अर्जुनधारा । अर्जुनधारामा तेस्रो प्रदेशस्तरीय बक्सिङ खेल प्रतियोगिता सुरु भएको छ ।
खेल विधाको सबैभन्दा पुरानो खेल बक्सिङ हो । आज यो खेल अन्तर्राष्ट्रियस्तरमा चर्चित खेल भए पनि नेपालमा लोप हुँदै गएको कारण प्रदेश सरकारले यसलाई जीवन्त राख्न शुक्रबारबाट अर्जुनधाराको शनिश्चरे बजारमा प्रदेशस्तरीय बक्सिङ खेलको आयोजना भएको हो ।
खेलको उद्घाटन गर्दै खानेपानी मन्त्री एकराज कार्कीले खेललाई आत्मारक्षा मात्र होइन नाम र इज्जतसँगै दाम कमाउन सहयोग पुग्ने भएको हुँदा प्रदेश सरकारको थोरै लगानीमा बक्सिङ खेल सुरु गरिएको बताए ।
मन्त्री कार्कीले शनिश्चरे खेल क्षेत्रको हब भएको सम्झिदै बक्सिङलाई अझ प्रभावकारी ढंगबाट लैजाने आश्वासन दिए । कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देनले स्वास्थ्यका लागि खेलकुद नगरको नारा भएको हुँदा अर्जुनधाराले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
उनले शनिश्चरे क्षेत्रका खेलाडीहरुको नाम उच्चारण गर्दै उहाँहरुकै छत्र छायाँबाट आफू लगायत अन्य खेलाडीहरु यहाँसम्म आएको बताए ।
राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका हेमराज खरेलले पहिलो पटक प्रदेशस्तरीय खेल अर्जुनधारामा आयोजना भएकोमा प्रदेश सरकारलाई धन्यवाद प्रकट गरे ।
अन्तर्राष्ट्रिय कोच पुष्पकरराज पन्तले सबैभन्दा पुरानो खेल बक्सिङ भएको बताउँदै ओलम्पिकबाट नेपालले बक्सिङबाट नाम र शान राखेको सुनाए ।
कृति राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत जिल्ला खेलकुद विकास संघका अध्यक्ष प्रशान्त भण्डारीले गरेका थिए भने कार्यक्रममा प्रजातान्त्रिक सेनानीका अध्यक्ष लिलक सिटौला, वडा नं. ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, वडा नं.. ९ का वडाध्यक्ष भीष्म मिश्र, ५ का वडाध्यक्ष गीताराज खड्का, भद्रपुर वडा नं. ८ का वडाध्यक्ष मनोज सुब्बा, बक्सिङ संघ झापाका अध्यक्ष युवराज खड्का, गोल्डकप झापाका अधयक्ष केदार गिरी, कराते प्रशिक्षक मदन उप्रेती, बिर्तामोड प्रहरी प्रमुख प्रकाश श्रेष्ठ, निर्माण व्यवसायी मिलन बस्नेत, जलेश्वरधाम अध्यक्ष नविन गट्टानी, शिक्षासेवी लोकनाथ पौडेल, बन्धु कार्की, साहित्यकार चित्रा पौडेल, राम धिमाल, किरण श्रेष्ठ, राम दाहाल लगायतको आतिथ्य रहेको थियो ।
प्रशिक्षक प्लेनसिंह धिमाल, जया सुब्बा लगायतको टिमले खेललाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने भएका छन् । खेलको उद्घाटन समयमा देवभूमिका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
प्रदेश खेलकुद विकास बोर्डको सहयोग, झापाको आयोजना, बक्सिङ संघको प्राविधिक सहयोग र अर्जुनधाराको व्यवस्थापनमा आयोजित प्रतियोगितामा प्रदेशभरिका ११ जिल्लाबाट ६० खेलाडी सहभागि भएका छन् ।
प्रतियोगिताको उद्घाटनमा बाल बक्सर आर्यन कार्की र अमन कर्मकारले भिडेका थिए । प्रतियोगितामा अमन कर्मकार विजयी बनेका थिए ।