मुक्कुम्लुङ पाथीभारा क्षेत्रमा ५ हजार विरुवा रोपियो
ताप्लेजुङ । यो पटक मुन्दुममा आस्था राख्ने करिब ३५० बढीले ताप्लेजुङको पाथीभरा मुक्कुम्लुङ परिषरमा हिमाली क्षेत्रमा लगाइने विरुवाहरु रोपेका छन् ।
हिमाली क्षेत्रमा रोपिने मध्ये रातो, सेतो गुराँस, धुपी र खेटे सल्ला जातका विरुवा लगाएका छन् । बर्खा झरी नभनी २० वर्षदेखि ७० वर्षसम्मका मानिसहरुको उपस्थिति रहेको थियो ।
मुक्कुम्लुङ ताङसेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा असार १ गते वृहत उपस्थित भई विरुवा रोपिएको हो । यसअघि नो केवलकार भन्ने उद्देश्यले मुक्कुम्लुङ पूजापाठ, रुख विरुवा काटेको हेर्न र केही विरुवा रोप्न पाथीभरा पुगेका थिए ।
एउटा धर्म मुन्दुममाथि व्यापारी शैलीको कारोबार भएपछि सरकार विरुद्ध ताप्लेजुङका रैथाने याक्थुङ्बाहरुले विरोध जनाउँदा ठूलो धरपकड भएको थियो ।
धरपकड गराउने पैसावाल व्यापारी र सरकार थिए भने लड्ने, भिड्ने रैथाने याक्थुङ्बाहरु नै थिए । कतै विगतको घटना जस्तो हुन्छ कि भनेर यो पटक राज्यले जेष्ठ ३१ गते मुक्कुम्लुङ परिषरमा सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको देखिन्थ्यो ।
ताप्लेजुङको सिमाना पाँचथरको कावेली बजारमै वृक्षरोपणमा सहभागि हुन जानेलाई कडाइका साथ चेकजाँच गरिदै दुःख दिएका थिए तर वृक्षरोपणकारीहरुले पनि भगवतीको दर्शन गर्न हिडेका हौ भन्दै त्रिशुल र फलफुल देखाएपछि छाडिदिएका थिए । यो पटक वृक्षरोपणमा काठमाण्डौदेखि छिमेकी भारतको सिक्किमबाट धेरै याक्थुङम्बाहरुको उपस्थिति थियो ।
जेष्ठ ३१ गते बिहान वृक्षरोपण गर्ने भनिए पनि वर्षाझरीले गर्न सकिएको थिएन । सोही दिन फुङलिङ–१० स्थित ठूलो फेदीमा राति २ बजेसम्म भेला भएपछि असार १ गते ९ बजेबाट मुक्कुम्लुङ पाथीभराको सामिप्यमा पुगेर २८ प्रजातिका गुराँसका विरुवा रोपिएको थियो ।
माथिलो फेदीको पूर्वी भागबाट केवलकार चढ्ने करिब २ किलोमिटर क्षेत्रमा ठूलठूला हजारौं वर्षका रुखहरु काटिएका छन् । तल्लो फेदीमा व्यापार व्यवसाय गरेर बसेकी बालकुमारी लिम्बूका अनुसार कति खेर, कुन बेला, कति छिटो रुख काटियो आफैलाई थाहा नभएको बताइन् ।
जो कोही मानिस पाथीभरा मुक्कुम्लुङ परिषरमा पुग्न सफल भयो या काफ्ले पार्टीबाट उकालो हेर्यो भने पहिरो गएको जस्तो रागेपाटे देख्न सकिन्छ । ‘चैत, बैशाखमा पाथीभरालाई सेतो, रातो गुराँसले ढकमक्क फुलेर शरीरमा माला पहिरिए जस्तै देखिएतापनि यो पटक मालाको एक भाग छिनिए जस्तै देखियो’, स्थानीय प्रदीप भट्टराईले भने ।
हुन पनि हो सुन्दर बनाउने छिटो मीठो पैसा कमाउने दाउमा केवलकार कम्पनी र सरकार लागे पनि पाथीभराको पाथी जस्तो डाँडा राघेपाटे जस्तो कुरुप आकारमा देखिन्थ्यो । रुख काटेको क्षेत्रमा सामान्य भू–क्षय गए जस्तो भेटिन्थ्यो । चराचुरुङ्गीहरु रोइरहेको जस्तो पाइन्थ्यो ।
झापाको दमक घर भएकी ६८ वर्षीय दासमाया लिम्बू हातमा विरुवा बोक्दै भगवान मुक्कुम्लुङलाई आशिर्वाद माग्दै थिइन्, ‘देवी मेरो सन्ततीहरुले मैले रोपेको विरुवा हुर्केको वा फुलेको देख्न पाउन् ।’
