माझिहडमले छाडेपछिको दशैं « Yalambar Times
२५ आश्विन २०८१, शुक्रबार

माझिहडमले छाडेपछिको दशैं


यलम्वर टाइम्स
२७ आश्विन २०७८, बुधबार १२:४७

[सन्तोष नेम्वाङ]

सन्दर्भ दशैंकै हो । बर्खायामको हिलो मैलो भएर मानो खाएर मुरी अन्न उब्जाउने चटारोलाई मैजारो मनाउँदै गर्दा आँगनभरि सनपाट सुकाउन लस्कर पारेर राखेको सेतो सनपाट देख्दा मनमा नयाँ उमंग र आशा फैलिएर आउथ्यो । हामी त्यही सनपाटको बीच बीचबाट दौडिदै आसपास र लुकीडुम खेल्दा बालापनको मनमा अर्कै आनन्द आउथ्यो । तर त्यो आसपास र लुकीडुम क्षणिक मात्र हुन्थ्यो । त्यो सनपाट सुकेपश्चात बुबा र हुर्किएका दाजुले त्यसलाई बेग्लै प्रकारले बेरेर पसलमा पुर्याउनु हुन्थ्यो । त्यसपछि त हाम्रो लागि दशैंको नाना घरमा भित्रिन्थयो । त्यो नाना देखेर र त्यसको सुगन्ध सुँघेर पाएको आनन्दले पक्कै दशैं नै आएझैं भान हुन्थ्यो । दशैं आउन त अझै एक डेढ महिना बाँकी नै रहन्थ्यो तर हाम्रो घरदेखि केही मास्तिर रहेको सन्थाल जातिको बस्तीमा साँझपख दैनिक जसो ढ्वाङढ्वाङको आवाज साथ हल्ला गरेको आवाज आउँथ्यो । त्यो आवाजले वास्तवमा नै दशैंको आगमनको आभाष हुन्थ्यो । हामी केटाकेटीहरु मिलेर साँझ तिर हेर्न जान्थ्यौं ।

रातो निलो रंगका सर्ट लगाएका हुन्थ्ये । कम्मरमा फूर्कावाला लुङ्गी, खुट्टामा छिङछिङ बज्ने घुङ्गुरु, कपालमा मयुरको प्वाँख । यसो हेर्दा सप्तरङ्गी रंगमा रंगिएकोझै लाग्थ्यो । अनि कसैले ठूला साना ढोल र मादलझे बाजा भिरेर बजाई रहेका हुन्थ्ये त कोहीइ तालमा ताल मिलाउँदै नाच्थे । घरिघरि सिटी बजाउँथे । घरिघरि आफ्ना भाषामा गीत गाउँदै हल्ला गर्थे । त्यो सबै देखेर मन नै रोमाञ्चित भएर आउथ्यो ।

त्यो सबै सन्थाल जातको पाराम्पारिक नृत्य थियो । त्यो नृत्य कहिलेबाट प्रचलनमा आएको थियो त्यो हामीलाई जानकारी थिएन । तर त्यो नृत्य हाम्रो लागि दशैंको आगमनको प्रमुख जानकारीको स्रोत हुन्थ्यो ।

जब फूलपातको दिनको सूर्योदय हुन्थ्यो, त्यो दिनदेखि गाउँका सबै घरआँगनमा उनीहरु नाच्न आउँथे । सिटी फुक्दै रंगीचंगी कपडा लगाएर मयुरको प्वाँख हल्लाउँदै नाचेको देख्दा साँच्चै दशैंको रोनक आएझैं लाग्थ्यो । यसरी नाच्ने क्रममा कसैकसैलाई दुर्गा माताले छोपेको भन्थे । तिनीहरुको हाउभाउ अर्कै हुन्थ्यो । होश हराएकोझैं गरि यताउता दौडन्थे । त्यसबेला उसलाई मुरइ हातमा दिएको शरीरमा छर्के पश्चात उ केही मत्थर हुन्थ्यो ।

एवम् रीतले नाच्दै उनीहरु बैसावडीमा पनि पुग्थे । दशमीबाट टिका सुरु भए पश्चात मेला पनि सुरु हुन्थ्यो । गरामनी, चारआली, बैसावाडी मेला लाग्थ्यो । ति सन्थालहरु पनि त्यही दुर्गा मन्दिर अगाडि गएर नाच्थे । सतार जातको यही परम्पराले नेपालीहरुको ठूलो चाड दशैंको रौनकमा बेग्लै स्वाद थपिन्थ्यो । मानौं दशैं र सन्थाल नाच एकअर्कामा पर्यावाची शब्द हुन् ।

