नागरिकहरुका लागि अर्जुनधारा नगरले ल्यायो स्वास्थ्य नीति « Yalambar Times
२२ भाद्र २०८१, शनिबार

नागरिकहरुका लागि अर्जुनधारा नगरले ल्यायो स्वास्थ्य नीति


यलम्वर टाइम्स
२७ असार २०८१, बुधबार ०९:५९

अर्जुनधारा । नगर क्षेत्रका नागरिकहरुमा सहज र सरल रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य सहित अर्जुनधारा नगरपालिकाले स्वास्थ्य नीति ल्याएको छ ।

जेष्ठ नागरिक एवम् विविध कारणबाट स्वास्थ्य सेवा उपलब्ध हुन नसकेको क्षेत्र, समुदाय र बस्तीहरुमा स्वास्थ्य शिविरहरु संचालन गरि स्वास्थ्य जाँच लगायतका सेवा सुविधाहरु, सरकारबाट निःशुल्क उपलब्ध हुने औषधिहरु नगरपालिकाको आवश्यकता अनुसार वर्गीकरण गरी बाह्रै महिना उपलब्ध हुने गरी स्वास्थ्य नीति ल्याइएको हो ।

नगर उपप्रमुख खड्गमाया पराजुलीले नीति वाचन गर्दै नगर अस्पताल तथा स्वास्थ्य चौकीहरुको स्तरोन्नति गरिने योजना रहेको सुनाइन् ।

उनले एक वडा एक चिकित्सकको नीति बमोजिम घुम्ति शिविर मार्फत सबै वडामा चिकित्सकको सेवा, आधारभुत स्वास्थ्य तथा पोषण सम्बन्धि नीति, कानुन, मापदण्ड, योजना तर्जुमा कार्यान्वयन, आधारभूत स्वास्थ्य सेवामा समतामूलक पहुँच कायम गर्न आवश्यक आर्थिक, वित्तीय, भौतिक, मानव संसाधन, सेवा प्रवाह सूचना प्रणाली र गुणस्तरीय सेवा सुनिश्चित गरिने बताइन् ।

स्वास्थ्य प्रतिको आम धारणामा सुधार गरी शारीरिक, मानसिक, सामाजिक, वातावरणीय, संवेगात्मक तथा आत्मिक पक्षको स्वस्थ्यता हासिल गर्न सम्बन्धित सबै क्षेत्रहरू शिक्षा, कृषि, तथा पशु विकास, खानेपानी, सरसफाइ, महिला, बालबालिका, शान्ति सुरक्षा तथा व्यवस्थापकीय सरोकारवालासँग सहकार्य गरी नगरवासीलाई स्वास्थ्य प्रति सम्वेदनशील तथा जिम्मेवार बनाउने, स्वास्थ्य समस्याका रूपमा रहेका संक्रामक रोगहरू, नसर्ने तथा दीर्घ रोगहरू, विपद, दुर्घटना तथा पोषणजन्य समस्याहरूबाट हुन सक्ने स्वास्थ्य संकटको सामना गर्न आवश्यक योजना तथा संयन्त्रको विकास र परिचालन गरिने नगरको स्वास्थ्य नीति रहेको छ ।

त्यस्तै स्वास्थ्य प्रणाली तथा सेवाका लक्ष्यहरू हासिल गर्न सेवा प्रदायक सस्था पदाधिकारी एवम् महिला स्वास्थ्य स्वयं सेविकाहरूको जवाफदेहीता अभिवृद्धि र प्रविधि प्रयोगमा निपुणता ल्याउने, आधारभूत स्वास्थ्य सेवालाई सबै स्वास्थ्य संस्थाहरूमा विस्तार गर्दै स्वास्थ्य सेवा सुधार गर्न संघ, प्रदेश र अन्य निकायहरूसँग प्रभावकारी समन्वय गरिने, स्वास्थ्य सूचना प्रणाली, सर्भिलेन्स, जनस्वास्थ्य निगरानी, फर्माको भिजिलेन्स, उपभोक्ता स्वास्थ्य जस्ता जनस्वास्थ्यका नवीन कार्यक्रमहरु सञ्चालन गरिने, नगरवासीहरुको स्वास्थ्य प्रवर्द्धनका लागि विशेषज्ञ सहितको जनस्वास्थ्य स्क्रिनिङ्ग अभियान, स्वास्थ्य शिविर, सामाजिक सुरक्षा तथा स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

