दुई उम्मेद्वार मत माग्न व्यस्त, थापा गाउँमा, खरेल शहरमा « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

दुई उम्मेद्वार मत माग्न व्यस्त, थापा गाउँमा, खरेल शहरमा


यलम्वर टाइम्स
२६ कार्तिक २०७४, आईतवार ०४:४१

अर्जुनधारा । झापा क्षेत्र नं. २ को प्रतिनिधि सभाका लागि कडा प्रतिस्पर्धाको रुपमा उभिएका वाम गठबन्धनका उम्मेद्वार पवित्रा खरेल र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार उद्धव थापा यो बेला मतदाताहरुको घर आँगनमा आफूलाई मत जाहेर गर्न पुगिरहेका छन् ।

वाम गठबन्धनका पवित्रा खरेल मत माग्न शहरबाट सुरु गरेकी छिन् भने लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार उद्धव थापा आफ्नो गाउँ र टोलबाट मत माग्न सुरु गरेका छन् ।

दुवै आ–आफ्नो पक्षका गतिला उम्मेद्वारका रुपमा परिचित छन् । खरेलको उम्मेद्वारी महिलाहरुको लागि उत्साहजनक देखिन्छ भने थापाको उम्मेद्वारी विकास प्रेमी र गाउँका उम्मेद्वार भएको भन्ने अर्को उत्साह त्यतिकै देखिन्छ ।

अंक गणितको हिसाबले वाम गठबन्धन बलियो आधार बनेको छ तर, गठबन्धनभित्र चुहिने मत प्रशस्त भएको हुँदा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार थापा त्यसलाई प्रयोग गरेर अगाडि बढ्ने दाउमा देखिन्छन् ।

वाम गठबन्धनमा विशेष गरी झापामा राप्रपा नेपाल मिसिएको छ । क्षेत्र नं. २ मा उसको ५५३२ मत रहेको स्थानीय निर्वाचनको आंकडाले देखाएको छ । तर राप्रपा नेपाल केन्द्रमा भने लोकतान्त्रिक गठबन्धनसँग मिसिएर चुनावमा आएका छन् ।

त्यसैको आधारलाई टेकेर राप्रापा नेपालका अध्यक्ष कमल थापा आफ्नो विजय सुनिश्चित छ भनेर हिंडिरहेका छन् । त्यसैले झापा क्षेत्र नं. २ नेपाली कांग्रेसका उम्मेद्वार थापा र एमालेकी महिला नेतृ पवित्रा खरेलको प्रतिस्पर्धा रोचक र चाख लाग्दो बन्दै आएको छ ।

त्यस मध्ये झापा क्षेत्र नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टीको २००० भन्दा बढी मत देखिन्छ भने ससफोको ५०० भन्दा बढी, मंगोल नेशनल अर्गनाइजेशनको ५०० बढी, मञ्च सम्बद्र्ध लिम्बूवानले पनि १००० भन्दा बढी दाबी गरेको छ । मालेको १००० भन्दा बढी, नयाँ शक्तिको १००० भन्दा बढी, नेपाल जनता पार्टीले ४०० भन्दा बढी, जनगणतान्त्रिक १००० भन्दा बढी र राप्रपा प्रजातान्त्रिकको ५०० बढी मत रहेको सम्बन्धित दलले दाबी गरेका छन् ।

यता विवेकशिल पार्टीको पनि ४०० भन्दा बढी मत खस्ने दाबी गर्छन् । यी साना राजनीतिक दलहरुसँग जसले बढी सहकार्य गर्न सक्छ त्यसको सुनिश्चितता हुने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

स्थानीय निर्वाचनको नतिजामा नेपाली कांग्रेसको २२,८९० मत देखिन्छ भने एमालेको २६,९८८, माओवादी केन्द्रको ७,९०० रहेको छ । उता साना दलहरुको ८,३०० भन्दा बढी मत रहेको दाबी गर्छन् । यसर्थ निर्वाचन हुन अब २७ दिन बाँकी छ ।

त्यस समयसम्म उम्मेद्वारको प्रतिवद्धता आउन पनि बाँकी छ । ती दिनसम्म जसले मत दातालाई नजिक पार्न सक्छ उसको परिणाम सुनिश्चित हुनेनै छ । त्यस अर्थमा पनि झापा क्षेत्र नं. २ को चुनावी चहलपहल चाख लाग्दो रहेको विश्लेषकहरु बताउँछन् ।

उम्मेद्वार थापा नेपाली कांग्रेसको वडा, गाउँ, क्षेत्र हुँदै जिल्लाका दुई कार्यकाल सभापति भएका हुन् भने खरेल लामो समयदेखि वामपन्थी पक्षमा बसेर काम गर्दै आएकी महिला नेतृ हुन् ।