झापा दुर्गापरका ७० वर्षीय लीलाबहादुर कन्दङ्वाले पनि विभिन्न प्रजातिका रुख रोपेर फर्केका छन् ।
असार १ गते बिहानपख ठूलो फेदीबाट पानी झरी नभन्दै जय पाथीभरा मुक्कुम्लुङ भनी ठीक ९ बजे मन्दिर परिषरमा पुगेका कन्दङ्वाले भने, ‘केवलकारले मानिसलाई सुविधा देला तर धर्म कमाउन र मन्दिरको मूल्य र मान्यता हराउँदै जाने बताए ।
यो ठाउँमा केवलकार बनाएर मन्दिरको आस्थामाथि आँच आउने र याक्थुङ्बाहरुको मुन्दुममाथि प्रहार हुने भएकाले त्यसो नगर्न सरकारलाई आग्रह गरे । वृक्षरोपणमा विशेषगरी सचेत युवायुवतीहरुको उपस्थिति थियो भने वृक्षरोपणमा अन्यले दुःख दिन्छन् कि भन्दै मुक्कुम्लुङ संरक्षण समितिका युवादस्ताले पहरा दिएका थिए ।
बिहान ८ बजेबाट भेला भएका वृक्षरोपणकारीहरुले ठीक १ बजेसम्म विरुवा रोपेका थिए । बीच–बीचमा ठूलठूला रुखहरु रातारात काटिएको दृश्यले आन्दोलनकारीहरु चिडिएका थिए ।
वर्षौदेखि हुर्किएका गुराँस अब फुल्ने कहिले बनाउन सकिएला ? भन्दै वृक्षरोपणमा सहभागि हर्क लिम्बूले सञ्चारकर्मीहरुसँग मनका कुरा राखे । वारिपट्टी मुक्कुम्लुङ पारीपट्टी फक्ताङलुङ र छेवैमा सेन्चेलुङ तीन चुल्हा जस्तै रहेको त्यो ठाउँमा प्राकृतिक दृष्टिकोणले अत्यन्तै सुन्दर छ ।
यस्तो ठाउँमा केवलकार निर्माण गरेर वृक्षहरु काटेर बिध्वंस गर्नु आफैमा कुकर्म हो । पैसाको भरमा सुन्दरतालाई मासेर कुरुप बनाउनु दुःखको कुरा हो । यो कार्य सरकारले बुझ्न जरुरी छ ।
वृक्षरोपणमा पहिचानवादी मोर्चाका संयोजक डा. महेन्द्र लावती, चम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेन, जनमुक्तिका भक्त खेवाङ, विष्णु थाङदेन, एलवी पालुङ्वा, नागरिक उन्मुक्तिका दिलबहादुर लावती, चन्द्र मादेन र धेरै संख्यामा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
वृक्षरोपणपछि मन्दिर परिषरदेखि तीन किलोमिटर तल बलु डाँडामा कोणसभाको आयोजना गरिएको थियो । सभामा डा. महेन्द्र लावतीले केवलकार बन्न नहुने जिकिर गर्दै बनिहाले भौगोलिक, सांस्कृतिक तथा विविध दृष्टिकोणबाट चल्न नसक्ने ठोकुवा गरे ।
फाल्गनु १० गतेलाई सम्झदै प्रहरी प्रशासनले दमन गर्नु नेताहरुले राजनीतिक चिहान खनेका हुन् । उनीहरुका विरुद्ध सडकदेखि मतदानसम्म अवरोध, आन्दोलन गर्नुपर्ने बताए ।
यसरी नै चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले नेपालको संविधानले मुक्कुम्लुङलाई एउटा सांस्कृतिक सम्पदाको सूचिमा राखेको छ तर सरकार आफै बलात्कार गरेर निरीह बनाउँछ भने सम्पदामाथि बलात्कार गर्ने सरकारप्रति आपत्ति भएको बताए ।
त्यस्तै जनमुक्तिका विष्णु थाङदेनले सांस्कृतिक अतिक्रमण एक जातिमाथि मात्र दमन होइन सबै जातिमाथिको आक्रमण हो भन्दै यसलाई सबै मिलेर प्रतिकार गर्नुपर्ने दिन आएको बताए ।
थाङदेनले भने, ‘हामीमाथि भएको आक्रमणलाई रोक्न अब अन्तर्राष्ट्रिय सहयोगको आव्हान गर्नेछौं ।’