कथाभित्रका कथा « Yalambar Times
२३ आश्विन २०८१, बुधबार

कथाभित्रका कथा


यलम्वर टाइम्स
१५ फाल्गुन २०७९, सोमबार ०८:३०

             सन्तोष नेम्वाङ

[सन्तोष नेम्वाङ]

काँधबाट स्कुलका किताब झोला उत्रिए पश्चात औलाको कापबाट कलम पनि छुट्यो । घरको आवश्यकतामा भरथेग गर्न ज्याला मजदुरीको दिशातर्फ मेरा लक्ष्य तेर्सिएको थियो । घरमा आमाको मृत्युपछि स्नेह र मायाको फेरो पनि हातबाट छुट्यो । कसैले मायाले कपाल सुमसुम्याई दिने अपेक्षा नै रहेन । अर्थात् कसैबाट माया र स्नेह प्राप्त होला भन्ने अपेक्षा रहेन ।

समयको बेगसँगै आफू पनि किशोर अवस्थामा पाइला टेकियो । गाउँघरका संगीहरु माया प्रेमका कुरा गर्थे । ‘फलानाको त त्यो सँग लभ परेको छ’ भन्ने कुराहरु सुनिन्थे । कहि कतै गाउँबाट केही टाढाका साइकलमा बसेर युगल जोडीहरु हुइकी रहेको देख्थे । त्यो देखेर मेरो मनमा पनि प्रेम प्राप्तिको लालसा बढेर आउँथ्यो । मलाई पनि कसैले प्रेम गरोस्, स्नेहले कपाल सुमसुम्याओस् भन्ने चाहना जाग्थ्यो । साथीहरुको साइकल मागेर उनीसँग कतै टाढा घुम्न जाउँ झै लाग्थ्यो । तर, खै किन हो मसँग कसैलाई प्रेम प्रस्ताव राख्ने सहास नभएर हो कि या मसँग समय अनुसारको सोच नभएर हो या त प्रेम प्राप्तिको सौभाग्य नै नभएर हो, सधै साथीहरुभन्दा पछाडी नै थिएँ । त्यो प्रेम प्राप्तिको चाहनालाई कर्तव्यको डोको ओडाएर आफ्नो कामलाई नै निरन्तरता दिइरहे ।

मेरो चाहना असीमित थिएन । सोचाई पनि असीमित थिएन । केवल थियो मेरो कलिलो काँधमा घरको जिम्मेवारीको भारी, फुर्सदमा साथीभाईसँग यताउताका गन्थन, दुईछाक पेट भर्ने भोजन र एकसरो कपडा थिए । तर समय एकनास रहेन । साथीभाईको प्रेम सम्बन्धका गाइगुईले मलाई कता कता इष्र्या जाग्न थालेको थियो । मेरो पनि प्रेमिका होस्, एकान्तमा बसेको बेला प्रेमपत्र लेख्न पाउँ । पसलमा गएर पोष्टकार्ड किनेर मनमा उर्लेका भावनाहरु पोखाएर मुसुक्क मुस्कुराउँदै प्रेमीकाको हातमा दिन पाउँ । उनले पनि लजाउँदै हातमा टपक्क लिँदाको रोमाञ्चकता कल्पना गर्थे । तर, सबैले सोचेझै कहाँ पुग्दो रहेछ र !

एवम् रीतले कामको सिलसिलामा एक दिन काम गर्ने ठाउँमा हामी साथीहरु खाना खाएर आराम गरिरहेका थियौं । अगाडीको घरबाट एउटी युवती डोको लिएर बाटोमा निस्की । गोरी–गोरी, लामो सिरुपाते आँखा, बिना लालीको ओठ, मध्यम उचाई थियो उसको । त्यो युवती देखेर साथीले मलाई चिमोट्यो । मैले साथीलाई एक नजर हेरे । उसले मलाई उ भएतर्फ इशारा गर्यो । पहिलो दिन यति मै सीमित भयो । तर दोस्रो दिनबाट साथीहरुले मलाई हौस्याउन थाले ।

