स्थानीयवासीहरुको गुनासो चुरेको ढुंगा निकासीमा कसको हात ? « Yalambar Times
२३ भाद्र २०८१, आईतवार

स्थानीयवासीहरुको गुनासो चुरेको ढुंगा निकासीमा कसको हात ?


यलम्वर टाइम्स
१० भाद्र २०७४, शनिबार ०४:०७

अर्जुनधारा ।

झापाको अर्जुनधारा–२ स्थित बेल्टार गाँजाबारीमा पर्ने टाङटिङ खोलाको झोलुङ्गे पुल आसपासमा अवैधानिक रुपमा चुरे छेउका ढुङ्गा निकासी गरिएको छ । यता कनकाई नगरपालिका–१ प्रजापति नाकाबाट समेत दैनिक ट्याक्टरले अवैध रुपमा विरीङ खोलाको गिटी बालुवा निकासी गरिरहेका पनि छन् ।

मौका छोपी ढुङ्गा–बालुवा उत्खनन् गर्ने तस्करहरुले रातारात निकासी गरिरहेको स्थानीयबासीले बताएका छन् । तस्करहरुलाई पक्षपोषण स्थानीय सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी निरीक्षक सोम श्रेष्ठले गरिरहेको आरोप छ । सशस्त्र प्रहरीले नियम विपरीत हिंड्नेहरुलाई संरक्षण गरेको समेत स्थानीयबासीहरुको भनाई छ ।

सशस्त्र प्रहरी बलको भौतिक संरचना लगायत अनेकौं बहाना देखाउँदै निरीक्षक श्रेष्ठले मोटो रकम असुल्ने गरेको नाम नछाप्ने शर्तमा एक स्थानीयवासीले बताए । स्थानीय खोला किनारमा तटबन्धन गर्ने नाममा लाखौं मूल्य बराबरको ढुङ्गा तस्करी भइरहेको श्रोतको दाबी छ । टाङटिङ खोलाको झोलुङ्गे पुल दक्षिण भागबाट ढुङ्गाको तस्करी हुने गरेको छ । अहिलेसम्म सो क्षेत्रमा ५ सय ट्याक्टरभन्दा बढी ढुङ्गा, बालुवा उत्खनन भइसकेको स्थानीयबासीले बताएका छन् ।

सो ठाउँबाट उत्खनन् गरेको ढुङ्गा, बालुवा स्थानीय निर्माण सामग्रीसहित तस्करहरुले स्थानीय सडकको आसपासमा भण्डारन गरेर राखेको पाइएको छ । सशस्त्र प्रहरी बल अर्जुनधारा–३ का प्रहरी निरीक्षक श्रेष्ठले ढुङ्गा, बालुवा तस्करी भइरहेको क्षेत्रमा आफू पुग्दा तस्करहरु फरार हुने गरेको बताए । उनले आफू कसैसँग सहयोगभन्दै रकम नलिएको पनि बताए ।

बलुवा, ढुङ्गा उत्खनन् गर्ने नगर, गाउँपालिकाले जिल्ला समन्वय समितिसँग अनुमति लिनुपर्ने समन्वय समितिका झापा सभापति सोम पोर्तेलले बताए । सभापति पोर्तेलले अवैधानिक रुपमा उत्खनन् गर्ने गरेको पाइएमा कानूनी तहबाट कारवाही हुने बताए ।

अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले अहिलेको बाढीपहिरो विपत्तिमा तत्काल अवरोध रहेको सडकको मर्मत सम्भार, खोला किनारको तटबन्धन गर्न ढुङ्गा, बालुवा आवश्यक पर्दा नगरले व्यवस्थापन गर्नुपर्ने अवस्था आएको बताए । कानूनले रोक लगाएको हुनाले जथाभावी खोलाको ढुङ्गा, बालुबा उत्खनन् गर्ने छुट कसैलाई नभएको मेयर रानाले बताए ।

अर्जुनधारा–२ का वडाअध्यक्ष रघुनाथ खनालले ढुङ्गा, बालुवा तस्करी रोक्नका लागि सम्बन्धित ठाउँमा भने पनि कुनै जवाफ नपाएको बताए । दुई सता यता तस्करी भइरहेको स्थान चारैतिर खुला नाका छ । ढुङ्गा तस्करहरु स्थानीय भएकाले पनि रातारात तस्कर खोलामा रम्ने गरेको स्थानीयबासी बताउँछन् । टाङटिङमा मात्र होइन बिरिङ खोलाबाट पनि रातारात अवैधानिक तरिकाबाट बालुवा र बगाई ल्याएको ढुंगा निकाल्ने काम भएको स्रोतले बताएको छ । यसरी पक्राउ परेका ट्याक्टरलाई कारवाही सहित प्रतिट्याक्टर १ हजार ५ सय लिने गरेका छन् । स्रोत उल्लेख गर्छ –‘यसरी अवैधानिक तरिकाबाट निकासी गर्ने ट्याक्टरका समूहले प्रहरीलाई केही नजराना दिएर थम्थमाउने गरेको छ ।’

उता टाङटिङको चुरे क्षेत्रबाट चुरे उत्खनन् गर्दै खुदुनाबारीको पश्चिम जुकेखाडी, दहिझोडा हुँदै शरणामतिको बाटोबाट भारततर्फ लाने गरेको स्रोतले जनाएको छ । यस विषयमा सशस्त्र प्रहरी बलका प्रमुख सोम श्रेष्ठसँग सम्पर्क गर्दा यस क्षेत्रबाट अहिले ढुंगा निकासी कार्य कडाईका साथ रोकिएको बताए ।

नेपाल सरकारले २०७४ असार १ गतेदेखि नदीजन्य बस्तु उत्खनन् गर्न पूर्ण बन्देज लगाएको छ । तर पनि स्थानीय खोलाको तटबन्धन गर्ने बहानामा तस्करहरुले रातारात तस्करी गरिरहेका छन् । रातारात धनी हुन खोज्ने तस्करहरुको भीड अहिले टाङ्टिङ खोलातर्फ आकर्षित भएको छ । सो क्षेत्रमा ढुङ्गा, बालुबा उत्खनन कार्य बन्द नभए सयौं बिगाह जमिन सहित ५० घरपरिवारलाई जोखिम पुग्ने देखिन्छ ।