संस्मरणः पाथीभरा माताको दर्शन यात्रा « Yalambar Times
२४ मंसिर २०८१, सोमबार

संस्मरणः पाथीभरा माताको दर्शन यात्रा


यलम्वर टाइम्स
२४ जेष्ठ २०७९, मंगलवार ०८:००

[सन्तोष नेम्वाङ]

कामको व्यस्ताले गर्दा हो या साइत नै नआएको हो, ताप्लेजुङ स्थित पाथीभरा माताको दर्शनका लागि श्रीमती ज्यूको पटक–पटकको आग्रहलाई पूरा गर्न सकिरहेको थिइन । उनीले धेरै आग्रह गरिन् । कहिले घुर्की पनि लगाइन् त कहिले रोष प्रकट गरिन् । तर, भनेको र सोचेको जस्तो कहाँ हुँदो रहेछ र ? भनिन्छ नि ‘समयभन्दा पहिला र मागभन्दा धेरै कहिल्यै प्राप्त हुँदैन ।’ कहिले सानातिना समस्या त कहिले ठूलै समस्या आफ्नै अगाडि आएर तेर्सिरहेको हुन्थ्यो ।

कहिले काँही यी सबै समस्यालाई थाती राखेर दर्शनका लागि बाटो लागौं भनेर पनि सोचियो तर कहिले पनि साइत जुरेन । त्यसो त एउटा कथन नै छ, यदि माताले बोलाएमा त्यस्ता बाधाहरु आफ्से आफ हटेर जान्छ । यात्राको साइत जुरीहाल्छ । यसपाली पनि मलाई त्यस्तै भयो । धेरै दिनको अन्योल पश्चात चैतको १४ गते सोमबार बिहान ६ बजेको शुभ साइतमा आफ्नै वाहन (मोटरसाइकल)मा सवार भई बाटो लागियो । पहाडको यात्रा, मौसमको केही टुङ्गो नहुने । कुन बेला पानी पर्ने हो । अचानक जाडो बढेर कष्ट हुन्छ भनेर लक्ष्मीले एक झोला मोटा कपडा हालेकी थिइ । रेनकोट पनि बाइकको छेउमा झुण्ड्याइ हालियो । घरबाट मनमनमा ‘जय माता दी’ भन्दै नारायण चोक–जयपुर हुँदै बुधबारेबाट उकालो लागियो । घरबाट प्रस्थान गर्दा चिसोको त्यति आभाष भएको थिएन । सामान्य नै थियो तर जब सुनमाईबाट केही उकालो लागेर जोरकलशसम्म पुग्दा शरीरमा चिसो बढेको अनुभव हुँदै गयो ।

शरीरको माथिल्लो भागमा ज्याकेटले साथ दिइरहेको थियो तर कम्मरबाट तलको भाग केवल एकसरो पाइन्टमा मात्र रहेकोले खुट्टा लगलग कामिरहेको थियो । यात्राभर घामको प्रकाशले स्पर्श गरेन । जब कुट्टि डाँडा पुगियो चिसोले अझ दबाब दिन थाल्यो । हर्कटे पुगेका मात्र के थियौं, हात पनि कठ्याङ्ग्रीयो । केही पर पुगेपछि कन्यामको चिया बगान प्रारम्भ भयो । तब हुस्सुले हामीलाई स्वागत गर्यो । हुस्सु यति बाक्लो थियो कि २ मिटर परसम्मको मात्र दृश्य देखिन्थ्यो । तर पनि हाम्रो यात्रा रोकिएन । सायद दर्शनका लागि शुभ साइत परेको थियो । मोटरसाइकलको गति केही कम गरेर भए पनि निरन्तर यात्रा अगाडि बढिरह्यो । सडकभर कतै व्यवधान खडा भएन । बाइकको पछाडि बसेकी लक्ष्मीलाई बेला बेलामा केही विषय निकालेर बोलाइरहने प्रयास गरिरहेको थिएँ । त्यसो गर्नुको विशेषकारण के भने एकतमासले गाडीमा बसेर यात्रा गर्दा निन्द्रा लाग्न सक्छ र निन्द्राको कारणले दुर्घटना नहोस् भनेर क्षणक्षणमा बोलाइरहेको हुन्थ्ये ।

