अर्जुनधारा । शहरमा बसेर गरिने पत्रकारिता शहरका बासिन्दालाई मात्र हुने गरेको हो कि भन्ने लाग्छ किन ? बत्ती गयो, धारापानी बिग्रिए, पोल ढल्यो, वाइफाइले काम गरेन, नाला ढल दुर्गन्धीत भयो, केही केहीले ठगे, सागसब्जीको भाउ आकाशियो, विषादीले बजार ढाक्यो यस्तै यस्तै समाचारमा हामी हाम्रा अखबार, रेडियो, टिभीमा भन्ने गर्छौ ।
केही केही सञ्चारमाध्यमले राजनैतिकलाई बढी प्राथमिकता दिए पनि अधिकांश शहरीया नेताका कुरा बढी लेख्ने गर्छौ । त्यसैले शहरमा बसेर गरिने पत्रकारिताले गाउँबस्तीका दुःख र पीडा कम बुझ्ने भएको हुनाले १८ औं वर्षको पाइला बढाइरहँदा हामी गाउँबाटै गाउँका पीडा, मार्का, सुख–दुःखका सन्देश दिन चाहन्छौं ।
हो शहरबाट गाउँ आएको आज ठ्याक्कै १३ वर्ष भएको छ । जिल्ला प्रशासनले गाउँमा रहेर पत्रकारिता गर्न अधिकार दिएको पनि १२ वर्ष पुगेको छ । अर्जुनधारा–शनिश्चरे विकासको चरणमा लम्कदै थियो । राज्यले माथिबाटै शनिअर्जुन नगरपालिका भनेर सन्देश प्रवाह गर्यो । यहाँका थुप्रै राजनैतिक दलले अब शनिअर्जुनमा मिडिया सञ्चालन गर्नुपर्छ भन्न थाल्नुभयो ।
केही नेताहरुले के बिर्तामोड धाउछौ अब शनिअर्जुनबाटै मिडिया चलाउनुपर्छ भनी आग्रह गरे । फलस्वरुप सचेत नागरिकको आग्रहबाटै बिर्तामोड प्रकाशन रहेको समावेशी मिडियाबाट सञ्चालित यलम्वर टाइम्स अखबार शनिश्चरे बजारमा कार्यालय स्थापना गरियो ।
शनिश्चरेबाट मिडिया सञ्चालन गर्नुपर्छ भन्ने स्व. केशवकुमार बुढाथोकी, नवल फाइवाली, मोहन काफ्ले, पुष्पलाल निरौला आज यो धर्तीमा हुनुहुन्न । तर, प्रेमसागर सापकोटा, हरिकुमार राना, प्रशासक रुद्र न्यौपाने, पूर्व मुख्यमन्त्री उद्धव थापा, लक्ष्मी इङनाम, क्या मानबहादुर राई, देवकुमार राई, भुवन शिवाकोटी, ध्रुव प्रधान अझै पनि मिडियाको अवस्थाबारे सोधपुछ गर्नुहुन्छ ।
शहरबाट गाउँ आइपुग्दा केही चुनौति थिए । टे«सिङ बोकेर प्रेसमा जानुपर्ने, प्रेसबाट बिहानै अखबार ल्याउनुपर्ने अनि वितरण गर्नुपर्ने, त्यस्ता चुनौतिलाई व्यहोर्दै प्राविधिमा फड्को मार्दा केही सहज हुनपुग्यो ।
अहिले ट्रेसिङ बोकेर प्रेस धाउनु पर्दैन, केही समाचार ताजै दिनुपर्दा यलम्वर टाइम्स अनलाइनबाट दिन सकिन्छ तर, अझै पनि गाउँमा अखबार खोज्ने र पढ्ने माग भएको हुँदा अखबारको क्रेज घटेको छैन ।
केही शहरमा बसेका ठालु हौ भन्नेले अझै पनि पत्रिका पढ्छन् र ? भन्नेहरु पनि छन् तर पत्रिका प्रकाशन भएपछि के लेखेको छ हौ भनेर एक साइटबाट चियो गर्नेहरु पनि पाइन्छ । तर पनि पत्रिका हेर्नेहरुको संख्या कम छैन ।
शहरभित्र वा बाहिर जे भए पनि हामी तमाम पाठकहरुलाई राम्रा सन्देश प्रवाह गर्न जन्मेका हौ । गाउँमा बसेर गाउँका पीडा शहरीया नेताहरुलाई दिन चाहन्छौ ।
शहरमा बस्ने मानिसलाई मात्र डेंगी रोग लाग्दैन, गाउँका मान्छेलाई पनि लाग्छ भनेर स्वास्थ्य सम्बन्धि चेतना दिन्छौ । शहर उन्मुख हुँदै गरेको अर्जुनधारा नगरलाई विकासको गति लिदै गरेको सन्देश दिन चाहन्छौ ।
शहरलाई रसायनिक मलको खाँचो त्यति धेरै हुँदैन, बाढी पहिरोले त्यति दुःख दिँदैन, पानी कुद्ने कुलेसो र सिचाईंका लागि नहर चाहिँदैन ।
हामी गाउँले जनता (कृषक) लाई अतिआवश्यक हो भनेर सरकारलाई घचघच्याउँछौ । टोल–टोलमा कालोपत्रे हुँदैछ भन्ने मुख्य समाचार बनाउँछौ ।
शहरलाई त्यस्तो समाचारको कुनै परवाह हुँदैन । लम्की रोगले गाईवस्तुलाई असर पार्दैछ भनेर समाचार दिन्छौ, कुन कृषक के गर्दैछ कुन सहकारीको प्रगति कस्तो छ ? कुन विद्यालय कसरी सञ्चालन हुँदैछ गाउँबाटै यस्ता दैनिकीलाई अखबारमार्फत मसिनो गरी समाचार सम्प्रेषण गर्नुपर्ने काम भएको हुँदा गाउँमा अझै पनि अखबारको क्रेज रहेको पाइन्छ ।
हामीमाँझ थुप्रै लेखमार्फत आवाज उठाउनुपर्ने देखिन्छ । त्यसलाई हाम्रो टिमले नियालदै समाचार सम्प्रेषण गर्ने र अझ पठनीय बनाउनेमा छौ । त्यो हाम्रो प्रयासलाई अझ सल्लाह सुझाव दिनु हुनेछ भन्ने आशामा छौ ।
गाउँमै बसेर मिडिया सञ्चालन गर्दा हाम्रा शुभचिन्तक विज्ञापनदाता, पाठक, लेखक, साहित्यकार, जिल्ला–जिल्लाका समाचारदाताहरु प्रति आभारी छौं ।