प्रचण्ड बारम्बार पूर्व किन ? « Yalambar Times
२९ बैशाख २०८२, सोमबार

प्रचण्ड बारम्बार पूर्व किन ?


यलम्वर टाइम्स
२९ बैशाख २०८२, सोमबार १४:४८

[पवन किराती]

अर्जुनधारा । प्रतिपक्षमा उभिएर सत्तालाई दिशा निर्देशन गर्नु पर्ने दल पनि सत्तामै केन्द्रीत भएपछि यो बेला प्रतिपक्षको रुपमा नेकपा माओवादी केन्द्र रहन पुग्यो ।

भ्रष्ट आचरण भएका नेताहरुलाई ठेगान लगाउँदै आएको बेला ठूला दल आतिएर प्रचण्डलाई सत्ता बाहिर पु¥याई छाडे । अन्ततोगत्वा एमाले र कांग्रेस मिलेर सरकार बनेपछि भ्रष्ट नेताहरु जोगिन पुगे ।

सत्ता बाहिर पु¥याएका प्रचण्डलाई प्रतिपक्ष बनाइ छाडे । यो तमासा नेपाली जनतालाई राम्ररी थाहा छ तर, सत्तामा रहेका दलहरुले भ्रष्टाचारीलाई बचाउँदै आफ्नोपनमा सत्ता सञ्चालन गर्दा नेपाली जनता हार्दिक भएपछि जे भए पनि नेकपा माओवादी केन्द्रको सरकार नै ठीक रहेछ भन्दै माओवादी केन्द्रमा प्रवेश गर्न थालेको देखिन्छ ।

नेपाली जनतालाई सुशासन, नीति र विधि तथा संविधान अनुसार देश सञ्चालन गरे पुग्छ भन्ने मान्यता राख्दाराख्दै संविधान विपरीत सत्ता सञ्चालन गरेपछि जनता आजित भएको विश्लेषकहरुको भनाई छ । त्यसैले प्रचण्ड जहाँ पुगे पनि हाई हाई बन्न पुगेका हुन् । त्यतिकैमा सत्ता प्रमुख जहाँ पुगे पनि बाईबाई र मुर्दावाद जस्ता शब्द ओकलिन थालेको देखिन्छ ।

हुन त २०६४ मा माओवादी केन्द्रलाई विश्वास गरेर जनताले माथि पु¥याएकै हो तर, सत्ताको गतिविधि राम्रो सञ्चालन गर्न नसक्दा चित खानु प¥यो । त्यही कारणले हालसम्म माओवादी केन्द्र हरेक कुरामा पीडित हुँदै जनतामाँझ सच्चिन्छौं भन्दै घरघरमा नेताहरु पुग्न थालेका छन् । पार्टी अध्यक्ष प्रचण्ड आफै कमजोर जिल्लाहरुमा पुग्दै गरेको हामी देख्छौं ।

प्रस्ट वक्ता, छलकपट नभएको व्यक्ति भनेर नेता प्रचण्डलाई पुकरिन्छ । त्यसैले होला पछिल्लो पटक प्रचण्डको अभिव्यक्ति जनताको भावना छुने र राष्ट्रलाई उचाईमा पु¥याउने खालको छ ।

तराई केन्द्रीत सभामा उनलाई गरेको स्वागत र बिना शर्त प्रवेश गरेको संख्या हेर्दा ०८४ मा माओवादी केन्द्रको शुभ संकेत हो कि भन्न थालेका छन् । गठबन्धन हुँदा पनि उपनिर्वाचनमा स्थानीय तहमा पाएको मत र विभिन्न संघसंगठनमा विजय भएको संख्या हेर्दा जनताले विश्वास गर्दै छ भन्नेमा विश्लेषकहरुको टिप्पणी छ ।

पछिल्लो समयमा प्रचण्ड झापामा मात्र तीन पटक आएर सयौं मानिसहरुलाई आफ्नो दलमा प्रवेश गराए । विशेषगरी कोचिला, पूर्वीय आदिवासी जनजाति र ठूला दलबाट पीडित हुन पुगेका ठूला नेता कार्यकर्ताहरुलाई आफ्नो दलमा स्वागत गरेसँगै पदीय जिम्मेवारी प्रदान गर्न भ्याए ।

झापामा संयोजक राजु आचार्य ‘अग्नी’, प्रदेश १ संसुदीय दलका नेता इन्द्रबहादुर आङ्बो, हरिकुमार राना, लोकबन्धु कन्दङ्वा, रञ्जीत तामाङ, धर्मशिला चापागाई, झलकसिंह दर्लामी लगायत अन्य नेताहरु सक्रिय भएपछि पार्टीले उचाई लिएको देखिन्छ । बिर्तामोड, गौरीगञ्ज, केचना, दमक, झापा गाउँपालिकाबाट ४ हजार मानिस माओवादीमा प्रवेश गरेको देखियो । पार्टीले सत्तामा रहँदा गरेको राम्रो कामको प्रतिफल हो भन्ने सचिव मोहन टुडुको भनाई छ ।

केही महिना अगाडि आठराईको बगालेमा मात्र धेरै संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तराई केन्द्रीत आन्दोलनका बेला मोरङ केराबारी, मंगलबारे, कानेपोखरी आदि ठाउँबाट कांग्रेसका नेतासहित निकै संख्यामा माओवादीमा प्रवेश गरेका थिए ।

सत्ता पक्षले यो बेला न्यायमा आफ्नोपन देखाउँदै गर्दा जनता आजित भएको भनाई छ । न्यायमा मात्र होइन नियुक्ति गर्ने समय नपुगी कुलमान घिसिङलाई हटाएर आफ्नो मान्छे नियुक्ति गर्नु, स्वतन्त्र पार्टीका सभापतिलाई एउटै मुद्दामा हैरान पार्नुले पनि सरकारप्रति जनता चिडिदै गएका छन् ।

सत्तामा रहँदा आफ्ना कार्यकर्ता त खुशी होलान् तर अन्य दलका मानिसको भनाई सत्ताले नबुझ्दा र नसुन्दा ओली सरकारप्रति तिक्तता रहेको देखिन्छ । यही तितोपनकै कारण पाँचथरको जनसभामा बिना शर्त अन्य दलका निकै मानिस माओवादीमा प्रवेश गर्दै गरेको पार्टी प्रदेश नं. १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिङ्सो’ले बताए ।

राम्रो काम गरे जनताको साथ, नराम्रो काम गरे जनताले नै लखेट्छन् भन्ने राम्रो ज्ञान प्राप्त गरेको माओवादीले धर्म निरपेक्षता, पूर्ण समानुपातिक, पहिचानमा आधारित क्षेत्रको विकास, स्वदेशमा नै केही गरौं भन्ने नीति र दलित, मधेसीको सम्मान जस्ता मुद्दासँगै गणतन्त्रको रक्षाका लागि एक हौं भन्दै विभिन्न सभामा सम्बोधन गरेको पाइन्छ ।

भ्रष्टचारीको सम्पत्ति राज्यकरण गरिनुपर्ने, त्यही सम्पत्तिबाट उद्योग, कलकारखाना खोली युवा शक्तिलाई रोजगारको व्यवस्था गरिनुपर्ने जस्ता जनताको माग रहेको छ भने सस्तो शिक्षा नीति, सर्वसुलभ स्वास्थ्य सेवा र सुकुम्बासीलाई लालपूर्जाको व्यवस्था गरिनुपर्ने जस्ता माग जनताले राख्दै आएका छन् । त्यसप्रति माओवादी केन्द्र चिन्तित हुनुपर्ने बुद्धिजीविहरुको भनाई छ ।