त्यो एउटा सानो भूल « Yalambar Times
१७ श्रावण २०८२, शुक्रबार

त्यो एउटा सानो भूल


यलम्वर टाइम्स
१६ श्रावण २०८२, बिहीबार १९:०१

[सन्तोष नेम्वाङ (इटबुङ्गे साइला)]

मलाई थाहा छ, तिम्रो जीवन कथामा म पनि छु । मेरो अस्तित्वको उपस्थिति छ । तर, यो थाहा छैन कि तिम्रो कथाको अर्को प्रहरमा म हुन्छु कि हुदिन । मेरो अस्तित्वको उपस्थिति रहन्छ कि रहँदैन । हाम्रो सम्बन्धको वास्तविक नाता के थियो ? मैले बुझ्न चाहेर पनि बुझ्न सकिरहेको छैन । कयौ पटक म आफूले आफैलाई तिम्रो अस्तित्वसँग दाज्न खोजे । तर, तिम्रो र मेरो सम्बन्ध कुनै पनि साइनोसँग मेल खाएको देख्दिन । यद्यपी म आफैलाई तिमीबाट अलग छु जस्तो लाग्दैन । सायद तिमीलाई पनि त्यस्तै लाग्दो हो । तर म ठ्याक्कै अन्दाज लगाउन सक्दिन । तिमीले मलाई तिम्रो जीवनको कुन दर्जामा दाज्छौं । त्यो तिम्रो अधिकारको कुरा हो । तर पनि तिम्रो व्यवहार निहार्दा पक्कै पनि तिम्रो मेरो लागि म केही खास हँ जस्तो लाग्छ । तिमीले मसँग बिताएका केही घटना देखेर मेरो हदको पाइला केही बढाउँ कि जस्तो पनि नलागेको होइन तर, अनायासै यसरी हदको सीमा कसरी नाघौंभन्दै संकुचित मन लिएर खुम्चिन बाध्य भएको छु ।

मलाई थाहा छ, तिमी नारीहरुको पनि बाध्यता हुन्छ । त्यसै कुनै पुरुषलाई निमन्त्रण दिन कसरी सक्छौं होला र ! तिम्रो सामुन्ने समाज छ । तिम्रो शिरमाथि पारिवारिक छानो छ, अनि नारीको अमूल्य गहना लाज संकोच छ । भावनामा बगेर प्रेम पस्ताव राख्न पनि त सहास जुटाउन गाह्रो भएर होला तिम्रो आँखाको भाव बुझ्न खोजे । तर, तिम्रो र मेरो प्रत्येक आमनेसामनेको पलमा तिमी झुकेको निहारेर प्रेम भाव बुझ्नै सकिन । सदाझैं एक लासको भेटमा एक दिन ‘सञ्चै छौं ?’ भनेर प्रश्न राख्दा सुस्तरी शिर हल्लाएर ‘अँ…’ भनी जवाफ दियौं । लाली लगाएको पातलो ओठमा हलका मुस्कान देखे । तिम्रो सामु आएर साहस जुटाइ तिम्रो हात समाएको त्यो क्षण कहिले नरोकियोस झै लाग्यो । त्यसरी हात समाएर लगाउँदै कुरा गर्दागर्दै अचानक तिमीले हात झट्कारेर पाइला बढायौं । मैले सोचे सायद तिमीलाई मेरो स्पर्श जायज लागेन होला । तिमीलाई मेरो सामिप्य सुहाएन जस्तो लाग्यो । म तिमीलाई त्यही छाडी फनक्क फर्केर हिंडेको थिए । तिमीले के सोच्यौ त्यो मलाई थाहा भएन । त्यस क्षण म आफू पुरुष भएको अभिमानलाई तिमीले दुत्कारेको आभाष भयो । म पुरुषलाई एक नारीको अस्तित्वले अपमान गरेको ठानेर हिडेको केही समय पश्चात म आफैलाई धिक्कारे । सायद ममा रहेको पुरुषपनको अभिमान सेलाएर होला ग्लानी भएर आयो ।

तिम्रो बाध्यता के थियो ? तिमीले मेरो हात किन झट्कारेर हटायौं ? यो सबै कारण नबुझी किन तिमीलाई त्यही छाडेर आएँ । त्यो रात छट्पटिमा नै बित्यो । भोली बिहान नै तिमीलाई भेट्छु भन्ने अठोट गरेर निदाएँ । सूर्योदयसँगै तिम्रो घर जाने गोरेटो पछ्याएँ । तर, रित्तो मन लिएर फिर्न बाध्य भएँ । सुने तिमी तिम्रो मामल गयौं रे ! तर कता हो, ठेगाना सोध्नै बिर्सेछु । सायद मेरो माया काँचो रहेछ । माया पनि के भनौं बैंशको पहिलो खुड्कीलोको यात्रामा हुनुपर्ने युवा र युवती बीचको आकर्षण मात्र होला । एक अर्कामा मायाका साथ आकर्षण परिपक्क हुनुपर्ने रहेछ । अथवा परिपक्क भएर निस्वार्थपन पनि हुनुपर्ने रहेछ ।

