने, एकाग्रता नहुने, एक्लै बस्न रुचाउने, डराउने, अनावश्यक बर्बराउने, रिसाउने जस्ता लक्ष्यण देखा पर्नसक्छ । यदि यस्तो भएमा हामी अभिभावकहरुले उनीहरुको समस्याको पहिचान गरि उनीहरुको मनोबल उच्च राख्न, उनीहरुलाई मनोबिमर्शकर्ताको सल्लाह बमोजिम मनोबिमर्श सेवा (काउन्सिलिङ) लिन प्रबन्ध मिलाउनु पर्दछ । साथै उनीहरु आफु एक्लो नभई हामी अभिभावक उनीहरुको साथमै छौ भन्ने कुरा बिश्वास दिलाउनु पर्दछ । यसरी बालबालिकाहरु माथि विशेष ध्यान दिने, निगरानी राख्ने गरेमा उनीहरुमा सकारात्मक परिवर्तन आउँछ ।

महामारीको यस जटिल परिस्थितिमा समय निकाली आफ्ना बालबालिकासँग खेल खेल्ने, उनीहरुलाई हौसला, दिने पुराना किम्बदन्तीहरु सुनाउने, सकेसम्म उनीहरुलाई खुशी राख्ने कोसिस गर्नुपर्दछ । पढाई लेखाइको अलावा बालबालिकाहरुमा धेरै कलाहरु लुकेको हुन्छ जस्तो, चित्रकला, नाच्ने र गाउने, कथा कविता लेख्ने, कथा भन्ने आदि प्रतिभाका धनी हुन्छन् । यसको पहिचान गरि उनीहरुलाई यस्तो क्रियाकलापहरुमा उत्प्रेरित गरि व्यस्त रहन सहयोग गर्नुपर्दछ । जसका कारण बालबालिकाहरुमा कलात्मक शैलीको विकास हुन्छ र प्रतिकुल अवस्था धर्य गर्न सक्ने क्षमताको बिकास हुन्छ बालबालिकाहरुले राम्रो काम गर्ने कोसिस गर्दा हौसला स्वरुप धन्यवाद, राम्रो गर्यौ जस्ता शब्द भनि दिने गर्दा थप राम्रो काम गर्न उत्साह मिल्छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरको जोखिमको अवस्थालाई मध्यनजर गर्दै आफ्ना बालबालिकाहरुलाई पर्याप्त समय दिऔं उचित संरक्षण प्रदान गरौ, उनीहरुलाइ आफ्नो माया, स्नेह र हौसलाले आइपर्ने जोखिमबाट जोगाउनु हरेक अभिभावकहरुको प्रमुख दायित्व हो ।