अनाथलाई दिने गोत्र हो ‘काश्य’: खाम्बातिम अध्यक्ष राई « Yalambar Times
२० असार २०८२, शुक्रबार

अनाथलाई दिने गोत्र हो ‘काश्य’: खाम्बातिम अध्यक्ष राई


यलम्वर टाइम्स
९ फाल्गुन २०७८, सोमबार ०८:४२

बिर्तामोड । किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज चाम्लिङले काश्य गोत्र हिन्दू वर्णाश्रममा अनाथहरुलाई दिने गोत्र भएको हुँदा काश्य गोत्रबाट पूजापाठ नगर्न आग्रह गरेका छन् ।

कतिपय किरातीहरुले आफ्नो पहिचान अध्ययन अनुसन्धान नगरी काश्य गोत्र भनेर पूजापाठ, ग्रह शान्ति गर्दै आएको हुँदा अब अनाथलाई दिने गोत्रको नाममा पूजापाठ गर्न नहुने बताए ।

नेपालका आदिवासी जनजातिहरुको आफ्नै पहिचानसहितको पाछा (गोत्र) भएको हुँदा एउटा ब्राम्हणले आफू खुशी काश्य गोत्र राखिदिएर पूजापाठ गरिदिएको हुँदा किरात खाम्बातिमलाई मान्य नहुनेमा जोड दिए ।

पूर्वी किरात क्षेत्रको धरानमा फाल्गुन २८, २९ र ३० गते हुन लागेको ५ औं खाम्बातिमको सम्मेलनमा चाम्लिङ राईहरुको जन्म, विवाह र मृत्यु संस्कारको विषयमा पुस्तक ल्याउने जानकारी दिँदै चाम्लिङ भाषा र किरात सिरीजङ्गा लिपीमार्फत अध्ययन गराउनका लागि छलफलमा जुट्न आव्हान गरे ।

कार्यक्रममा उपाध्यक्ष ज्ञान चाम्लिङले ०५८ सालमा स्थापित खाम्बातिमले १२ वटा जिल्लामा जिल्ला समिति गठन गरेको र बेलायत, हङ्कङ, भारतमा समेत खाम्बातिमको स्थापना भएको जानकारी दिए ।

कार्यक्रममा सल्लाहकार केवलराम राईले आफ्नो उमेर यहाँसम्म आईपुग्दा विभिन्न संघसंस्थामा काम गरियो, सन्तुष्ट भने कही हुन सकिएन । जब खाम्बातिम स्थापना गरी आफ्नो कूल संस्कारको संरचना र स्थायीत्वको लागि काम गर्न जति आनन्द आएको छ त्यो भन्दा अर्को नभएको बताए ।

किरात राई यायोक्खाका सचिव समेत रहेका राईले समग्र राई जातिको उत्थानका लागि यायोक्खामा खट्छौं । त्यसैले राई चाम्लिङ जातिले एक पटक खाम्बातिमको लागि खट्न सके अझ राम्रो हुने सुझाव दिए ।

कार्यक्रममा यलम्वर टाइम्सका सम्पादक दिपीन राईले कूल, धर्म, संस्कार र पहिचान बुझ्न सकिएन भने आफ्नो मौलिक संस्कृति लोप भएर जाने र पराई धर्म संस्कृतिले ओगट्दै जाने भएको हुँदा खाम्बातिम संगठनका लागि सबै चाम्लिङ एक हुनुपर्ने बताए ।

खाम्बातिमका झापा उपाध्यक्ष जतन चाम्लिङ राईको सभापतित्वमा भएको अन्तरक्रियामा खाम्बातिमका गुणराज राई, केन्द्रीय उपाध्यक्ष चन्द्रा चाम्लिङ, अर्जुनधाराका अध्यक्ष क्या. शिवकुमार राई, साहित्यकार रकम चाम्लिङ, सरीता राई, जीवन राई, राजेन्द्रकुमार राई, प्रतापसिंह चाम्लिङ, बसन्त चाम्लिङ, रामचन्द्र राई, लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा खाम्बातिमका बुट्टाबारी, बुद्धशान्ति, बिर्तामोड, शिवसताक्षी, दमक, अर्जुनधारा, मेचीनगर क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो ।

बिर्तामोडमा आयोजित कार्यक्रमको सञ्चालन भने जिल्ला सचिव गौरीमान चाम्लिङ राईले गरेका थिए ।

खाम्बातिम झापाको प्रमुख सल्लाहकारमा दिपीन चाम्लिङ राईलाई चयन गरेको उपाध्यक्ष जतन चाम्लिङले जानकारी दिए ।