शिवसताक्षी १ का वडा सचिवमाथि कुटपिट « Yalambar Times
२३ भाद्र २०८१, आईतवार

शिवसताक्षी १ का वडा सचिवमाथि कुटपिट


यलम्वर टाइम्स
१८ जेष्ठ २०८१, शुक्रबार ०६:०४

झिलझिले । वडा सचिवलाई कुटपिट गरेको भन्दै शिवसताक्षी १ का दुई व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही वडाका सोमनाथ बजगाई र घनश्याम बजगाई रहेको छन् । शिवसताक्षी नगरपालिका वडा नं. १ को कार्यालयमा आफ्नो आफन्तको जन्मदर्तामा थर सच्याउन गएका उनीहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले बताएको छ ।

उनीहरुले वडा नं. १ का सचिव नन्दीकेशर भट्टराईलाई तुरुन्तै जन्मदर्तामा थर सच्याउन भन्दै सामान्य कुरा भएको र कार्यालय हाताभित्र रहेको चमेना गृहमा कुटपिट गरेको बताइएको छ ।

भट्टराईले आजको आजै नाम सच्याउने अधिकार आफूसित नभएको, व्यवहारिक रुपमा भोलि सर्जिमिन बसेर थर सच्याइदिने भनेपछि सरकारको तलब खाएपछि जनताको काम आजै गर्नुपर्छ भन्दै जंगिएको बताए ।

सचिव भट्टराईले दबाव र धम्कीको भरमा म आफूले काम गर्न नसक्ने बताएपछि चमेना गृहमा चिया खान गएको अवस्थामा दुवै मिलेर कुटपिट गरेको उनको भनाइ रहेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार अभियुक्तमाथि अभद्र व्यवहार सम्बन्धी किटानी जाहेरी आएकोले आवश्यक अनुसन्धानका लागि म्याद थप गरी इप्रका झिलझिलेमा राखिएको बताइएको छ ।

कुटपिटको घटना जेठ १६ गते भएको हो । कुटपिटमा संलग्न व्यक्तिहरु दाजुभाइ रहेको खुलेको छ । वडा सचिवमाथि भएको भौतिक आक्रमणको विरोधमा शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुको तर्फबाट प्रेस विज्ञप्ति जारी गरिएको छ ।

वडा सचिव भट्टराईलाई कुटपिट गर्दा वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ साथमै रहेको र छुट्याउन खोज्दा अझ बढी आक्रामक भएर सर्ट च्यातिदिएको, घाँटी निचोरेको र मुक्काले गर्धनमा प्रहार गरेको बुझिएको छ । यस विषयमा वडा अध्यक्ष चेम्जोङसँग बुझ्दा अवाञ्छित क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कारवाही हुनुपर्ने बताएका छन् ।