सायद यो कुरा उसले पनि आभाष पाई । उ पनि साथीहरुसँग आफ्नो घरको आँगनमा भेला भएर हामीतर्फ मुस्कानका वर्षा वर्षाउन थाली । सुरुसुरुमा म सर्माए । संजोगले एक्लाएक्लै भेट हुँदा उ लाजले मुस्कुराउँदै शीर निहुराउँथ्यी । म पनि मन्द मुस्कान छर्दै प्रति उत्तर दिन्थे । मलाई प्रेमको परिभाषा भन्ने चिज हुन्छ भन्ने ज्ञान थिएन । आफू त साथीहरुको देखासिखी र उमेरको आवश्यकताको कारणले संजोग बश जुरेको परिघटनासँगै म पनि प्रेमको सागरमा पौडन उत्सुक भएँ । साँच्चै प्रेममा पर्दाको रोमाञ्चकता अलग्गै हुँदो रहेछ । सागरको गहिराई र सागरको उचाई गौण लाग्दो रहेछ । म र उनी प्रेमको आभाषमा चुर्लम्मै डुबेका थियौं । तर न त उसले मलाई माया गर्छु भन्न सकेकी थिइ, न त मैले नै उसलाई प्रेम प्रस्ताव राख्न सकेको थिएँ ।

यसै क्रममा शनिबारका दिन बजार जाने बाटोमा म उसलाई कुरेर बसें । उ पनि त्यही बाटो सरासर आइरहेकी थिइ । मैले आँट गरेर उसको बाटो अवरोध गरे र हातमा एउटा प्रेमपत्र थमाइ दिएँ । मेरो मुटु तेजले चलिरहेको थियो । स्वीकार गर्ला कि नगर्ला भन्ने दोधारमा थिएँ । तर उसले त्यो प्रेमपत्र सहर्ष स्वीकारी । त्यस पश्चात मलाई त सगरमाथा नै छिचोले झै भयो । अर्थात् म पनि प्रेममा परे । यो कुराको कल्पनाले मात्र मन फुरुङ्ग हुन्थ्यो । वर्षौपछिको प्यास मेटिएझै भयो । अब त म पनि तन्नेरी भएछु, संसारको रिटसँग डोहोरिन थालेछु ।

प्रेम त गरियो तर घरको जिम्मेवारीका कारणले कार्य व्यस्तता चलिनै रह्यो । टाढाको प्रेमीका सधै भेटघाट नहुने । भेट्न जान पनि सवारी साधानको अभाव । त्यसैले बेला मौकामा मात्र भेट गर्न जान सम्भव थियो । त्यो पनि साथीहरुको साइकल उपलब्ध भएमा । तर, कल्पना गर्न भने केहीको अभाव, छेकथुन थिएन । कुनै बेला एकान्तमा उसको कल्पना गर्दा समेत मन फुरुङ्ग भएर आउँथ्यो । तर प्रायः कामको व्यस्तताले गर्दा मैले पनि प्रेम गरेको छु ? मेरो पनि प्रेमीका छ र ? जस्तो आभाष हुन्थ्यो ।

चोखो मनले गरेको प्रेम सफल पनि हुने रहेछ । त्यसैको प्रतिफल उ मेरो घरको बुहारी भएर भित्रिइ । उसको घर परिवारले र मेरो घर परिवारले सहर्ष स्वीकार गरे । जीवन आनन्द साथ बितेको थियो । तर हामीभन्दा बलवान दैव पनि अस्तित्वमा रहेछ । मेरी छोरीको जन्म दिनको दोस्रो नै मलाई एक्लो बनाएर परलोक गइन् । सानो काखको दूधे बालक बाहेक उसको अस्तित्व केही नै रहेन । समाजको सामुन्ने नरोए पनि चुपचाप एकान्तमा धेरै रोएँ । जति रोए पनि आँसु त कहाँ सुक्दो रहेछ र ? यदाकदा उसको याद आउँदा छातीको आगो निभाउन दुई थोपा भए पनि तप्प आँसु चुहिरहेको छ ।

आजको समयसम्म पनि उनीसँगको प्रेमको आभाष ताजा नै छ । यदाकदा त्यो ठाउँमा टुप्लुक्क पुगे भने त्यो दृश्य आँखा अगाडि नै ताजा भएर रुमल्लिने छ ।