गणतन्त्रमा बेमौसमी बाजाको कुनै दम छैनः नेता आङ्बो « Yalambar Times
१९ जेष्ठ २०८२, आईतवार

गणतन्त्रमा बेमौसमी बाजाको कुनै दम छैनः नेता आङ्बो


यलम्वर टाइम्स
१६ जेष्ठ २०८२, बिहीबार १९:२३

बिर्तामोड । नेकपा माओवादी केन्द्र प्रदेश नं. १ संसदीय दलका नेता इन्द्र आङ्बो मौसमले राजावादीहरुको नक्कली भेलाले गणतन्त्रवादीलाई समस्या नहुने बताएका छन् ।

झापाको डोमालाल राजवंशी रंगशालामा आज (विहीबार) गणतन्त्र दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेललाई उद्घाटन गर्दै प्रमुख अतिथि आङ्बोले गणतन्त्र दिवसमा बेमौसमी बाजा बजेको सुनिन्छ त्यो बाजामा दम नभएको बताए ।

जनताले बलिदानी पूर्वक ल्याएको गणतन्त्रलाई बेमौसमी भेलाले कति पनि असर नपार्ने बताउँदै गणतन्त्र नेपाली जनताको मनबाट आएको हुँदा यसलाई भव्य रुपमा मनाउँदै जानुपर्ने तर्क राखे ।

सत्तामा रहेका राजनीतिक दलले जनतामाथि गरेको हर्कतबाट जनता आजित भए पनि आउने दिनमा जनताको शिर उच्च पार्ने कार्यमा लाग्दै गाउँगाउँबाट गणतन्त्र दिवस मनाउनुपर्ने जोड दिए ।

कार्यक्रममा अर्का अतिथि नेपाली कांग्रेस जिल्ला सचिव नविन विमलीले लोकतान्त्रिक गणतन्त्रलाई राजावादीको आक्रोश भर्सन जनताले अनुमोदन गर्न सक्दैनन् । त्यसैले लोकतन्त्रमै नेपाली जनताको भविश्य जोडिएको हुँदा यसलाई सबैतिर मनाउँदै लानुपर्ने बताए ।

गणतन्त्रलाई सार्थक बनाउन अखिल नेपाल खेलकुद महासंघ झापा र अखिल क्रान्तिकारी जिल्ला कमिटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा १० टिमको सहभागिता रहेको थियो ।

खेलमा नेपाली कांग्रेस, वाणिज्य संघ बिर्तामोड, नेपाल पत्रकार महासंघ झापा, वाईसीएल, पूर्वेली क्लब, विद्यार्थी, ट्रेड युनियन, कर्मचारी लगायतको टिमले प्रतिस्पर्धा गरेका थिए ।

खेलको फाइनलमा नेकपा माओवादी केन्द्रलाई ट्राइबेकरमा पछि पार्दै अखिल नेपाल मजदुर संघले उपाधि जितेको थियो ।

प्रथम उपाधि जित्नेलाई २५ केजीको खसी र उपविजेता टिमलाई १५ केजी लोकल कुखुरा पुरस्कार प्रदान गरिएको थियो ।

अखिल नेपाल खेलकुद महासंघ झापाका अध्यक्ष सुरेश आलेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत फ्याक्सन इन्चार्ज दधि रिमालले गरेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य झलकसिंह दर्लामी, हरिकुमार राना, सरु न्यौपाने, जिल्ला अध्यक्ष राजु आचार्य ‘अग्नी’, जिल्ला इन्चार्ज रञ्जीत तामाङ, पत्रकार महासंघका अध्यक्ष एकराज गिरी, वाणिज्य संघ अध्यक्ष राजु न्यौपाने, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, महिला तथा अन्य जनवर्गीय संगठनका नेताहरुको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन भने विद्यार्थी नेता विवेक दाहालले गरेका थिए ।