पहिचान बारे नेम्वाङले भन्न पनि सकेनन्, दृष्टिकोण राख्न पनि भ्याएनन् « Yalambar Times
२० आश्विन २०८१, आईतवार

पहिचान बारे नेम्वाङले भन्न पनि सकेनन्, दृष्टिकोण राख्न पनि भ्याएनन्


यलम्वर टाइम्स
२६ भाद्र २०८०, मंगलवार ०८:५६

[दिपीन राई]

अर्जुनधारा । सहमति र सहकार्यका सुत्रधार, नेपाली राजनीतिका अग्रणी योद्धा सालिन व्यक्ति सुवासचन्द्र नेम्वाङको असामयीक निधनले मुलुक शोकमग्न बनेको छ ।

जनआन्दोलनपछि नेकपा एमाले पार्टीभित्र प्रभावशाली नेताका रुपमा उदाउँदै गर्दा नेपाली जनताले नेम्वाङप्रति धेरै आशा र भरोसा गरेका थिए । त्यसैले होला इलामे जनताले उनलाई ५–५ पटक प्रतिनिधिसभामा उभ्याएको पाइन्छ ।

हुन त उनले शान्ति प्रक्रियामा खेलेको भूमिका निकै महत्वपूर्ण छ । २०७२ को संविधान निर्माणमा होस् या कुनै अप्ठ्यारो अवस्थामा होस् कानुनको विद्यार्थी भएको कारणले जुनसुकै घटना परिघटनालाई बिन्दूमा पुर्याउन सहमति र सहकार्यको पाटो रोज्दथे ।

संसद विघठनपछि देशमा अन्यौलतासँगै आन्दोलनका गतिविधि बढ्दै जाँदा उनका श्रद्धेय नेता केपी शर्मा ओलीलाई पनि सहमति र सहकार्य भन्ने गर्दथ्ये । त्यस्तै सडकमा उर्लेका जनतालाई पनि सहमति भन्दै निकास खोज्न आग्रह गर्दथ्ये ।

केपी शर्मा ओलीको बहुमत सरकार रहँदा बीचैमा असंवैधानिक कदम चालेपछि ओलीले नेता नेम्वाङलाई च्यापेर देश दौडाहामा पुग्दा घुमौरो पारामा ‘केही त्रुटि भएको छ, तर यसलाई ठूलो पहाड बनाएर निकास निक्लदैन’ भन्दै सम्झाउने गर्दथ्ये ।

एमाले पार्टीभित्र अध्यक्ष ओलीलाई समेत सम्झाउने सुवास नेम्वाङ बाहेक अर्को नेता सायदै होलान् ।

सधैपछि पारियो

कानुनका ज्ञाता, संविधान निर्माणका हिस्सेदार नेता नेम्वाङ पार्टीका एक बफदार योद्धा हुन् । उनी पार्टीको हितका लागि सधै दत्तचित्त थिए ।

पार्टीको शीर सदैव उच्च राख्ने काम गरेका नेम्वाङलाई भने पार्टीभित्र छोपिएर राखिएको उनका समर्थकले भन्ने गरेका छन् ।

अवसर आउँदा स्थान नदिने, अप्ठ्यारो अवस्थामा नेम्वाङलाई अगाडि सार्ने प्रवृत्तिले कहिल्यै अगाडि आउन दिएन ।

पार्टी अध्यक्ष ओलीका कारण नेम्वाङ बेला–बेला विवादमा मुछिने गरेका पनि थिए ।

प्रतिनिधि सभाका लागि पटक–पटक निर्वाचित भएर पनि देखिने गरिका काम नगरे पनि कानुन र संविधान निर्माणमा भने उल्लेखीय काम गरेको अनुमान गर्न पाइन्छ ।

धर्म र पहिचानमा आलोचित

नेता सुवास नेम्वाङ २०७२ को संविधान बन्न अघि धर्म निरपेक्षताको सवालमा खुलेर कुरा गर्न नसक्ने नेताको रुपमा परिचित थिए ।

तर, चुनाव आउन लाग्यो भने कुदेर किरात धर्म गुरु समक्ष आशिर्वाद माग्न पुग्ने गरेका थिए ।

गुरु समक्ष किरात धर्मको रक्षाको लागि आफू सदैव तयार रहने शब्द राख्न सक्ने नेम्वाङ अन्ततोगत्वा किराँत धर्मावलम्बीकै मतबाट विजय हुँदै आएका थिए ।

पछिल्लो पटक उनीले न त किरात प्रदेश भन्न सके न त लिम्बूवान ! पूर्वी क्षेत्रका प्रभावशाली नेता भएर पनि पहिचानको नाममा कुनै शब्द नभन्दा पहिचान जन्य संघसंगठनबाट खेदिनु परेको थियो ।

