बिर्तामोड । झापामा पहिचानवादी पक्षधरहरुले गणतन्त्र दिवसको अवसर पारेर शुभकामना आदान–प्रदान गरेका छन् ।
संयुक्त पहिचानवादी मोर्चा झापाले आयोजित अन्तरक्रियामा पहिचानवादी नेता लगायतले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र जनताले चाहे जस्तो नभएको बताउँदै सुधारिएको गणतन्त्र आवश्यक रहेको बताएका छन् ।
उपस्थित वक्ताहरुले कुनै पनि हालतमा राजतन्त्र नआउने जिकिर गर्दै ‘एमाले, काँग्रेस र माओवादीमा भोट हालेका पहिचानवादी हातहरुले कसरी राजतन्त्रको पक्षमा भोट हाल्छन् ?’ उनीहरुले प्रश्न गरे ।
कार्यक्रममा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली राज्यको होइन एमालेको मात्र प्रधानमन्त्री भएको पहिचान पक्षधर नेताहरुले टिप्पणी गरे ।
कार्यक्रममा प्रमुख अतिथि सञ्जुहाङ पालुङ्वाले राजतन्त्र सबैभन्दा बढी आदिवासी जनजातिका लागि ‘क्रुर’ भएको बताए ।
‘राजतन्त्रमा आदिवासी जनजातिलाई कंशको जस्तो व्यवहार हुन्थ्यो’ नेता पालुङ्वाले भने ‘जनजातिका नाक तथा मुख काटिएको थियो ।’ उनले अहिलेको गणतन्त्र पुरै असफल भएको बताउँदै अब बहुल राष्ट्रिय लोकतान्त्रिक गणतन्त्र आवश्यक भएको बताए ।
राजनीतिक विश्लेश्क तथा बुद्धिजिवी नेता देशु बनेमले नेपालको गणतन्त्र कस्तो प्रकार हो भनेर प्रस्ट नभएकोले खिचडी जस्तो वैचारिक रुपमा अल्मलिएको बताए । नेपालको गणतन्त्र कस्तो प्रकारको हुँदा सबै समुदाय, जातजाति समेटिन्छन् बहस हुन आवश्यक रहेको उनको भनाई छ ।
नेपाल आदिवासी जनजाति महासंघ झापाका पूर्व अध्यक्ष पे्रम घिसिङले संघीय गणतन्त्र र धर्म निरपेक्षतालाई संस्थापक बनाउनु पर्ने दायित्वबाट सरकार पन्सिएको बताए । उनले जनताले चाहेको गणतन्त्रलाई संस्थापन गर्न सरकारले अझै नसकेको बताए ।
संयुक्त पहिचानवादी मोर्चा झापाका संयोजक एलवी पालुङ्वाले सबै पहिचानवादी शक्तिहरुलाई एकताबद्ध बनाएर सवैका लागि सहज लोत्रतान्त्रिक गणतन्त्र स्थापना गर्न दवाव दिनु पर्ने बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा पहिचानवादी नेताहरु विरेन मेचे, गणेशकुमार शाक्य, कृष्ण उदास, खेसेहाङ खजुम, दुर्गा विमली, भरत श्रेष्ठ, भक्त खेवाङ, इन्दिरा धौराली, बिराज आङ्दम्बे, सुनिता लामा सुहाङ, कृष्णकुमार थेवेलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन मोर्चाका झापा सदस्य पदम कन्दङ्वाले गरेका थिए ।
पहिचानवादी नेताहरुले १८ औं वर्ष प्रवेश गरेको गणतन्त्रका अवसरमा दीप प्रज्वल गरेर सुधारिएको गणतन्त्र अवको आवश्यक रहेको बताएका छन् ।