सरकार कोदोको महत्व बुझ « Yalambar Times
२३ भाद्र २०८१, आईतवार

सरकार कोदोको महत्व बुझ


यलम्वर टाइम्स
१ श्रावण २०८१, मंगलवार ११:३७

रैथाने बालीको संरक्षण गर्नुपर्छ भन्ने बहस चलाइरहँदा रैथाने बालीभित्र पर्ने कोदोको चर्चा हिजोआज चल्न थालेको छ । कोदो आफैमा घरेलु औषधी भएको जानिफकारहरुले भन्दै आएको पाइन्छ । ग्याष्ट्रिकदेखि क्यान्सर रोगीका लागि कोदोको खोले अति उत्तम भएको भनाइ छ । आन्द्रामा घाउ, फोक्सो र कलेजो समस्या भएकालाई पनि कोदोको खोले वा रोटी उपयुक्त भएको भनाइ छ । वैज्ञानिक सत्यता के छ ? थाहा छैन तर बिरामीहरुलाई हिजोआज डाक्टरहरुले पनि कोदोको खोले बनाएर खानु भन्ने गरेका छन् ।

इतिहासमा नेपालीजनको मौलिक भोजन कोदोलाई लिने गरेको देखिन्छ । पहाड तथा डाँडापाखामा कोदो प्रशस्त लगाइने गरेको पाइन्थ्यो । पाखा खेतमा कोदो पाक्दा दशैं र तिहारको सम्झना आउथ्यो । पहाड विकसित नहुँदा नेपालीजनले कोदोलाई खुब सेवन गरेको पूर्वजहरुले बताउनुहुन्छ । बिस्तारै पहाड विकसित हुँदै जाँदा तराईका धानहरु पहाड तिर लान थालियो । समाज विकसतर्फ लाग्दै गर्दा हामी कोदोलाई बिर्सिएर सेतो धानका चामल मन पराउन थाल्यौं । फलस्वरुप कोदो रोप्ने, फलाउने र सेवन गर्ने कामलाई बिर्सदै गयौं । यो क्रम बढ्दै जाँदा कोदो लोप हुनपुग्यो ।

आज कोदोको परिकार बनाएर विदेशीले हाम्रो देशमा पठाउन थाल्यो । हामी त्यो परिकार खान तछाड मछाड गर्दैछौं । ठूलाठूला होटलमा छाकको रु ५ सय तिरेर कोदोको ढिडो खान परिवार लिएर हुलका हुल जान्छौं । बिरामीले रन्थनिएको हाम्रो समाजमा डाक्टरहरुले पनि कोदोको परिकार खानु भनेर सिफारिस गरिदिएपछि पसलबाट कोदोको पीठो किनेर सेवन गर्छौं । तर हामी कोदो उत्पादनमा त्यति ध्यान दिएका छैनौं । एक तथ्याङ्क अनुसार नेपालले करोडौं रुपैयाँ विदेशीलाई पठाएर भारत, बंगलादेशका कोदो खरीद गरेको देखिन्छ । तर, हाम्रो सरकारले पहाडको डाँडापाखामा कोदो लगाउनुपर्छ भन्ने ठोस नीति ल्याउन सकेको छैन । भौतिक पूर्वाधारमा बढी बजेट छुट्याएर अगाडि बढेको संघीय, प्रदेश र स्थानीय सरकारलाई कोदोको महत्व थाहा भएर पनि ध्यान केन्द्रीत नहुनु, बजेट नछुट्याउनुले हामी र हाम्रो स्वास्थ्यको लागि आवश्यक खाद्य पदार्थमा ध्यान नपुग्दा समाजको अवस्था कस्तो हुँदै जान्छ होला ? प्रश्न सरकारलाई नै छ । होइन भने कोदोको महत्वलाई प्राथमिकतामा राख्न जरुरी छ ।