यसरी नै विपन्न तथा लक्षित समूह स्वास्थ्य विमालाई प्राथमिकताका साथ सञ्चालन गरी नियमित रुपमा बचत गर्न आम नगरवासीहरुलाई प्रोत्साहन, बाल स्वास्थ्य, परिवार स्वास्थ्य, रोग निदान नियन्त्रण तथा अत्यावश्यक औषधि उपचारको पहुँचमा जोड दिदै स्वस्थ्य संस्थाहरूमा न्यूनतम सेवा, पूर्ण खोप सुनिश्चितता र दिगोपना, बाल बचाउ, अपाङ्गता न्यूनीकरण, खोप, पोषण तथा विरामी व्यवस्थापन कार्यक्रमहरुलाई एकीकृत रुपमा सञ्चालन, अर्जुनधारा नगर अस्पतालबाट प्रदान गरिने सेवा विस्तार गर्दै अप्रेसन सेवा गुणस्तरीय तथा प्रभावकारी रुपमा सञ्चालन गरिने नीति लिएको पराजुलीले बताइन् ।

स्वास्थ्यका लागि बहुक्षेत्रीय पोषण, मातृ तथा नवशिशु स्वास्थ्य सुधार, ग्रामीण आमा स्वास्थ्य सुरक्षा कार्ययक्रम, परिवार योजना, प्रजनन ग्रुणता कार्यक्रम, रोग नियन्त्रण सेवाहरुलाई सुधार गरिने, शनिश्चरे अस्पतालको स्वास्थ्य सेवालाई बढोत्तरी गर्दै सर्जरी सेवाको सुरुवात, व्यावस्थापन तथा प्रभावकारीताका लागि आवश्यक पर्ने जनशक्ति, औषधिजन्य सामाग्रीहरु तथा आधुनिक प्रबिधिमैत्रि औजार उपकरणको व्यवस्थाका लागि कार्य प्रक्रिया अगाडि बढाइने बताइन् ।

उनले शनिश्चरे अस्पताल नगरको एक मात्र अस्पताल भएकोले सो को भौतिक पूर्वाधार निर्माण, मर्मत तथा रङरोगनका लागि आवश्यक बजेटको व्यावस्थापन गरिने, नागरिक आरोग्य केन्द्र सञ्चालन, योग, ध्यान, आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिई आरोग्यता तथा स्वास्थ्य प्रवर्धनका कृयाकलापहरु सञ्चालन गरिनेछ, पञ्चकर्म, पूर्वकर्म सेवालाई सुदृढिकरण र विस्तार गरिने नगरको नीति रहेको बताइन् ।

यस्तै आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर, समुदायमा आधारित नसर्ने रोग नियन्त्रण कार्यक्रम (मधुमेह र उच्च रक्तचापको जाँच तथा लेखाजोखा) लाई आवश्यक सुधार गरी निरन्तरता, आङ खस्ने रोग लागेका विपन्न महिलाहरुलाई उपचारको लागि शिविर सञ्चालन तथा प्रेषण गरी उपचार सहयोग गर्ने व्यवस्था गरिनेछ ।

यसरी नै आकस्मिक स्वास्थ्य संकट तथा विपद्को सामना गर्ने संयन्त्रको व्यवस्था गरी विपद् सामनाको तयारी, ल्याब नभएका स्वास्थ्य संस्थाहरूमा क्रमश ल्याब स्थापना गर्दै लगिने, पोषण सम्बन्धि कृयाकलापहरु नगर भरी नै गर्भवती तथा सुनौला १००० दिनका आमाहरु लक्षित गरी एकीकृत रूपमा सञ्चालन गरिने, निःशुल्क र सुरक्षित प्रसुति सेवा विस्तार गरी प्रसुति अघि र पछि स्वास्थ्य सेवा लिन प्रोत्साहन गरिनेछ, उपमेयरसँग आमाशिशु कार्यक्रमलाई निरन्तरता दिइनेछ नीति तथा कार्यक्रममा रहेको उपप्रमुख पराजुलीले बताइन् ।