काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय परिषदको कार्यालयमा यलम्वर टाइम्सद्वारा प्रकाशित मुक्कुम्लुङ विशेषांकलाई लिएर बहस भएको छ ।
यलम्वर टाइम्सले १८ वर्ष प्रवेशको अवसरमा प्रकाशन गरी बजारमा ल्याएको उक्त विशेषांकको विषयमा मुक्कुम्लुङ संरक्षण अभियान्ता सरस्वता सिंघकले मुक्कुम्लुङमा भएको आक्रमण, स्थानीय रैथाने याक्थुङ्बाहरुलाई गरेको अपहेलना र किराती मुन्दुम मिथकमाथि ठाडो हस्तक्षेप भएको बताइन् ।
उनले पर्यावरणको विषयलाई वेवास्ता गरी हजारौं लालीगुराँस काटिएको भन्दै सरकार आफैले राष्ट्रियतामाथि नाङ्गो प्रहार गरेको बताइन् ।
कार्यक्रममा फोनिजका सल्लाहकार अमरधोज लामाले एउटा अखबारले ऐतिहासिक काम गर्दै पूर्वका गतिविधि राजधानीलाई सुनाउन आएकोमा यलम्वर टाइम्सलाई धन्यवाद दिए ।
उनले मुक्कुम्लुङका विषयलाई विशेषांक प्रकाशित गर्दै ऐतिहासिक दस्तावेजको रुपमा ल्याएकोमा बधाई समेत व्यक्त गरे । उनले नेपाली पत्रकारिताले अब यस्तै यस्तै समस्या र पीर मर्कालाई बहसमा ल्याउन सक्नुपर्ने कुरालाई जोड दिए ।
कार्यक्रममा यलम्वर टाइम्सका सम्पादक दिपीन राईले पहिला पहिला राजधानीका गतिविधिहरु जिल्ला जिल्लामा बसेर हर्ने गरेको बताए ।
उनले अहिले जिल्लाका समस्याहरु राजधानीले सुन्न नसकेकाले जिल्लाका गतिविधिहरु राजधानी ल्याएर यसरी बहस चलाउनुपरेको बताए ।
फोनिजका संघीय अध्यक्ष लक्की चौधरीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न जातिगत पत्रकार संघका प्रतिनिधिहरुले आ–आफ्नो विचार राखेका थिए ।
कार्यक्रममा नेवा, गुरुङ, राई, मगर लगायत जातिगत पत्रकार संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।