संस्कारलाई सम्मान नगर्दा पछि पर्यौं « Yalambar Times
१० श्रावण २०८१, बिहीबार

संस्कारलाई सम्मान नगर्दा पछि पर्यौं


यलम्वर टाइम्स
१९ जेष्ठ २०८१, शनिबार ०१:०१

शनिश्चरे । किराँत राई यायोक्खाका जिल्ला अध्यक्ष गणेश राईले हाम्रो मौलिक संस्कारलाई सम्मान नगर्दा पछि परेको बताएका छन् ।

किराँत चाम्लिङ राई खाम्बातिम अर्जुनधाराले आयोजना गरेको उभौली साकेला शुभकामना आदनप्रदान कार्यक्रममा प्रमुख अतिथि राईले आफ्नो मौलिकताभित्र रहेको कला संस्कृति र मुन्दुमलाई बचाइ राख्न सके राई जाति बाँचिराख्ने बताए ।

उनले संस्कारलाई बेवास्ता गरेकै कारण अझै आफूहरु पछि परेका छौं, त्यसैले उभौली पर्वमार्फत धर्म संस्कृति बचाउन सबै राई बन्धुहरु एक हुनुपर्ने बताए ।

शुभकामना आदनप्रदान कार्यक्रममा खाम्बातिमका केन्द्रीय सदस्य दिपीन राईले राईहरुको मुन्दुममा वाबुक र फेटाको छुट्टै विशेषता रहेको जानकारी गराउँदै शुभकामना व्यक्त गरेका थिए ।

खाम्बातिमका जिल्ला सदस्य गौरीमान राईले राईहरुको जनघनत्वको विषयमा आफ्ना विचार राखेका थिए । दुमी समाजका अध्यक्ष भरतसिंह राई, किराँत मुन्दुम अध्ययन केन्द्रका रमेश चाम्लिङ राई, भूपा थुलुङ राई, समर थुलुङ राई, मनकुमारी राई, कुसुम राई लगायतले आ–आफ्ना विचार राखेका थिए ।

खाम्बातिम अर्जुनधाराका अध्यक्ष क्या. शिवकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालन सचिव सिंहबहादुर राईले गरेका थिए । शुभकामना आदनप्रदान पछि किराँती परिकारका प्रसाद ग्रहण कार्यक्रम समेत राखिएको थियो ।