हामी पनि सनपाट बेचेर ल्याएको नयाँ कपडा लगाएर टिका थाप्ने हतारमा टिकाको दिन बिहान हतार हतार नयाँ कपडा लगाउन थाल्थ्यौं । तर त्यति बेला नै बुबाआमाले ‘जाऔं नुहाएर आओ, अनिमात्र नयाँ लुगा लगाऔं’ भनेर कराए पश्चात हामी दाजुभाइ दिदीबहिनी दौडदै बाह्रदशी खोलामा पुग्थ्यौं । खोलामा दुइचार पटक डुबुल्की मारेर नयाँ लुगा लगाउथ्यौं । अनि दौडेर घरमा आएर छिमेकी साथीहरुलाई ‘तेरो लुगा राम्रो कि मेरो लुगा राम्रो’ भनेर फुटानी लगाउन थाल्थ्यो । हामीले फुटानी देखाउँदै गर्दा उनीहरु पनि किन पो पछि पथ्र्ये र उनीहरु पनि त्यसरी नै फूर्ती लगाउँथे ।

घरमा बुबाआमाले रातो रंगमा दही र चामल मुछेर रातो अक्षताको टिका लगाउन साइत कुरेर हामी चारै जना लस्करै बस्दा छेउमा बलेको सिन्के धुपको बसना अनि छेवैमा रहेको अक्षताको बासनाले मन प्रफुल्ल हुन्थ्यो । बुबा र आमाको हातले निधारभरि अक्षतासहितको आशिर्वादपछिको प्राप्त हुने दक्षिणाको व्यग्र प्रतिक्षाको पनि बेग्लै महत्व हुन्थ्यो । हामी चारै जनाको हातमा उमेर अनुसार ५० पैसा र २५ पैसाको ढक्की प्राप्त गर्दा खुशीले मन गदगद हुन्थ्यो । त्यो पैसा साथीहरुलाई दर्शन गराई पसलमा खर्च गर्नको हतारो त्यतिकै हुन्थ्यो । त्यतिले मात्र दशैं कहाँ सकिन्थ्यो र ? कोशेली बोकेर आफन्तका घरमा गएर फेरि प्राप्त हुने दक्षिणाको बेग्लै हिसाब हुने ।

यसरी दशैंको विषयमा लेख्दै गर्दा चङ्गा र लिङ्गे पिङको सन्दर्भ त उठाउनै पर्छ । टिका लगाएर पेटभरी टन्न खाएर एक पटक जमिन छाड्नै पर्ने उखानलाई पनि शीरोधार्य गरेर पिङ त मच्चाउनै पर्यो । यसरी बेसरी बल लगाएर पिङ मच्याउँदा निधारमा टाँसिएको टिका सबै झरेर जान्थ्यो । हुन त दक्षिणा प्राप्त गरे पश्चात त्यो अक्षताको के औचित्य हुन्थ्यो र ! यसरी हामी दाजुभाइ दिदीबहिनी साथै रहेर दशैं मनाउनु हामी नेपालीमात्रको महान चाड होइन, ठूला मान्यजन र आफन्तकोमा वर्षौपछिको भेटघाटको पनि अवसर मान्नुपर्छ । किनकी आफन्तहरु टाढाटाढा छरिएर रहेका हुन्छन् । वर्षभरि आफ्नो कामको व्यस्तताले गर्दा भेट भएका हुँदैनन् । तर यस्तै चाडपर्वको वहानामा वर्षमा एक दिन अवश्य भेटघाट गराइहाल्छ ।

तर अब त समयले धेरै कोल्टे फेरेछ । राजनीतिले पनि नयाँ बाटो रोजेछ । सबैले आफ्ना अधिकारका कुरा गर्न थाले । कोही आफ्ना राजनीति अधिकार खोज्न थाले । कोही आफ्ना जातीय अधिकार खोज्न थाले । कोही मानवअधिकार खोज्न थाले । वर्षौदेखि रातो अक्षताको टिका लगाउँदै आएका अहिले आएर सेतो टिका मात्र लगाउने हाम्रो अधिकार हो भन्दै कुर्लन थाले । यसरी नै जातीयताको धमिलो पानीमा राजनीतिको बिउ छर्न थाले । त्यो बिउ कालान्तरमा कति उम्रिए कति त्यतिकै कुहिएर खेर गए । ति उम्रिएकाहरु पनि कति सप्रिएर आए त कति बिरुवाहरु नावो भएर बिना जरा र बिना मल त्यतिकै खेर गए ।

अनि त्यही जातीयको धमिलो पानीमा धर्म परिवर्तनको साना साना खहरेहरु मिसिन थाले । हेर्दाहेर्दै परिवर्तित धर्मले दिदीभाइ अनि दाजुबहिनीमा तिक्तताको रंग देखिन थाल्यो । हिजोसम्म तिहारमा भोकै बसेर माइती पर्खने चली आज चर्चमा गएर आफ्ना लागि प्रार्थना गर्न थाले । आज पनि मान्यवरसँग लस्करै बसेर टिका लगाउने तरखर गर्दा पोहोर साल खिचेको फोटो हेरेर वर्तमानमा छुटेका दाजुभाइलाई सम्झेर आँखा रसाउँदै मन नलागि नलागि पनि टिका थाप्न बाध्य भइरहेका छौं ।

