पहिचानवादी मोर्चाको कार्यालयमा यलम्वर टाइम्सको मुक्कुम्लुङ विशेषांकमाथि बहस « Yalambar Times
१२ श्रावण २०८२, आईतवार

पहिचानवादी मोर्चाको कार्यालयमा यलम्वर टाइम्सको मुक्कुम्लुङ विशेषांकमाथि बहस


यलम्वर टाइम्स
१२ श्रावण २०८२, आईतवार १३:३४

काठमाण्डौ । १८ औं वर्ष प्रवेशको अवसरमा प्रकाशन गरेको मुक्कुम्लुङ विशेषांकलाई लिएर यलम्वर टाइम्सले पहिचानवादी मोर्चाको कार्यालयमा बहस सञ्चालन गरेको छ ।

बहस कार्यक्रममा पहिचानवादी मोर्चाका संयोजक डा. महेन्द्र लावतीले पूर्वबाट पहिचानसँगै मुक्कुम्लुङका मुद्दाहरु पेचिलो बन्दै गएको बेला विषय सम्बन्धित पुस्तक प्रकाशन गर्नु ऐतिहासिक कार्य भएको बताए ।

डा. लावतीले अन्तर्राष्ट्रिय बहसको विषय बनिसकेको मुक्कुम्लुङलाई मुख्य केन्द्र बनाएर यलम्वर टाइम्स आफ्नो १८ औं वर्ष प्रवेशमा प्रकाशित गरी स्थानीयस्तरसम्म पुर्याएको धन्यवाद प्रदान गरे ।

कार्यक्रममा विशेष अतिथि किरात याक्थुङ चुम्लुङका प्रेम एक्तेनले मुक्कुम्लुङलाई मध्यनजर गर्दै पुस्तक प्रकाशन गर्ने प्रशंसनीय भएको बताउँदै आउने दिनमा अझ सशक्त रुपमा अगाडि बढ्न सुझाव दिएका छन् ।

अभियान्ता राम मादेन, पहिचानवादी नेता खगेन्द्र माखिम, किरात याक्थुङ चुम्लुङका गोविन्द वनेम, सरस्वती सिङ्घक लगायतले पुस्तकको विषयमा आ–आफ्नो विचार राखेका थिए ।

वक्ताहरुले पहिचान स्थापित गराउनका लागि पुस्तकलाई मेची–महाकाली पुर्याएर बहस गर्न जोड दिए ।