सम्मानजनक तरिकाबाट अगाडि बढ्छौंः उम्मेद्वार पन्धाक « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

सम्मानजनक तरिकाबाट अगाडि बढ्छौंः उम्मेद्वार पन्धाक


यलम्वर टाइम्स
२८ जेष्ठ २०७४, आईतवार ०९:१६

meena auntyअर्जुनधारा / पहिचान र संघीयता स्थापना गर्न जनमुक्तिले खेलेको भूमिकाप्रति आम जनताले महशुश गर्दै सम्मानजनक मत प्रदान गर्ने प्रेरणा मिलेको बताएकी छिन् ।

अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बनी घरदैलो कार्यक्रम गर्दै हिंड्दा पार्टीका उपाध्यक्ष समेत भएका पन्धाकले पहिलो चरणमा भएको स्थानीय निर्वाचनमा पार्टीले केही स्थान हात पारेको र १० भन्दा बढीमा दोस्रो भई पराजय महशुस गर्नु परेको बताउँदै पहिलाको आँकडामा यो पटक जनताले सम्मानजनक मत दिँदै आएको बताएकी छिन् ।

लोकतन्त्रमा पनि जनता अझै रैती जस्तो भएर ठूला दलका भरिया हुनु परेको देख्दा दुःख लागेर आएको बताउँदै ठूला दलमा देखिएको उम्मेद्वारी चयनले महिलालाई अपमान गरेको बताइन् । आदिवासी, जनजाति, दलित र मधेश, अल्पसंख्यकका लागि केन्द्रमा होस् या स्थानीयमा उतिकै समान स्थान दिनुपर्नेमा ठूला दल अधिकार दिने कार्यमा कञ्जुस्याँई गरेको बताइन् ।

उनले वडा नं. १ मा आफ्नो मत माग्ने क्रममा नगरको दुःख, कष्ट, विरिङ र टाङटिङ नदीको कटानले दिएको पीडाको साथै खानेपानी, विद्युत्बाट बञ्चित भएकाहरुलाई आफू विजय प्राप्त गरेपछि सहजता अपनाउने बताइन् । उनले किरातीहरुका लागि मुन्धुमी पाठशाला, बेरोजगारहरुलाई स्वदेशमै रोजगारको अवसर, टोल–टोलमा स्वास्थ्य सेवा, विद्यालयमा समावेशी शिक्षा नीति, सबै मठमन्दिरलाई पवित्र स्थल र सम्पन्न स्मार्ट वडा बनाउन पछि नहट्ने बताइन् ।

उनीसँगै उपमेयरका उम्मेद्वार शिव आचार्यले पनि विजय प्राप्त भए मेयरका उम्मेद्वार पन्धाकले राखेको कार्यलाई जोडदारका साथ अगाडि बढाउने बताए । केही दिनपछि जनमुक्ति घरदैलो कार्यक्रम अन्तर्गत आन्तरिक छलफलमा जाने नगर अध्यक्ष दिलीप राईले बताए । राईका अनुसार वडा नं. ८ मा तिलसिंह माङ्मु र वडा नं. ७ मा दुर्गाबहादुर कटुवाल घरदैलो अभियानमा जुटेको बताएका छन् ।

यसरी नै भद्रपुरमा मेयरका उम्मेद्वार गोपाल चौधरी घरदैलो अभियानमा जुटेका छन् भने कमल गाउँपालिका, कनकाई, दमक लगायत नगरपालिकामा पनि घरदैलो कार्यक्रम चलाइएको जिल्ला अध्यक्ष पर्शुराम मगरले बताए ।