अर्जुनधारा । मानव–वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनिकरण एवम् व्यवस्थापन गर्दै गरिबी न्यूनिकरण गर्ने उद्देश्यले जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले मौरी प्रबद्र्धनको कार्यक्रम सुरु गरेको छ ।
अर्जुनधारा–३ स्थित सामुदायिक वनले स्थानीय उपभोक्ताहरुको आयमूलक कार्यक्रममार्फत आर्थिकस्तर उकास्ने हेतुले मौरी प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिएको जनाएको हो ।
समूहसँगै अर्जुनधारा नगरपालिका अन्र्तगत कृषि विकास शाखा र सामाजिक विकास शाखाको त्रिपक्षीय साझेदारीमा कार्यक्रमको लागि छनौट भएको ९० जना उपभोक्तालाई मौरीपालन सम्बन्धी आधारभूत तालिम, मौरीसहितको एक थान घार र आवश्यक सामग्री वितरण गरिएको वनका अध्यक्ष मोहन श्रेष्ठले बताए ।
तालिमका सहजकर्ता एवम् चुलाचुली गाँउपालिका कृषि विकास शाखा प्रमुख सुवास दाहालले सहजिकरण गरेको तालिम २–२ दिनका दरले जम्मा ६ दिन सञ्चालन भएको थियो ।
तालिममा समूह अन्र्तगत क्षेत्र नं. १बाट छनौट भएका ३० जना, क्षेत्र नं. २ र ३बाट छनौट भएका ३० जना र क्षेत्र नं. ४ र ५बाट छनौट भएका ३० जना उपभोक्ता सहभागी भएको बताइएको छ ।
तालिमसँगै मौरीपालन सम्बन्धी स्थलगत अध्धयन अवलोकन गरेका सहभागीहरुलाई एक कार्यक्रमको बीच मौरीको घार, सामग्री र प्रमाण पत्र वितरण गरिएको थियो ।
अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले सहभागीहरुलाई उक्त सामग्रीहरु वितरण गरेकी थिइन् ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख सुरेशकुमार खनाल, कृषि विकास शाखाकी प्रमुख एञ्जिला बेडारी लगायतले आफ्नो धारणा राखेका थिए ।
उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव उर्मिला कटुवालले गरेकी थिइन् ।

