शक्ति निर्माणसँगै पहिचानलाई सशक्त बनाउन पहिचानवादी मोर्चा « Yalambar Times
१० श्रावण २०८१, बिहीबार

शक्ति निर्माणसँगै पहिचानलाई सशक्त बनाउन पहिचानवादी मोर्चा


यलम्वर टाइम्स
१३ जेष्ठ २०८१, आईतवार ११:४८

बिर्तामोड । छरिएर रहेका पहिचान पक्षधरलाई एकीकृत गर्दै शक्ति निर्माण र पहिचानको आन्दोलनलाई सशक्त बनाउन पहिचानवादी मोर्चा गठन भएको बताइएको छ ।

आइतबार बिर्तामोडमा झापाली पत्रकारहरुसँग साक्षात्कार गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष डा. महेन्द्र लावतीले विभिन्न समूहमा रहेका पहिचान पक्षधरहरुलाई एकतृत गरी नयाँ शक्ति निर्माणका लागि मोर्चा गठन गरिएको बताए ।

उनले वर्तमान अवस्थामा पहिचानवादी शक्ति विस्तार भएको तर विभिन्न बहानामा टुटफुट भइ छरिएर रहेको बताउँदै ती सबैलाई समेट्दै आवाज बुलन्द बनाउन पहिचानवादी मोर्चाको अवधारणा विकास भएको सुनाए ।

डा. लावतीले मोर्चाको अवधारणा, सिद्धान्त, भावी कार्ययोजना र कार्यदिशाका साथै मोर्चा बन्दि गर्नुपर्ने कारणका बारेमा प्रस्ट्याएका थिए ।

उनले मोर्चामा एमाले, कांग्रेस, माओवादी, जसपा लगायत अन्य दलभित्र रहेका पहिचान पक्षधर नेता कार्यकर्ताहरू समाहित हुँदै र पहिचानको विषयमा वकालत गर्दै आएका साना दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, मञ्च सम्बद्ध लिम्बूवान लगायतलाई समेटेर जाने बताए ।

डा. लावतीले पूर्वबाट पहिचान पक्षधर शक्तिलाई समेट्दै पश्चिमसम्मै पहिचानवादी मोर्चा विस्तार गरिने हुँदा ०८४ को चुनावमा पहिचानवादीहरूको साझा एउटै चुनाव चिह्नमा ढ्वाङ थाप्ने आफूहरुको योजना रहेको बताए ।

बेग्लाबेग्लै रुपमा चुनावमा लड्दा मत कम हुने बताउँदै देशव्यापीरूपमा पहिचानवादी मोर्चा गठन गर्दै साझा चुनाव चिन्हबाट लड्दा आवाज बलियो हुने डा. लावतीले बताए ।