एवम् रीतले फिक्कल, तीनघरे, भालु खोप, गोदक हुँदै माई खोला पुगियो । त्यहाँ पानीको बोतल किनेर केही बेर पानी पिउँदै आराम गरेर माई खोलाको पुल तरेर इलाम बजारतर्फ लागियो । घुमाउरो उकालो बाटो । भञ्ज्याङसम्मको बाटोको अवस्था एकदम खराब थियो । दैनिक अन्दाजी हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्ने सडकको अवस्था यति जर्जर । सवारी चालकहरु यस्तो सडकमा भगवान भरोसामा सवारी चलाइरहेका छन् । ३० वर्षसम्म एकछत्र राज गरेका राजनेताहरु केन्द्रमा गएर संसद भवनमा बुर्कुसी मार्दै जुहारी खेलिरहेको यदाकदा समाचारमा देखा पर्छन् तर यता स्थानीय जनता भने भाग्य भरोसामा अनवरत यात्रा गरिरहेका छन् ।

खैर छाडौं यस्ता कुरा । मोटरसाइकलको यात्रामा प्रत्यक्ष रुपमा प्रकृतिसँग रमाउन पाइदो रहेछ । चिसो–चिसो मौसमको वातावरणमा एकनास हामी यात्रा गरिरहेका थियौं । पुवा खोला, नेपालटार छिचोल्दै हरिया घना जंगल निहार्दै आफ्नो गतिमा अघिबढ्दै जाँदा अन्दाजी ११ बजेतिर हामी फिदिम पुग्यौं । त्यहाँ पुग्दा आफू झापामा नै रहेको अनुभव भयो । सूर्यको तेजिलो राप गर्मीको पनि पारा उकालै थियो । सडकभरी धुलो । गाडी आवतजावत गर्दा फिदिम बजार धुलाम्मे हुने रहेछ । बिहान लगाएको ज्याकेट फुकालेर झोलामा थन्क्याउनु पर्यो । त्यही धुलो र गर्मीको बिचमा एउटा होटलमा खाना खाएर आफ्नो गन्तव्य समाइयो ।

त्यहाँबाट ओरालो लागे पश्चात जोरपोखरी छिचोल्दै काबेली खोलासम्मको यात्रामा गर्मीको अनुभव भइरह्यो । हामीले सुनेअनुसार पहाडमा धेरै जाडो हुन्छ होला भन्ने लागेको थियो तर, त्यहाँ पुगे पश्चात थाहा भयो पहाड सबैमा कहाँ जाडो हुँदो रहेछ र ! जे होस् काबेली पुलमा आस्थाको अगरबत्ती बालेर केही बेर शीर झुकाए पश्चात ताप्लेजुङसम्मको लागि यात्रा थालियो । दिनको ४ बजे सुकेटार पुगेर लामो सास फेरियो । त्यही मोटरसाइकल थन्क्याएर स्थानीय गाडी चढेर सानो फेदीसम्म जाने हामीले निधो गर्यो । सोही समयमा झापा शनिश्चरे बजार निवासी किरण श्रेष्ठ, अजय देव र उनका साथीहरुसँग भेट भयो । किरण, अजय र उनका साथीहरुसँगै हामी पनि गाडी चढ्यौं । करिब ५ बजे हामी सानो फेदी पुग्यौं र त्यही रहेको पसलमा किरण भाईहरुले पानी छल्न भनेर प्लास्टिक खरीद गरे । हामीले चाही छेउमा रहेको लौरो मात्र लिएर उकालो लाग्यौं ।

नाक ठोकिने उकालो बाटोलाई सम्याएर ढुंगा छापेर सबैलाई सहज हुने गरी सिंडीहरु निर्माण गरिएको रहेछ । चेप्टा–टेप्टा ढुंगा छापेर रहर लाग्दो सिडीहरुको खुड्कीला बनाएको रहेछ । दर्शनार्थीहरुलाई आवतजावतमा सहज होस् भनेर बनाइएको सिडीले असक्त र बालबालिकाको लागि हिंड्न धेरै सहज भएको रहेछ । मन्दिर समितिले बाटोभरी असक्त भएर हिंड्न नसक्नेका लागि भनेर मानव ट्याक्सीहरु बाटाभरी उभ्याएका रहेछन् । अचानक लेक लागेर हिड्न नसके प्रतिकिलो रु. १०० का दरले मानिसको भार अनुसार पैसा लिएर मन्दिरसम्म पुर्याउने गर्दा रहेछन् । सानो फेदीबाट २ घण्टामा माथिल्लो फेदी पुगियो । चारैतर्फ अध्याँरो छाएको बेला माथिल्लो फेदीमा चाँही जेनेरेटरको सुविधाले गर्दा झलमल्ल थियो । मानिसको चहलपहल धेरै थियो । धेरै पसलमा हामी २ जनाको लागि कोठा खोज्यौं तर कतै पनि कोठा पाइएन । मनमनमा लाग्यो आज चाँही बाक्लो लुगा लगाएर हामी दुई कुनै कुनामा बसेर रात बिताउनु पर्ला जस्तो लागेको थियो । तर, धन्य एउटा दोकानमा सामुहिक कोठामा एउटा खाट प्राप्त भयो र त्यही बास बिसाइयो ।