दिनहरु धेरै बितिसकेको थियो । त्यो अवधिभर छटपटिको सीमा रहेन । मन आत्तिएर प्राण नै जाला जस्तो भएको थियो । यो सबै जीवनमा नारीप्रति पहिलो आकर्षण भएर होला छटपटि पनि बिछट्टै रमाइलो लाग्ने । कहिले नितान्त एक्लै बिरहका गीत गाउन मन लाग्ने अनि कहिले हजारौंको भिडमा बेफिक्री भइ नाच्न मन लाग्ने । आज यतिका दिनहरु बितिसक्यो । तिम्रो आगमनमा रोकिएको प्रतिक्षाको घडीको सुइ पनि खीया लाग्न थालिसकेको छ । आँखाहरु तिम्रो आँगन निहार्दा निहार्दै कलेटी परिसक्यो । मुटुको धड्कनको चाल बिछट्टै पाराले धड्कीरह्यो । मानिसहरु भन्थे प्रतिक्षाको समय धेरै कष्टदायक हुन्छ रे, आज अनुभव गर्न पाएँ । सानु प्रतिक्षा धेरै भयो, अब त आँखा पनि थाक्यो । मेरो एउटा सानो भूलको सजाय यस्तो हुन्छ भन्ने थाहा भए त्यो भूल कहिले गर्ने थिइन ।

किन हो आज बिहानैदेखि मेरो घरको अगाडि आँपको रुखमा बसेर एउटा काग कर्कश स्वरले कराइरहेको थियो । मलाई त्यो कर्कश स्वरले दिक्क लागेर आयो र एउटा ढुंगा उठाएर खेदाउन खोजे । तर आमाले झपार्नु भयो । ‘त्यसरी कागलाई खेदाउनु हुँदैन । आँगनमा काग करायो भने सुखद समाचार या कसैको चिी आउँछ, त्यसैले खेदाउनु हुँदैन ।’ यति सुनेर हातको ढुंगा मिल्काएँ । मनको एक कुनामा सानो आशाको किरण जाग्यो । दाहिने आँखा पनि फुरफुर्यायो । मेरो आँखा सडकतर्फ तेर्सियो । पक्कै पनि तिम्रो चिी आउँछ, मलाई शतप्रतिशत विश्वास जागरे आयो । अचानक बाटोमा एक जना खाकी पहिरन पहिरिएको मानिस देखा पर्यो । मन ढक्क फुलेर आयो । उ जति नजिक आउथ्यो त्यति नै मन छटपटिएर आउन थाल्यो । हेर्दाहेर्दै त्यो व्यक्ति हाम्रो आँगनमा आएर उभियो । उसले आफ्नो झोलाबाट चिीको गड्डी निकाल्यो र छानेर मेरो नामको चिी मेरो हातमा थमाइदियो । अचानक मेरो पाउमा पखेटा पलायो । दौडेर घरभित्र गई पत्र पढ्न लागे ।

‘मैले सम्बोधन गरिन, म आराम छु र आरामको कामना गर्दछु । मलाई थाहा छ, प्रेम आवश्यकता हो । तर, आशक्ति होइन । समयको खड्कीलोसँगै वयस्कमा एक युवक र युवती बीच प्रेमप्रति आकर्षण बढ्छ नै । म तपाईलाई चाहन्थे र चाहन्छु तर, नारी हुँ मेरो माथि अभिभावक हुनुहुन्छ । डर र त्रासको बीच पनि म तपाईप्रति आकर्षित हुँदै जाँदै थिएँ । तपाईको व्यवहारले पनि जनाउथ्यो कि तपाई पनि म प्रति आकर्षित हुनुहुन्थ्यो । यति हुँदाहुँदै पनि त्यो दिन मैले तपाई समाउनु भएको हात झट्काइ दिएको हो । तर, त्यसरी झट्काउँदा तपाईलाई अपमान भएको आभाष भयो होला । त्यसको वास्तविक सत्यता तपाईलाई थाहा छैन । तपाईले मेरो हात समाउँदा मेरा दाइले परबाट हेरिरहनु भएको थियो । त्यसैले मैले हात झट्कारेको हुँ । त्यसको परिणाम मसँग दुइ वटा विकल्प तेर्सीयो । एउटा विकल्प तपाईमाथि भौतिक आक्रमण र दोस्रो म गाउँ छाडेर मामाघर जानुपर्ने । यसमा मैले दोस्रो विकल्प रोजे । आजको दिनसम्म म तपाईबाट टाढा छु । तपाई माथि आक्रमण भएको कसरी देखौं ? त्यही कारण बरु तपाईसँग बिछोड भई बस्न बाध्य भएँ । अब हाम्रो बाटो अलग–अलग भयो । सक्नुहुन्छ मलाई भूलिदिनु र आफ्नो नयाँ भविश्य रोज्नु होला ।
उही तपाईको ‘सानु’ !

चिठ्ठी एकै सासमा पढि सिध्याएँ । त्यस पश्चात म आफूलाई धिक्कार्न थाले । त्यो दिनको सानो भूल उसैमाथि थोपारेर आफू पुरुषत्व देखाउँदै हिंडे । भूल त सानो लाग्थ्यो तर, त्यो सानो भूलले जीवनको गति नै बदलिदियो । सायदै भूलौला त्यो एउटा सानो भूल ।