उनको निर्वाचन क्षेत्रमा लिम्बूवान पार्टीले आक्रमण गरेपछि उनले जनमुक्ति पार्टीको कार्यकर्तालाई आफ्नो समर्थक बनाएर अगाडि बढेका थिए ।

अझै पनि जनमुक्ति पार्टीका केही अग्रज कार्यकर्ताहरु एमालेबाट वडाध्यक्ष निर्वाचित भएका छन् र समर्थक भएर हिंड्दै गरेको पाइन्छ ।

प्रदेश नं. १ मा नेकपा एमाले पार्टीले प्रदेशको नाम कोशी राखेर अगाडि बढेको बेला कोशी नाम उचित नहोला भन्न पार्टीभित्र सकेनन् । ठूला दल नेपाल कांग्रेसले सच्याउने संकेत दियो ।

नेकपा माओवादीले गल्ती भयो हामी सच्याउने छौ भनेर सार्वजनिक माफी मागे तर एमालेले कुनै चासो राखेन र प्रदेशको नामको विषयमा बहस पनि गरेन । त्यसमा पनि नेता नेम्वाङ आलोचित हुन पुगे ।

पार्टी नेता केपी ओलीसँग कार्यकर्ता भ्रमणका लागि पूर्व आएको बेला पहिचानवादीले झापाको बुधबारेमा ओलीमाथि आक्रमण गर्दा पछि युवा संघको धरानमा भएको सम्मेलनमा नेता नेम्वाङले पहिचानको ढुंगा खतरा हुँदो रहेछ भनेर प्रतिक्रिया दिएका थिए ।

उनले त्यहाँ पनि पहिचानको आन्दोलनका विषयमा एक शब्द पनि बोल्न सकेनन् ।

नबोल्दा नबोल्दै गए

पूर्वमा पहिचानको मुद्दा पेचिलो बन्दै गएको बेला नेकपा एमालेका नेता नेम्वाङ यस विषयमा खुलेर बोल्न सकेनन् र आफ्ना समर्थकलाई केही भन्न पनि सकेनन् ।

लिम्बूवानी भू–भागमा हुर्केर, पढेर राज नेताको रुपमा कहलिए पनि पहिचानवादीलाई सम्बोधन नगर्नुले नेता नेम्वाङलाई पहिचान पक्षधरले पार्टी अध्यक्ष केपी ओलीको मतियार भन्नसम्म पछि हटेनन् ।

थुप्रै आरोप, प्रत्यारोप भोगे नेम्वाङले तर, जवाफ नआउँदा नेम्वाङ गोपी कृष्ण कहो भन्ने सुँगा हुन् समेत भने । यतिका आरोप खेपेका नेम्वाङ नबोल्दै सोमबार राति सबैलाई छाडेर गए ।

लारुम्बाको विकासमा सधै आश्वासन

हुन त सबै धर्मप्रति उतिकै आशा र विश्वास राख्ने नेता नेम्वाङले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने किराँतीहरुको पवित्र स्थल माङसेबुङको विकासमा सधै आश्वासनमात्र दिए ।

त्यस क्षेत्रबाट निर्वाचनमा उम्मेद्वारी पाएपछि त्यहाँको जनताका लागि धेरै विकासका पोकाहरु बाँड्ने गर्दथ्ये । यो वर्ष पनि उनले त्यसरी नै विकासको काममा विश्वास दिलाए ।

माङहिम परिषर, रिङरोड, दमक–रबी सडक, खानेपानी, बत्ती र सडकका विषयमा काम गर्ने वचन दिएका थिए ।

माङसेबुङको स्वास्थ्य, विद्यालय, बहुमुखी क्याम्पसमात्र होइन मानव संशाधनका विषयमा बोलेका नेम्वाङका शब्द अपुरो भएपछि उनका समर्थकहरु यतिबेला कुहिरोको काग जस्तो भएका छन् ।

सहमति र सहकार्यका जननी नेम्वाङ केही गरौंला भन्दाभन्दै बितेपछि पूर्वमा एमाले पार्टीभित्र संकट दरार होला भन्ने देखिन्छ ।

हुन त राजा मरे, राज गद्दी खाली हुँदैन भन्ने उखान छदैछ । नेम्वाङ बितेको १३ दिनपछि उनको निर्वाचन क्षेत्रमा खैलाबैला चल्ला उनको वरिष्ठ उपाध्यक्ष पदमा अरु पद लोलुप्ता निक्लेलान् तर सहमति र सहकार्यका जननी अब नेकपा एमालेमा भेटिने छैन र पाइने छैन ।