शनिश्चरे आयुर्वेदमा थेरापी सेवाको आकर्षण बढ्दो « Yalambar Times
२३ भाद्र २०८१, आईतवार

शनिश्चरे आयुर्वेदमा थेरापी सेवाको आकर्षण बढ्दो


यलम्वर टाइम्स
३० असार २०८१, शनिबार ०३:५८

अर्जुनधारा । खुट्टा र कम्मर नचलेर घरैमा रुदै कराउँदै बसेका नशा रोगी मानिसहरु शनिश्चरे आयुर्वेद सेवा केन्द्रमा थेरापीबाटै उपचार गरेपछि उज्यालो अनुहार पारेर हिंड्न सक्ने भएका छन् ।

झापा अर्जुनधारा–७ निवासी रामचन्द्र साह मात्र होइन, कविराज सकलदेव चौधरी पनि थेरापीबाट राम्रो उपचार पुगेको बताएका छन् । रामचन्द्र पेशाले व्यापारी हुन् ।

व्यापारबाटै छोराछोरी हुर्काए, विवाह दान गरे तर, कम्मर र खुट्टा एक्कासी नचलेपछि केही गर्न सकेनन् । धेरै ठाउँमा उपचार गर्न पुगे तर, बिसको उन्नाइस नभएपछि हार खाएर घरैमा मन मारेर बसेका थिए । यत्तिकैमा आयुर्वेद औषधालयमा थेरापी सेवा छ भनेपछि कसैको सहारामा त्यहाँ पुगेर दिनहुँ थेरापी गरेपछि निको भएको सुनाए ।

थेरापिष्ट सहायक धिरज राईले करिब एक महिना सेवा गरेपछि रामचन्द्रको अनुहार उज्यालो मात्र भएन अब अझै व्यापार गर्न सक्ने आँट आएको बताए । रामचन्द्र जस्तै आयुर्वेद सेवाबाट रिटायर्ड भएका वरिष्ठ कविराज सकलदेव चौधरी पनि थेरापी गराइरहेका छन् । नशाका कारण घरैमा बसिरहेका चौधरी हिजोआज बिरामी सेवामा फर्केका छन् ।

‘नशा च्यापिएका, हड्डी खिएका, शरीरका केही अंग चल्न छाडेका जस्ता बिरामीहरुलाई थेरापीले निको हुन सहयोग गर्छ’ औषधालयका प्रमुख अनिलकुमार ठाकुरले भने, ‘छिटो निको हुन एलोपेथिक औषधी सेवन गर्दा अझ खराब भएका रोगीहरु पछिल्लो पटक शनिश्चरे आयुर्वेदमा थेरापी गरेर नयाँ जीवन प्राप्त गरेको हामीले महशुस गरेका छौं ।’

अर्जुनधाराका प्रथम नगर प्रमुख हरिकुमार रानाको पहलमा थेरापी सुरु भएको थियो । यसलाई वर्तमान नगर प्रमुख बलदेवसिंह गोम्देनले पनि अझ बढाएर लान योगदान दिएको हुनाले हाल अर्जुनधाराका जनतामात्र होइन इलामको माई, झापाको बुद्धशान्ति, मेचीनगर, बिर्तामोड र कनकाईसम्मका बिरामीहरु थेरापीमा आउने गरेका छन् ।

थेरापीका लागि आएका महिला सेवाग्राहीका लागि एक जना र पुरुषका लागि २ जना कर्मचारीहरु रहेका छन् । यसरी थेरापीमा विश्वास बढेपछि हाल अर्जुनधारा–२ को खुदुनाबारी र अर्जुनधारा–११ को सालबारीमा थप सेवा विस्तार गरिएको छ ।

थेरापीसँगै शनिश्चरे आयुर्वेद औषधालयबाट पिनास रोगी, माईग्रेनका बिरामीहरुको उपचार हुँदै आएको छ भने सिरोधारा जस्ता सेवाहरु प्रदान हुँदै आएको थेरापिष्ट धिरज राईले बताए ।

औषधालयको थेरापी सेवा प्रभावकारी बन्दै जाँदा अहिले दैनिक १० देखि १५ सेवाग्राहीले सेवा लिदै आएका छन् । ‘बिहानदेखि बेलुकासम्म सेवा दिँदा कहिलेकाही आफै बिसन्चो हुनेसम्म भइन्छ’ राईले भने, ‘सेवाग्राहीहरुलाई सकेसम्म सहज रुपमा सेवा दिन खोजेका छौं ।’

थेरापीका लागि महिलाभन्दा पुरुषहरु बढी आउने गरेको औषधालयका प्रमुख ठाकुरले यलम्वर टाइम्सलाई बताए । उनका अनुसार ५० वर्षदेखि ८० वर्षसम्मका सेवाग्राहीहरुले सेवा लिँदै आएका छन् । बढी जसो थेरापीमा महानारायण तेल प्रयोग गर्नुपर्ने हुन्छ र वाफ लिनका लागि घरगाउँले जडिबुटी प्रयोग गर्ने गरेको ठाकुरले बताए ।

आजभन्दा ५० वर्ष अगाडि स्थापना भएको शनिश्चरे आयुर्वेद औषधालयमा बजेट र जनशक्तिको अभाव भएको पनि प्रमुख ठाकुरले जानकारी दिए । थेरापी सेवाको प्रभावले होला खेलाडी तथा अन्य हाँस्य कलाकारहरु पनि आउने गरेको सेवादाता दुर्गाबहादुर खत्रीले बताए ।

आयुर्वेदिक सेवामा पूर्वकै नमूना बनाउन सकिने थुप्रै माध्यम छ । प्रदेश र संघीय सरकारले सहयोग गरे शनिश्चरे आयुर्वेद नमूना हुन सक्ने स्थानीयहरु बताउँछन् । थेरापी सेवा सञ्चालनमा आएपछि यो वर्षमात्र ९ हजार बढीले आयुर्वेदिक र थेरापी सेवा लिएका छन् । बढी जसो नशा रोगी, प्यारालाइसिसका बिरामीहरुको चाप रहेको देख्न सकिन्छ ।