अर्जुनधारा । अर्जुनधारा–४ दहिझोडा स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष तेजबहादुर योङहाङको अध्यक्षता र बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
सभामा समितिका अध्यक्ष योङहाङले संस्थाको गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन तथा चालु आर्थिक वर्ष ०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने महालेखा परीक्षकको प्रतिवेदन कोषाध्यक्ष निर्मला येक्तेनले प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी १० लाख १४ हजार ४ सय, निक्षेप बचत १८ लाख ९१ हजार ७ सय २०, ऋण लगानी ४२ लाख ८७ हजार २ सय ६२ र ऋण असुली २८ लाख ४६ हजार २ सय ३९ रुपैयाँ रहेको उल्लेख छ ।
वि.सं. २०५४ सालमा विधिवत् रुपमा स्थापना भई सञ्चालनमा आएको संस्थाले सदस्यता वितरण तथा वृद्धि गर्ने, ऋण लगानी दायरालाई बढाउने, ऋण व्याजदर घटाउने, बचत योजना, शेयर सदस्यहरुलाई दिइने सेवा सुविधा वृद्धि लगायतका नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष योङहाङले बताए ।
सोही अवसरमा संस्थाले विभिन्न समूहबाट असल ऋणको रुपमा ६ जनालाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा समूह १ बाट हरिप्रसाद योङहाङ, समूह २ बाट कञ्चन राई, समूह ३ बाट प्रमिलाकुमारी मगर, समूह ४ बाट गिरीमाया लिम्बू, समूह ५ बाट कमला सुवेदी र समूह ६ बाट हरिप्रसाद कामी रहेका छन् ।
संस्थाकी सदस्य सुष्मा राईले स्वागत गरेको कार्यक्रममा वडा नं. ४ का वडा सदस्य जीतबहादुर चेम्जोङ, समाजसेवी भरतसिंह राई, दिलीप राई, सिंहबहादुर राई लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव रीना मगरले गरेकी थिइन् ।