इटहरी । जनता समाजवादी पार्टी, नेपाल प्रदेश नम्बर १ को अधिवेशन आगामी भदौ २७ र २८ गते बिराटनगरमा हुने भएको छ ।
जसपा नेपाल प्रदेश नं. १ समितिको बैठकले पार्टीको प्रदेश अधिवेशनको मिति र स्थान तोकेको हो ।
अधिवेशनको आवश्यक तयारीका लागि विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको तयारीमा जुटिएको जसपा नेपाल प्रदेश नम्बर १ का अध्यक्ष दिपक याक्खाले जानकारी दिए ।
‘अधिवेशन भव्य र सभ्य गरी सम्पन्न गर्ने तयारी छ । त्यसका निम्ति हामीले विभिन्न समिति गठन गरेर काम थालेका छौँ । व्यापक सहभागिताका बीच प्रदेश १ बाट महत्वपूर्ण राजनीतिक सन्देश दिने गरी पार्टीले यो अधिवेशनलाई उपयोग गर्नेछ’, याक्खाले भने ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष एवम् १ नं. प्रदेश आन्दोलन परिचालन तथा समन्वय समितिका संयोजक रकम चेम्जोङ लगायत पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने अधिवेशनको बन्दसत्रमा एक हजार बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने जसपा नेपाल प्रदेश १ का मुख्य सचिव घनश्याम कटुवालले जानकारी दिए ।
‘राष्ट्रिय समिति, जिल्ला समिति, जनवर्गीय संगठनहरु र पार्टी संगठित सदस्य संख्याको अनुपातमा प्रतिनिधि पर्यवेक्षकको व्यवस्था गरिनेछ । हामी चाँडै संगठित सदस्यता संख्या टुङ्गाउने गरी काम गरिरहेका छौँ’, उनले भने ।
बैठकले प्रदेश अधिवेशनको निर्वाचन सम्बन्धी कार्य सम्पन्न गर्न अधिवक्ता समेत रहेका उपेन्द्र लावतीलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको पार्टीले जनाएको छ ।
अधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेको जसपा नेपालले आर्थिकको जिम्मा केशव जबेगू, मनोज यादव, टंक मोक्तान, ऐत चेम्जोङ, रिता खापुङ र दीर्घमान तामाङलाई दिएको छ ।
त्यस्तै प्रचार प्रसार तथा प्रकाशनको जिम्मा हस्तशोभा राई, भक्त राई, नवीन माबोहाङ र श्याममाया राईलाई दिएको जनाएको छ ।
पार्टी प्रदेश समितिको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदनको जिम्मा क्रमशः दिपक याक्खा, घनश्याम कटुवाल र केशव जबेगूले पाएका छन् भने प्रतिनिधि व्यवस्थापनमा विष्णुकुमार लावती, विशाल आङ्देम्बे, तेन्जिङ शेर्पा, मनोज यादव, आङ्छेपाल शेर्पा र भरत याक्खालाई जिम्मेवारी दिएको पार्टीले जनाएको छ ।
त्यस्तै अतिथि सत्कारमा पदमकुमारी राई, उषा यादव र कुमार सुनुवार, हल, मञ्च, आवासतर्फ अनिल ठाकुर, सम्सतबरेज आलम, नवीन राई र छिवाहाङ राईलाई जिम्मेवारी दिइएको छ ।
जसपा नेपालले प्रदेश १ मातहतका लिम्बूवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति र मधेश राष्ट्रिय समितिसहित मोरङ, सुनसरी, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, सोलुखुम्बु जिल्लाका अधिवेशन सम्पन्न भइसकेका र बाँकी जिल्लाको अधिवशेन चाँढै सम्पन्न गरिने मुख्य सचिव कटुवालको भनाइ छ ।