कसैको व्यक्तिगत स्वार्थको कारणले धर्म परिवर्तन गर्नु भनेको आफ्नो पूर्खालाई भुलेर अपमान गरे जस्तै लाग्छ मलाई । हुन सक्छ कोही बाध्यतामा परेर धर्म परिवर्तन गरे होलान् । यो बारेमा मैले मसी खर्च गरेर लेख्नुको कारण धर्मको विरोध गरेको होइन तर पनि आफू जन्मेको वंश र आफ्नो वंशको खुनलाई लत्याएर अन्य नयाँ धर्म अपनाउनु भनेको आफू र आफ्नो पूर्खा बीच सीमारेखा कोरेको भन्ने मलाई लाग्छ ।

त्यसरी नै जातीय अभियान्ताहरुले हालै सन्थाल बस्तीमा हामी सन्थाल जातिमा जातीयता र आफ्नो पहिचान मेटिदै गएको र यसको उत्थान गर्नुपर्छ भनेर भेला गराएका थिए । यसमा मेरो भनाई के छ भने, त्यही ठाउँ हो जहाँ दशैंको रौनक त्यही ठाउँबाट सुरु हुन्थ्यो । हामी बाल्यकालमा हुँदादेखि नै हामी र हामी, बयस्क र वृद्धहरु त्यही सन्थाल नाच हेरेर दशैंमा खुशी हुन्थ्यौं । उनीहरुमा इमान्दारीताको खानी थियो । उनीहरु गरिब थिए तर मेहनती थिए । भलै कपडा फाटेका लगाउथ्ये तर, सिकार खेलेर भए पनि दुइ छाक मासुसँगै भात खान्थ्ये ।

यिनीहरुसँग इमान्दारीता यति थियो कि कतै सिकार गर्न जाँदा कसैको कुकुर पनि साथमा लगेको रहेछ भने पनि त्यो कुकुरको नाममा एक भाग बाँडिन्थ्यो र कुनै कुकुरले आफै सिकार गरेको थियो भने त्यो कुकुरको नाममा दुई भाग छुट्याइन्थ्यो । यस्तो प्रकारको इमान्दारीता सायदै मैले देखेको थिएँ । तर आजको यो समयसम्म आइपुग्दा सन्थाल जातिको परम्परा परिवर्तित धर्मले खुम्च्याई दियो । उनीहरुका महिलाहरुले लगाउने परम्परागत पहिरन चाँदीका गरगहना पनि परिवर्तित धर्मले उतारिदियो । उनीहरुले पहिँरिदै गरेको फूर्कावाला लुङ्गी आधुनिकताको नामले फेरिदियो । हेर्दाहेर्दै उनीहरुको घरआँगनमा बनाइएका पूर्खादेखि पूजा गरिरहेको देवी थान पनि विस्थापित भयो । त्यसको बदलामा जमिन किनेर ठूला चर्चको निर्माण भयो ।

जहाँ हरेक आइतबार उनीहरु भेला भएर संगती गर्न थाले । यस्तोमा आफ्नो जातीय उत्थानका कुराहरु हुट्टिट्याउँको कथा जस्तो लाग्न थाल्यो । अनि मेरो मनमा एउटा प्रश्न उब्जियो ‘के सन्थाल जात हुनु र सन्थाल भाषा बोल्नु नै उनीहरुको जातीय उत्थान हो र ? कदापी होइन । किनकी उनीहरुको पनि रीतिरिवाज थियो । बेग्लै आफ्नो संस्कृति थियो । आफ्नै गीत थियो र आफ्नै मौलिक नृत्य थियो । जुन गीत र नृत्यले हिजोसम्म सन्थाल जात भनेर चिनिन्थ्यो तर आज कसरी उनीहरुले आफ्नो पहिचान बचाउलान् भन्ने चिन्ता सर्वव्यापी भइरहेको छ ।

अब त मेरो सन्तान पनि धर्म परिवर्तनको झोंकाले उडाएर लगे पनि र सन्थालहरुको ढ्वाङढ्वाङ नसुने पनि वर्षेनी आउने दशैं सदाझैं आत्मीयता पूर्वक हर्षौल्लासका साथ मनाई रहनेछौं । आफ्ना आफन्त, मान्यजनबाट शुभ आशिष थाप्दै र आफूभन्दा सानालाई आशिष दिँदै आउँदै गरेको दशैं मनाऔं । विश्वमा महामारी फैलिरहेको कोभिडबाट सचेत रही भिडभाड नगरी अनि जाँडरक्सी (मदिरा)लाई नियन्त्रणका साथ सेवन गरी रमाइलो चाड रमाइलोसँग मनाऔं । साथै दशैंपछि आउने दीपावली र छट पूजाको अग्रीम शुभकामना व्यक्त गर्दछु ।

             सन्तोष नेम्वाङ