लिम्बूवानमा जनमुक्तिको चुनाव चिन्ह ‘घर’ साझा बन्यो « Yalambar Times
२३ भाद्र २०८१, आईतवार

लिम्बूवानमा जनमुक्तिको चुनाव चिन्ह ‘घर’ साझा बन्यो


यलम्वर टाइम्स
३१ जेष्ठ २०७४, बुधबार ०८:२२

Gharअर्जुनधारा / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बूवान) कुमार लिङ्देन पक्षले राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह ‘घर’ लिएर स्थानीय निर्वाचनमा भिड्ने भएको छ ।

निर्वाचनलाई पटक–पटक बहिष्कार गर्दै आएको मञ्चले यो पटक स्थानीय निर्वाचनलाई आफ्नो पक्षमा पार्न संघीय पक्षधरको आवाज उठाउने पहिलो दलको रुपमा रहेको जनमुक्ति पार्टीको ‘घर’लाई अगाडि सारेर लिम्बूवान क्षेत्रका संगठित भएको स्थानमा जनमुक्तिसँग मिलेर स्थानीय चुनावमा उम्मेद्वारी दिने निश्चय भएको बताएका छन् । राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय कार्यालय धोविघाटमा मञ्च सम्बद्र्ध अध्यक्ष लिङ्देन लगायत पदाधिकारी र जनमुक्ति पार्टी अध्यक्ष पालुङ्वा लगायत बीच भएको सहमतिमा चुनाव लड्ने निधो भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मञ्च सम्बद्र्ध र जनमुक्ति पार्टी बीच चुनावमा जाने उल्लेख छ । चुनाव लड्दा दुवै पार्टीले आ–आफ्ना पार्टीको पहिचान खुल्ने गरी साझा चुनाव चिन्ह हुनुपर्ने र उम्मेद्वारी दिँदा तालमेल गरी कानुन बमोजिम महिला, पुरुष मिलाउनु पर्ने उल्लेख छ ।

यसरी सहमति भएपछि मञ्च सम्बद्र्ध अध्यक्ष कुमार लिङ्देनलाई सम्पर्क गर्दा पहिचान पक्षधर भएको पार्टी जनमुक्ति र संघीयताको आवाज उठाउने दल भएकोले यस पार्टीको ‘घर’ चिन्ह उचित हुन्छ भनी पूर्व क्षेत्रमा हाम्रो पार्टी ‘घर’ चिन्हलाई शिरोधार्य गर्दै चुनावमा गएको बताए । यसै विषयलाई लिएर जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीलाई प्रश्न राख्दा पहिचानको मुद्दालाई अंगालेर चुनावमा भिड्ने अठोट मञ्चले गरेको हुँदा उहाँहरुलाई उचित स्थानको लागि हाम्रो पार्टीको चुनाव चिन्ह ‘घर’ प्रयोग गर्न दिएको बताए ।

दुवै पार्टीको सहमतिमा झापा, मोरङ्ग, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, र दाङमा स्थानीय चुनाव लड्दै गरेको दुवै पार्टीले जनाएको छ । ताप्लेजुङ, पाँचथरमा पनि मेयर, उपमेयरमा उम्मेद्वारी दिएका छन् । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा जनमुक्तिबाट अध्यक्ष पदका लागि मोतीबहादुर तुम्बाफो र उपाध्यक्षमा सुमित्रा लिम्बू उम्मेद्वार उठेका छन् भने अन्य वडा अध्यक्षमा मञ्च सम्बद्र्धलाई मिलाइएको छ । यसरी नै मिक्वा खोला गाउँपालिकामा लिम्बूवानबाट अध्यक्ष राजु सावाँ, जनमुक्तिबाट उपाध्यक्ष आशा सावाँ रहेका छन् । मिरिङदेन गाउँपालिकामा जनमुक्तिबाट अध्यक्ष जमानसिंह मियाङ र अन्य मञ्च सम्बद्र्धलाई उठाइएको छ । मेवा खोला गाउँपालिकामा जनमुक्तिबाट अध्यक्षमा यामकुमार आङबुहाङलाई उठाइएको छ भने अन्य मञ्च सम्बद्र्ध लिम्बूवानलाई दिइएको छ ।

ताप्लेजुङ फुङलिङ नगरपालिकाको लागि संयुक्त रुपमा संघीय पक्षधर जनमुक्ति, लिम्बूवान, नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर चुनावमा भिडेको बताइएको छ । मेयर पदमा मञ्च सम्बद्र्धका कृतिमान मादेन छन् भने उपमेयर पदमा नयाँ शक्तिबाट कृष्णबहादुर शंकर रहेको जनमुक्ति पार्टीका केन्द्रीय सदस्य प्रकाश येङ्देनले जानकारी दिए ।

यसरी नै बहुजन समाज पार्टी, मूलवासी मुक्ति मोर्चा र नेपाल दलित पार्टीले पनि राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह घर लिएर आ–आफ्नो ठाउँमा उम्मेद्वारी दिएका छन् । यी दलहरुले जनमुक्ति पार्टीसँग सहकार्य गर्दै उम्मेद्वारी दिएको हो । चुनाव पछाडि यी तीन दल राष्ट्रिय जनमुक्ति पार्टीमा समाहित हुने बताएका छन् । यी पार्टीहरुले सप्तरी, सिराह, धुनषा, महोत्तरी, रौतहट, नवलपरासी, बर्दिया र गुलेरिया सबै नगरपालिका र गाउँपालिकामा उठ्दै गरेको बहुजन पार्टी समाजका अध्यक्ष गंगाप्रसाद महराले बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीले उठाउँदै आएको नीति र सिद्धान्त नेपाली जनताका लागि बहुउपयोगी भएको हुँदा यस पार्टीमा चाँडै समाहित भएर अगाडि बढ्ने अध्यक्ष महराले प्रतिक्रिया दिए ।