रेम्बो स्माइलको दोस्रो वार्षिकोत्सव सम्पन्न « Yalambar Times
४ फाल्गुन २०८१, आईतवार

रेम्बो स्माइलको दोस्रो वार्षिकोत्सव सम्पन्न


यलम्वर टाइम्स
१० फाल्गुन २०७९, बुधबार ११:०७

अर्जुनधारा । अर्जुनधारा–५ स्थित रेम्बो स्माइल मन्टेश्वरीको दोस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार आयोजित वार्षिकोत्सवको उद्घाटन अर्जुनधारा नगरपालिकाका शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शिक्षा शाखा प्रमुख रेग्मीले वर्तमान समयमा विद्यालयको आधारस्तम्भ मन्टेश्वरी भएको बताए ।

उनले मन्टेश्वरी साना बालबालिकाका लागि मनोरञ्जनात्मक शैलीबाट कखरा सिकाउँदै विद्यालयसम्म जोड्ने कडिको भएको बताउँदै साना बालबालिकालाई हप्काएर होइन मायाले सिकाउनु पर्ने बताए ।

कार्यक्रममा प्रिन्सिपल पुष्पा कोइराला भट्टराईले मन्टेश्वरीका बारेमा जानकारी दिँदै दक्ष तथा अनुभवी शिक्षिकाहरुले घरायसी वातावरणमा पठनपाठन गराउँदै आएको बताइन् ।

उनले मन्टेश्वरीमा ५० बढी बालबालिका अध्ययनरत रहेको बताउँदै सरस्वती पूजाको अवसरमा २२ बालबालिकाले निःशुल्क भर्ना लिएको जानकारी समेत दिइन् ।

मन्टेश्वरीका फाउण्डर लेखनाथ भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य लक्ष्मीप्रसाद खनाल, नवज्योति आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन थापा, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष विशाल थापा, अर्जुनधारा जेसीका अध्यक्ष प्रेम खड्का, टोल नं. २ का संयोजक टंक दाहाल, देवी खतिवडा लगायतको आतिथ्य रहेको थियो ।

साना–साना बालबालिकाहरुले आकर्षक नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका निर्भिक न्यौपाने र भावना साहले संयुक्त रुपमा गरेका थिए ।