थाकेको शरीर, चाँडै निदाएर बिहान चाँडै उठ्ने विचारमा निदाउने प्रयास गरें । तर, वल्लो कोठा र पल्लो कोठाबाट आएको हल्लाले निदाउन पाइएन । निक्कैको प्रयास पश्चात अन्दाजी १० बजेतिर झपक्कै निदाइएछ । केही बेरको सुताइपछि निन्द्रा खुल्यो । घडी हेर्दा १२ बजेको रहेछ । चरैतिरको हल्लाले गर्दा निन्द्रामा अवरोध आयो । त्यस पश्चात् हामी पनि ओछ्यान छाड्न बाध्य भयौं । तातो पानी खोजेर नुहाईवरी बाटो लाग्दा बिहानको ३ बजेको थियो । आँखामा निन्द्राको पोका बोकेर भए पनि दर्शनको लोभमा टर्च बालेर उकालो लाग्यौं ।

आफू हिंड्दै गरेको उकालोबाट माथि डाँडामा नजर दौडाएँ, बाटोभरी टर्च लाइटको लस्कर देखिन्थ्यो । उकालोमा स्वास फुलेर आउथ्यो । लामो स्वास तानेर बाहिर फ्याल्यो । हातमा लिएको लौरोको टकटकसँग पाइला कष्टले अर्को सिडीको थाप्लोमा पथ्र्यो । घाँटी र मुख सुकेर आउथ्यो । त्यसको उपचारका लागि चकलेट बोकेर लगेका थियौं । त्यही चकलेट चुस्यो, मुख रसाएर आउथ्यो । अधुरो निन्द्रा र थाकेको शरीरले गर्दा आँखाको ढकनी झपझप भएर बन्द हुन खोज्थ्यो । तर पनि दर्शनको उत्साहले त्यो सबै गौण लाग्दथ्यो । अन्दाजी साढे ३ घण्टामा त्यो उकालो छिचोल्यौं । मन्दिरको मूल द्वारमा पाइला टेक्यौं । शरीरका थकान सारा मेटियो । लाग्थ्यो कि हामी त्यतिकै हावामा उडेर आएका हौं । सायद दैविक शक्तिले होला यात्रामा पाएका कष्ट सबै मेटिने रहेछ । यतिका यात्रामा एउटा अनौठो कुरा के भने मैले मेरी श्रीमती लक्ष्मीलाई ठूलो फेदीबाट मन्दिरको द्वारसम्म कही एकै पटक पनि बस्न दिइन । थकाई लागे केही क्षण उभिने फेरी पाइला चालिहाल्ने । मैले लक्ष्मी त्यसरी उकालो अनवरत चढ्न सक्ने भनेर एकमनले पनि सोचेको थिइन । चमत्कार नै भयो, सायद मान्छेहरुले यसैलाई नै माताले बोलाएको भनेको होला ।

मन्दिरमा प्रवेश गरेको दर्शनार्थीको ताँत । हामीलाई त्यो लस्करमा लाग्न उचित लागेन र छेउमा गएर बाहिरबाटै पूजा गरेर फिर्ता भयौं । पाथीभरा मन्दिरको क्षेत्रमा रहँदा धेरै चिसोको अनुभव भइरह्यो । कुहिरोले घुम्टो ओढेकोले परका हिमालहरुको दर्शन हुन पाएन । नत्र उत्तरतर्फ हेर्दा हिउँले ढाकेको कुम्भकर्ण हिमालको दर्शन गर्न पाइन्थ्यो । जब हामी ओरालो झर्न लाग्यौं बाटो भरी रातै लालीगुराँस फुलेको देख्यौं । कतै नजिक रहेको गुराँस पनि टिप्यौं । तर जब हामी ठूलो फेदी झर्यौं, त्यहाँका मानिसको मुखबाट सुन्यौं, ‘यो गुराँस होइन । यसलाई स्थानीय भाषामा ‘चिमल’ भनिन्छ । धेरै उचाइमा फुलेको कारणले यो केही मात्रामा विषालु हुन्छ । यो फुलको २–४ वटा पात खानुभयो भने रक्सी पिए जस्तै नशा लाग्छ । यसैको कारणले मानिसलाई लेक लाग्ने गर्छ ।’ उनीहरुले फुलका विषयमा थप जानकारी दिँदै भने, ‘यदि तपाईहरुलाई यो फुल टिपेर लैजान मन छ भने तल्लो फेदीदेखि तलतिरबाटमात्र टिपेर लाग्नुहोला ।’ यति सुनेपछि हाम्रो हातमा भएको त्यो फुलको मुठा त्यही कोठामा छाडेर ओरालो झर्यौं ।

