अझै दक्ष इन्जिनीयरको अभावः प्रमुख महतरा « Yalambar Times
२८ माघ २०८१, सोमबार

अझै दक्ष इन्जिनीयरको अभावः प्रमुख महतरा


यलम्वर टाइम्स
१२ माघ २०८१, शनिबार १०:१२

पाथिभरा इन्जिनीयरीङ कलेजको प्रथम स्वागत सभा

अर्जुनधारा । नेपालमा अझै दक्ष इन्जिनीयरको अभाव खड्कीएको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतराले बताएकी छिन् ।

अर्जुनधारा–११ स्थित पाथीभरा इन्जिनीयरीङ कलेजको नयाँ विद्यार्थीलाई स्वागत गर्ने क्रममा प्रमुख अतिथि नगर प्रमुख महतराले देश निर्माण गर्न र पक्का काम गरेर देखाउन दक्ष इन्जिनीयर आवश्यक छ तर, दक्ष र अनुभवकै अभावले बन्दै गरेको विकासे काममा पूर्णता नदेखिएको हुँदा पाथिभरा इन्जीनियरीङ कलेजले दक्ष विद्यार्थी निर्माण गर्न सकोस् भनी शुभकामना दिएका थिए ।

उनले अगाडि भनिन्, ‘झापाको नमूनाको रुपमा रहेको यस इन्जिनीयरीङ कलेजको गतिविधि लोभ लाग्दो र वातावरण सुन्दरता छ ।’ कार्यक्रममा इ. सुजल कोजु, इ. शितलप्रसाद यादव, इ. रोशन भट्टराई, इ. बिक्रम घिमिरे, अञ्जना प्रसाई आदिले कलेजको विषयमा आ–आफ्नो भनाइ राखेका थिए ।

स्वागत सभामा वडा नं. ११ का कार्यवहाक वडाध्यक्ष पूर्णबहादुर राई, बिर्तामोड–५ का वडाध्यक्ष राहुल शर्मा, कलेज संस्थापक युवराज प्रसाईले शुभकामना दिएका थिए ।

दश वर्ष अगाडि स्थापना भए पनि निकै कष्टपूर्ण इन्जिनीयरीङ कलेज ल्याएको स्मरण गर्दै कलेज संस्थापक प्रसाई यो झापाबासीको सम्पतिको रुपमा लिनु पर्ने बताए । भाई दुर्गाले डाक्टर उत्पादन गर्दै गर्दा मैले इन्जिनीयर जनशक्ति उत्पादन गर्दा देशलाई नै सहयोग पुग्ने हो भन्दै यस कलेजलाई सबै अभिभावकको सहयोग आवश्यकता भएको बताए ।

कलेजलाई व्यवस्थित लैजानका लागि विद्यार्थीहरुबाटै एक समिति गठन भएको छ । समितिमा रोहन राई, नविन खड्का, एन्जल मैनाली, भावना शाह, आस्था निरौला, प्रशान्त मिश्र, करिना पौडेल, सौजनराज गिरी रहेका छन् ।

विभिन्न रचनात्मक तरिकाले आयोजित स्वागत सभामा भलिबल, टेवल टेनिस र व्याडमिटन खेलका बिजेताहरुलाई मेडल वितरण गरिएको थियो भने विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । अर्जुनधारा–११ स्थित नयाँ बसपार्क छेउमा रहेको उक्त कलेजमा ९५ जना विद्यार्थी अध्यापन गर्दै आएका छन् ।