१७ वर्षपछि मिस्टर झापा हुने « Yalambar Times
१९ असार २०८१, मंगलवार

१७ वर्षपछि मिस्टर झापा हुने


यलम्वर टाइम्स
३० जेष्ठ २०८१, बुधबार १२:५०

बिर्तामोड । सिने कलाकार तथा शारीरिक सुगठनका खेलाडी सुवास मेचेले १७ वर्ष अगाडि आफूले प्राप्त गरेको मिस्टर झापाको उपाधी झापाकै अर्का व्यक्तिलाई प्रदान गर्ने बताएका छन् ।

बिर्तामोडमा बुधबार सम्पन्न पत्रकार सम्मेलनमा कलाकार मेचेले झापा जिल्लास्तरीय शारीरिक सुगठन प्रतियोगिता नभइरहेको अवस्थामा उक्त कार्यक्रम आयोजना गरी आफूले प्राप्त गरेको मिस्टर झापा अन्य खेलाडीलाई हस्तान्तरण गर्ने बताए ।

बिर्तामोडको फस्र्ट स्टेप फिटनेशले असोज १९ गते जिल्लास्तरीय प्रतियोगिताको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा बताइएको थियो ।

ठूल्ठूला प्रतियोगिता भए पनि झापा जिल्लास्तरीय नभएको हुँदा उक्त प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताको बिजेताले नगद एक लाख ५१ हजार, दोस्रोले एक लाख एक हजार, तेस्रोले ७६ हजार, चौथो ५१ हजार र पाँचौंले ३६ हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ५५ केजी, ५० केजी, ६५ केजी र ७० केजी माथिका गरी हुनेछ । उक्त प्रतियोगिता आर्कषक र झापा गोल्डकपलाई सम्झाउने खालको हुने आयोजक समितिका सचिव माधवकुमार झाले बताए ।

कार्यक्रममा उपाध्यक्ष दिपेन्द्र चौधरी, सीमा राई, कोषाध्यक्ष रमेश भट्टराई, सचिव माधवकुमार झा, सहसचिव दिलु दाहाल, सदस्यहरु पत्रकार प्रदिप परियार, रमेश तिवारी लगायत रहेको आयोजकले बताएको छ ।