अर्जुनधारा । नेकपा माओवादी केन्द्र अर्जुनधारा वडा नम्बर ९ ले नागरिकको स्वास्थ्यमा खेलवाड नगर्न अनुरोध गर्दै मंगलबार स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
विकृति, विसंगति, भ्रष्टाचार तथा कुशासनको विरुद्ध संघर्षरत माओवादी केन्द्र आफ्नो वडामा त्यस्ता खाले हर्कत नहोस् भनी ध्यानाकर्षण गराएको पार्टी अध्यक्ष पुष्पबहादुर तामाङले बताए ।
विशेषगरी अर्जुनधारा वडा नम्बर ९ मा रहेको शनिश्चरे अस्पतालमा देखिएका केही कमी कमजोरी र विकृति विरुद्ध ध्यानाकर्षण गर्दै पाँच बुँदे माग अगाडि सारेका छन् ।
नगर अस्पतालभित्र सेवा लिन आउन बिरामी तथा सम्पूर्ण सेवाग्राहीलाई स्वास्थ्य बीमा तर्फको दर्ता शाखामा दर्ता गर्नका लागि लामो लाइन लाग्दा हैरानी तथा असहज भएकाले टोकनमार्फत लाइन नबसी दर्ता प्रक्रिया अघि बढाउने व्यवस्था गर्नुपर्ने, प्रतिक्षालयमा पर्याप्त स्थान नभएकाले बिरामीहरु असहज रुपमा प्रतिक्षालयमा बस्दा विभिन्न सरुवा रोगहरु सर्न सक्ने समेत जोखिम भएकाले उक्त प्रतिक्षालय विस्ता गरी व्यवस्थित गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै नगर अस्पतालभित्र सञ्चालित बीमा फार्मेसीमा पाइने औषधीको गुणस्तर जाँच गरी गुणस्तरी औषधीहरु प्रदान गरिनुपर्ने, निर्माणाधिन नगर अस्पतालको भवन निर्माण कार्य रोकी संरचना खण्डहरका रुपमा परिणत हुँदै गएको र सोही कारण उक्त स्थान दुव्र्यवसनी तथा अनैतिक क्रियाकलापको केन्द्रको रुपमा परिणत हुँदै गएको हुँदा अनुगमन तथा निगरानी गरी संरक्षण गर्न साथै यथाशिघ्र निर्माण कार्य सुचारु हुनुपर्ने र नगर अस्पतालको प्रशासनिक तथा आर्थिक पारदर्शीता कायम गरी सार्वजनिक गर्नुपर्ने माग ध्यानाकषर्ण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र प्रदेश सदस्य जितेश योञ्जन, नगर अध्यक्ष नारद दुःखी, जिल्ला सदस्य अनिल सुवेदी, मोहन पौड्याली, भक्ति खरेल, पदम मगर, पुण्यप्रसाद अधिकारी, टेक खतिवडा र मोहन भट्टराई लगायतले बुझाएका थिए ।
पत्र बुझ्दै शाखा प्रमुख बस्नेतले उचित माग भएको हुँदा यसलाई चाडै सम्बोधन गरिने जवाफ दिए ।