खुदुनाबारी–अर्जुनधारा खानेपानीको १९ औं सभा सम्पन्न « Yalambar Times
२८ माघ २०८१, सोमबार

खुदुनाबारी–अर्जुनधारा खानेपानीको १९ औं सभा सम्पन्न


यलम्वर टाइम्स
१४ माघ २०८१, सोमबार १८:०८

अर्जुनधारा । अर्जुनधारा–१ सिस्ने स्थित खुदुनाबारी–अर्जुनधारा खानेपानी उपभोक्ता समितिको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष विष्णुप्रसाद प्रसाईको अध्यक्षता र नगर उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

सभामा समितिका अध्यक्ष प्रसाईले संस्थाको गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्ष ०८१÷०८२ को नीति तथा कार्यक्रम, महालेखा परीक्षकको प्रतिवेदन कोषाध्यक्ष खिनकुमारी भट्टराईले प्रस्तुत गरेका थिए ।

संस्थाले गत आर्थिक वर्षमा खानेपानीको क्षेत्र र सदस्य संख्या वृद्धि भएसँगै अर्जुनधारा वडा नम्बर १, ४ र ७ का विभिन्न स्थानहरुमा पाइप लाइन विस्तार गरिएको, आन्तरिक श्रोतबाट मुहान निर्माण गरिएको, संस्थाको नीति अनुसार वडाका विपन्न २ घरमा धारा जडान गर्ने लक्ष्य अनुरुप हालसम्म ७ परिवारमा धारा जडान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै खानेपानीको अवस्था जाँचको लागि प्रत्येक ६ महिनामा खानेपानी परीक्षण गर्न थालिएको, कटहरे मुहानमा घेराबारा गरिएको र पानी महशुल तिर्न इ–सेवा, खल्ती र आईएमई पे सञ्चालनमा ल्याएको बताइएको छ ।

सोही अवसरमा समयमा नै नियमित महशुल बुझाउने उपभोक्ताहरुलाई समेत सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा–१ का बलबहादुर फुयाल र नरमाया तामाङ, अर्जुनधारा–७ का छविलाल दियाली र हर्कमाया लिम्बू, अर्जुनधारा–४ का रामबहादुर राई रहेका छन् । त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा वरिष्ट प्राविधिक खगेन्द्र फुयाललाई सम्मान गरिएको थियो ।

सहसचिव कमला लम्साल खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मदनकुमार दनुवारले गरेको संस्थाका कर्मचारी तिवेन्द्र काफ्लेले बताए ।