स्वास्थ्यका सबैथोकको सेवा प्रदान गर्न जुट्दैछौंः नगर प्रमुख राना « Yalambar Times
३१ असार २०८२, मंगलवार

स्वास्थ्यका सबैथोकको सेवा प्रदान गर्न जुट्दैछौंः नगर प्रमुख राना


यलम्वर टाइम्स
११ मंसिर २०७७, बिहीबार ११:११

अर्जुनधारा । अर्जुनधारा नगरपालिका स्थित शनिश्चरे अस्पतालमा सञ्चालित आँखा तथा कान स्वास्थ्य सेवाको बुधबार एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।

आँखा तथा कानको उपचार सेवा ग्रामिण क्षेत्रसम्म पुर्याउने उद्देश्यले मेची दृष्टि अस्पतालसँगको सहकार्यमा सञ्चालित उक्त सेवाको नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले नगरका नागरिकहरु आँखा तथा कान सम्बन्धि उपाचारकै लागि अब बाहिर जान नपर्ने बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रानाले सबै थोकको सेवा अब अर्जुनधाराबाटै प्रदान गर्ने प्रयासमा लागि परेको बताए ।

वडा नं. ९ का अध्यक्ष पुष्पकुमार प्रसाईको सभापतित्वमा भएको कार्यक्रममा मेची दृष्टि आँखा अस्पतालका संस्थापक अध्यक्ष राम उप्रेती, अस्पतालका डाइरेक्टर श्रेयस अर्याल, नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेल, नेकपा अर्जुनधारा अध्यक्ष प्रेमसागर सापकोटा लगायतले अस्पतालले दिनुपर्ने सेवामा कमी नहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा प्रत्येक सोमबार र विहीबार आँखा र कानको स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको थियो ।

शनिश्चरे अस्पतालको प्राङ्गणमा भएको कार्यक्रममा आँखा र कानको उपचार सेवाका लागि मेची दृष्टि अस्पतालबाट २ विशेषज्ञ डाक्टरसहित ८ जनाले सेवा प्रदान गर्ने शनिश्चरे अस्पतालका सिनीयर अहेव डम्मरबल्लभ मिश्रले जानकारी दिए । उनले आजमात्र ३५ जनाले आँखा तथा कानको सेवा लिएको जानकारी गराए ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत, समाजसेवी रामप्रसाद भट्टराई, वाणिज्य संघका उपाध्यक्ष गोविन्द खतिवडा लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन ल्याब टेक्निसियन केशव अधिकारीले गरेका थिए भने उपस्थित सबैलाई स्वागत अस्पतालका सिनीयर अहेव मिश्रले गरेका थिए ।