सभापति थापाको घरमा बम आक्रमण, गाडी पूर्ण रुपमा क्षति « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

सभापति थापाको घरमा बम आक्रमण, गाडी पूर्ण रुपमा क्षति


यलम्वर टाइम्स
९ मंसिर २०७४, शनिबार ०३:५९

अर्जुनधारा । मंसीर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकीएसँगै झापामा उम्मेद्वारको घरमा लक्षित गरी बम आक्रमण बढेको छ ।

शुक्रबार राती एकै पटक पूर्व प्रधानमन्त्रि एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस झापा सभापति उद्धव थापाको घरलाई लक्षित गरेर बम आक्रमण भएको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रसका सभापति उद्धव थापाको घरमा अज्ञात समुहद्धारा बम विस्फोट भएको प्रहरीले जनाएको छ । बम १२ः३० बजे बिस्फोट भएको थियो । बम विस्फोटले सभापति थापाको बा.७च. ६८९५ नम्बरको बुलेरो गाडी पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाएको छ ।

बिस्फोटबाट मानवीय क्षति नभएको बताइएको छ । सभापति थापाले आफू चुनावी कार्यक्रममा दिनभरी हिडेर थाकेको कारण सुतिसकेको बताउँदै आफ्नो घरमा उग्र चरित्र बोकेका समूहले बम प्रहार गर्छन् भन्ने कुरा नसोचेको बताए ।

सभापति थापाले नेपाली जनताको शान्ति र समृद्धिसँगै संविधानलाई पूर्णता दिनको लागि भइरहेको चुनावलाई सबै तह र तप्काबाट सफल पार्नुपर्ने धारणा राखेका थिए । उनले यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षलाई आग्रह गर्दै प्रशासनलाई शान्ति, सुरक्षाका लागि सजकता अपनाउन समेत आग्रह गरेका थिए ।

सभापति थापाकै घरमा एमालेका उम्मेद्वार पवित्रा खरेल निरौला, प्रदेश सभा उम्मेद्वार बृख प्रधान, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, पूर्व माननीय प्रेमबहादुर गिरी लगायत थापालाई सहानुभूति प्रदान गर्न पुगेका थिए । वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेद्वार पवित्रा खरेलले यस्ता कार्यको भत्सर्ना गर्दै चुनाव डटेर अगाडि बढ्न थापालाई आग्रह गरे ।

सभापति थापाकै घरमा एक कोणसभाको आयोजना पनि भएको थियो । सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कृषि राज्य मन्त्रि सरिता प्रसाईले प्रजातन्त्रलाई रक्षा गर्न, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली जनताको भावना अनुसारको संविधान लेख्न अगाडि बढ्दै गरेको नेपाली कांग्रेसलाई नतर्साउन आग्रह गर्दै शान्तिपूर्ण चुनावमा हिडेका उम्मेद्वारहरुलाई सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका थिए ।

अर्का केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीले नेपाली कांग्रेसलाई नजिस्क्याउन आग्रह गरे । उनले लोकतन्त्रको रक्षासँगै आम नेपाली जनताको भविष्य निर्माण गर्न नेपाली कांग्रेस अग्रसर भएको बताए ।

पूर्व सांसद सुधिरकुमार शिवाकोटीले नेपाली जनतालाई भयवित बनाएर राजनीति नगर्न आग्रह गरे । थापाको घरमा बम आक्रमण भएको थाहा पाएपछि स्थानीय छरछिमेकी तथा विभिन्न क्षेत्रबाट सहानुभूति प्रकट गर्न किसानदेखि व्यापारीसम्मको उपस्थिति रहेको थियो । उपस्थित जनसमुदायलाई सभापति तथा क्षेत्र नं. २ का उम्मेद्वार थापाले आफू कति पनि बिचलित नभई नेपाली जनताको दुःखलाई बुझ्दै मत माग्दै जाने बताए । कार्यक्रमको सञ्चालन भने सूचना संयोजक चतुर्भुज काफ्लेले गरेका थिए ।

यता झापा दमकमा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर अगाडी बम बिस्फोट भएको छ । ओली निवासमा दमकका नगर प्रमुख रोम ओली बस्दै आएका छन् । घर अगाडी सडकमा राखिएको एउटा बम बिहान ४ बजे बिस्फोट भएको थियो ।

बम बिस्फोटको आवाजले स्थानीय त्रसित भएका थिए भने सँगै रहेको अर्को बम डिस्पोजल गर्न नेपाली सेनाले गरिसकेको छ ।