जनमुक्तिको घोषणापत्रमा केके छ त ? « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

जनमुक्तिको घोषणापत्रमा केके छ त ?


यलम्वर टाइम्स
२६ कार्तिक २०७४, आईतवार ०५:२९

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टीले शुक्रबार ३८ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

आदिवासी जनजाति, खस आर्य, दलित, मधेसी, मुस्लीम, कलस्टर र महिलाको लैङ्गिक प्रतिनिधित्व हुने गरी ५ सदस्यीय राष्ट्रपति मण्डल, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रि रहने व्यवस्था र पहिचानमा आधारित पूर्ण संघीयताको सुनिश्चितता रहनेछ भन्दै शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतिनिधि सभा र प्रदेश सभाको लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

यलम्वर टाइम्सको सूचना केन्द्रमा घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केपी पालुङ्वाले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन संघीय पक्षधरको विरुदमा उत्रिएको मोर्चा भएको हुँदा नेपाली जनताको स्वतन्त्रताको लागि दुवै गठबन्धन घातक भएको बताए ।

अध्यक्ष पालुङ्वाले भ्रष्टचारीलाई देशद्रोही, बेरोजगार युवालाई रोजगारको उचित व्यवस्था, वन, जंगल, जमिन, नदीको अधिकार त्यस क्षेत्रमा बस्ने जाति जनजातिको लागि उचित व्यवस्था, धर्म निरपेक्षतालाई व्यवहारिक रुपमा उतारिने, न्याय क्षेत्रलाई सरलता छरितो र मितव्ययीता बनाइने, बहुभाषिक विश्वविद्यालय निर्माण गरिने, उद्योग कलकारखाना, अस्पताल, शैक्षिक संस्था बन्द हड्ताल मुक्त बनाइने, खेलकुद, सञ्चार र पर्यटनलाई उच्च प्राथमिकता राख्दै अगाडि बढाइने, महिलाका लागि राजनीतिक सरकारी तथा गैरसरकारीमा ५० प्रतिशत कोठा सुनिश्चित गरिने जस्ता रहेका छन् ।

घोषणापत्र सार्वजनिकपछि केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले आफ्नो उम्मेद्वारी इलाम क्षेत्र नं. २ मा दिएको बताए । अध्यक्ष पालुङ्वाले लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनलाई हराउने दाउमा छ भने वाम गठबन्धन लोकतान्त्रिकलाई ठेगान लगाउने दाउमा उभिएको छ ।

जनमुक्ति भने ती दुवै दलको केही मत र लिम्बूवान र ससफोका केही सक्रिय कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको हुँदा त्यसैको तागतबाट आफू अगाडि आउने बताए । कार्यक्रममा पार्टीका उपाध्यक्ष मिना पन्धाकले लिम्बूवानवासीका जातिको मुक्तिको लागि र संघीयतालाई स्थायीत्व कायम गर्दै सिंहदरबारमा अड्किएर रहेको अधिकारलाई गाउँ वा टोलसम्म ल्याउन जनमुक्तिको महत्वपूर्ण योगदान रहने बताए ।

केन्द्रीय सचिव पदम जवेगुले संघीयतामा सबैको अधिकार सुनिश्चित रहने हुँदा ठूला दलले अधिकार दिन कञ्जुस्याँई गरेको बताए । खस क्षेत्रका नेता शिव आचार्यले समातामुलक र समावेशी प्रतिनिधित्वको विकास नभएसम्म छोटे राजाहरुको हैकम रहने बताए ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा जिल्ला अध्यक्ष पर्शुराम मगर, केन्द्रीय सदस्य लोक आङ्ला, विष्णु थाङ्देन, जिल्ला उपाध्यक्ष पार्वता माङ्मु, सांस्कृतिक कलाकार मोर्चाका केन्द्रीय अध्यक्ष कैलाश थापा, पूर्व सैनिक संघ केन्द्रीय उपाध्य दुर्गाबहादुर कटुवाल, नगर अध्यक्ष दिलीप राई आदिले घोषणा पत्र सार्वजनिक कार्यक्रममा जातिको अग्रअधिकार र पूर्ण संघीयता सुनिश्चिता नभए तेस्रो जनआन्दोलनको सुरुवात जनमुक्तिले गर्ने बताए ।