ग्रामिण क्षेत्रबाट सम्मान छ है ! « Yalambar Times
२३ भाद्र २०८१, आईतवार

ग्रामिण क्षेत्रबाट सम्मान छ है !


यलम्वर टाइम्स
५ श्रावण २०८१, शनिबार ०४:३१

आदरणीय सुवेच्छुक, आजबाट समावेशी समूहले सञ्चालन गरेको यलम्वर टाइम्स अखबार १६ वर्ष पुरा भएर १७ वर्षमा प्रवेश गरेको छ । शहर छाडेर गाउँ प्रवेश गरेसँगै ग्रामिण पत्रकारिता गरिरहँदा गाउँका सचेत पाठकहरुको अमूल्य सहयोग सधै उच्च रह्यो । १० वर्षअघि झापाको व्यापारीक केन्द्र बिर्तामोडलाई चटक्कै छाडेर शनिश्चरे अर्जुनधारा क्षेत्रमा कार्यालय स्थापना गरी अखबार चलाउँदा कतै उतै फर्केर जानुपर्छ कि भन्ने त्रास थियो । तर नगरपालिका हुनै लाग्दा शनिश्चरे, अर्जुनधारा र खुदुनाबारीका अग्रजहरुले हाम्रो क्षेत्रमा मिडिया हाउस आवश्यक छ भनेर घचघच्याउनु हुने स्व. मोहन काफ्ले, आदरणीय लक्ष्मी इङ्नाम, हरिकुमार राना, प्रेमसागर सापकोटा, स्व. नवल फाइवाली, स्व. पुष्पलाल निरौला, स्व. केशवकुमार बुढाथोकी, स्व शिवप्रसाद दाहाल, स्व. मोहन जोशी, र प्रशासक रुद्रप्रसाद न्यौपाने लगायतको सहयोग र आह्वानमा यलम्वर टाइम्स अर्जुनधारा प्रवेश गर्यो ।

सुरुवाती दिनमा कोठा नपाउँदा पूर्व गाविस अध्यक्ष मित्रसेन भट्टराईको घरमा कार्यालय ८–९ महिना रह्यो । त्यसपछि कोठा खोज्दै जाँदा त्यसबेला केशवकुमार बुढाथोकीले भाई प्रकाश बुढाथोकीको बजारको घरमा सानो कोठामै बसेर प्रकाशन सञ्चालन गर्नु भनेपछि करिब ४ वर्ष शनिश्चरे बजारबाट पत्रिका प्रकाशन भयो । सबैको अथाह स्नेहताले पत्रिकाले स्थान पाउँदै फराकिलो आकार लियो । यतिभन्दै गर्दा शनिअर्जुन नगरपालिका हुँदा राजनैतिक दलहरुले नै पत्रिकाको टेलिफोन, बत्ती, पानीका लागि मासिक रु ५ हजार दिनुपर्छ भनेर तत्कालिन प्रशासकीय प्रमुख रुद्रप्रसाद न्यौपानेलाई सर्वदलीय आग्रह गरेपछि नगरपालिकाको लोककल्याणकारी सन्देश छाप्ने शर्तमा सहयोग जुट्यो । त्यसले प्रकाशनलाई थप मद्दत पुग्यो । यस्तै यस्तै संघसंस्था पनि माया गर्न थाल्नु भयो । नगर क्षेत्रमा बसेर जिल्लामा रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरुको पनि साथ रह्यो । त्यही साथले नै आज १७ वर्ष प्रवेश गरेको सन्देश दिन हामी पछि परेनौं ।

ग्रामिण क्षेत्रमा आएर पत्रकारिता गर्दै गर्दा बितेर गएका धेरै सहयोगी अभिभावकहरुलाई यो बेला सम्झन चाहन्छौं । स्व. मोहन काफ्ले, शिवप्रसाद दाहाल, नवल फाइवाली, मोहन जोशी, पुष्पलाल निरौला, केशवकुमार बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं । ग्रामिण क्षेत्र भन्न सजिलो छ तर, यहाँ आएर पत्रिका प्रकाशन गर्दै घरघरमा पुर्याउन अनि अर्थ संकलन गरेर कागज किन्नु, प्रेसमा छपाएर बजार पुर्याउनु अझ कठिनको विषय थियो र छ । त्यस्तो बेलामा यलम्वर टाइम्सका मुख्य पात्र सहसम्पादक राजन साम्पाङको योगदान इतिहासमा प्रकाशनले भुल्न सक्दैन । प्रकाशनमै रहेर काम गर्नुहुने लीला राई, पुरुषोत्तम पौडल, नरेश खाती, भिम बराल, सन्तोष अधिकारी बाहिरबाट सहयोग गर्नुहुने पदम कन्दङ्वा, प्रयास लिम्बू, सेलिङ केसी, सन्देश सुब्बा, सन्तोष शर्मा, राम योङहाङ वितरणमा सहयोग गर्नुहुने दीपसन, दीपज्वल, मोहन, तान्छोप्पा र भीमप्रति प्रकाशन आभार प्रकट गर्दछ ।

कोरोना कहरले संसारलाई छोपेपछि त्यसको छिटा अखबारहरुमा पनि पर्न गयो । सञ्चालनमा आएका धेरै रेडियो, टीभी, अखबारहरु हराउँदै गए । तथ्याङ्क अनुसार ५० प्रतिशत प्रकाशन प्रशारण हुँदै आएका सञ्चार माध्यमहरु बन्द भए । त्यसको असर समावेशी प्रकाशनको यलम्र टाइम्सलाई पनि पर्यो । ठूलो साइजमा ८ पेज थियो । त्यही आकारमा पत्रिका सञ्चालन गर्न नसक्दा सानो आकारबाट भए पनि प्रकाशनलाई निरन्तरता दिन पुग्यो । कतिपय कर्मचारीको तलब पनि दिन सकेनौं । तथापी सधै यस्तै नहोला भन्दै अगाडि बढ्यौं । अब १७ वर्ष प्रवेशसँगै आशाको दीयो पलाएको छ । प्रकाशनले ग्रामिण भेगमा बसेर सबै क्षेत्रलाई सम्मान गर्ने सकरात्मक सन्देश दिने, बिग्रेकालाई सम्झाउने, बिगारेकालाई पनि बनाऔं भन्ने प्रयासमा लाग्नेछ । अर्जुनधारामा रहेका सहकारी, सामाजिक संघसंस्था, विद्यालय, वन, वृद्ध, असक्त अपा·हरुको सारथी बनेर अगाडि बढ्ने प्रयास गर्नेछौं । हाम्रो प्रयासले समृद्ध नगर र वडा बन्नमा मद्दत पुग्नेछ भन्नेमा छौं । यही तरिकाले अगाडि बढ्दा अखबार ग्रामिण जनताको सारथी हुनेछ भन्नेमा छौं । त्यसैले सबै विज्ञापन दाता, पाठक र शुभचिन्तकहरु प्रति आभार प्रकट गर्दै १७ वर्ष प्रवेशको शुभकामना व्यक्त गर्दछौं ।