हामी सानो फेदीको छेवैमा आइपुग्दा एउटा ठूलो बोर्डमा ‘मुक्कुमलुङ्मा युमा माङ्ओ लामदाक सेवारो’ भनेर लेखिएको देख्यौं । सायद यो पाथीभराको डाँडालाई किरात भाषामा ‘मुक्कुमलुङ्मा’ भनिदो रहेछ ।

हामी सानो फेदीको छेवैमा आइपुग्दा एउटा ठूलो बोर्डमा ‘मुक्कुमलुङ्मा युमा माङ्ओ लामदाक सेवारो’ भनेर लेखिएको देख्यौं । सायद यो पाथीभराको डाँडालाई किरात भाषामा ‘मुक्कुमलुङ्मा’ भनिदो रहेछ । यो डाँडोमा किरात सभ्यताको पनि केही इतिहास होला कहिकतै यसको बारेमा थाहा पाएपछि लेखौला । त्यही सानो फेदीबाट गाडीमा चढेर सुकेटार पुगे पश्चात आफ्नै मोटरसाइकल चढेर ताप्लेजुङ बजारलाई पछि छाड्दै कहाँको बास हुने हो भन्ने दुविधाका साथ आफ्नो फिर्ती यात्रालाई निरन्तरता दियौं । एकनाशको बेग साथ उकालो–ओरालो छिचोल्दै फिदिमलाई पनि पछि छाड्दै साँझको ५ बजे राँके बजारमा यात्रा बिट मार्ने सल्लाहका साथ कोठाको बन्दोबस्ती गरेर थकाई मार्यौं ।

राँके बजार जुन इलाम र पाँचथरको दोसाँधमा अवस्थित सानो तर सुन्दर बजार । छुर्पी र घ्यू अनि स्थानीय अग्र्यानिक दूधबाट बनिएको मिठाईहरुको लस्करै रहेको पसल । साथैमा राखिएको रातोरातो अकबरे खुर्सानीको अचार । देख्दैमा मुख रसाउने । राँके बजारको छेवैबाट मेरा पुख्र्यौली घर जाने ओरालो बाटो हेरें । त्यहीबाट ओरालो लागेपछि गाडीमा आधा घण्टामा पुगिन्छ अरे घुर्बिसे पञ्चमी मेरो पुख्र्यौली ठाउँ । जान मन नलागेको होइन तर समय अनुकुल नमिलेर मन मिचेर गइएन । सायद मेरो पूर्खाको पाइलाको डोब त्यो राँके बजारमा अझै होला । उनीहरुको दौराको फेरो काँडाले च्यातेर रहेको त्यतै कता होला । ढाकर बोक्दा चुहिएको पसिनाको थोपा त सायद सुकेर बिलिन भयो होला । तर पनि पुख्र्यौली सुगन्ध मेरो नाकमा र मनमा मगमगाई रहेको हुन्छ । आखिर जे भए पनि मेरो गन्तव्य त्यहाँ होइन । हामीले आफ्नो घर त पुग्नै पर्छ भनेर बिहान ६ बजे त्यहाँबाट बाटो लाग्यौं ।

डाँडाकाँडा नागबेली सडक छिचोल्दै दिनको ११ बजे आफ्नो घर सकुशल आइपुग्यौं । सायद माता पाथीभराको कृपाले होला यात्रा भरमा कहिकतै अप्रिय घटना भएन । यसपालिको पाथीभरा माताको दर्शन र आशिर्वाद साथ मेरो परिवार सुखी, खुशी साथ जीवन व्यतित गरिरहेका छौं ।

               सन्तोष नेम्वाङ