जनमुक्तिको समिक्षा बैठक साउन २२ लिम्बूवान बन्द « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

जनमुक्तिको समिक्षा बैठक साउन २२ लिम्बूवान बन्द


यलम्वर टाइम्स
१५ श्रावण २०७४, आईतवार ०९:१८

अर्जुनधारा / लोकतन्त्रलाई अंगाल्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले असार १४ मा भएको स्थानीय तहको निर्वाचनलाई समिक्षा गर्दै आउने दिनमा पार्टीलाई अझ दरबिलो बनाएर लानुपर्नेमा जोड दिएका छन् ।

सामुदायिक भवनमा भएको समिक्षा बैठकमा पार्टीका अगुवाहरुले मत कम प्राप्त भयो भन्दैमा निराश हुन नहुने बताउँदै पार्टीले उठाएको मुद्दा जनतामाझ लिएर जानु पर्नेमा जोड दिए । मेयर पदका प्रत्यासी उम्मेद्वार तथा पार्टीका केन्द्रीय उपाध्यक्ष मीना पन्धाकले पार्टीले बोकेको आवाज र नेपाली मुक्तिका बाटाहरु देखाउन अझै नसकिएको बताए । समिक्षा कार्यक्रममा लिम्बूवान राज्य परिषदका सचिव कृष्णकुमार थेवेले संगठन विस्तारमा नयाँ रणनीति अगाडि बढाउनु पर्ने, १ नं. प्रदेश ब्यूरोको निर्देशन अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने बताए । समिक्षात्मक कार्यक्रममा साउन २२ गते पार्टी केन्द्रीय समितिको निर्णय अनुसार लिम्बूवान क्षेत्र बन्द कार्यक्रमलाई जोड दिनुपर्ने आवाज उठाएका थिए ।

राज्य एकीकरण गर्ने बहानामा त्यसबेलाका शासकले वि.सं. १८३१ साउन २२ गते लिम्बूवानको लालमोहर खोसेको भन्दै त्यस दिनलाई कालो दिन मान्दै बन्दको आव्हान समेत गरेका छन् ।

नगर अध्यक्ष दिलीप राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला इन्चार्ज भवानी सेलिङ, जिल्ला अध्यक्ष पर्शुराम मगर, शान्तिदेवी राई, नरबहादुर इङ्नाम, दुर्गाबहादुर कटवाल, बुद्धिबहादुर राई, पदम कन्दङ्वा, रिना मगर, गोपाल चौधरी, भरतसिंह राई, रत्न खजुम, तिलसिंह माङ्मु, ख्याम मोराहाङ, झलक याम्फू लगायतले आ–आफ्नो विचार राखेको सचिव भूपाल रानाले बताए ।