‘जनता झुक्याउने प्रति खबरदार’ « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

‘जनता झुक्याउने प्रति खबरदार’


यलम्वर टाइम्स
१३ मंसिर २०७४, बुधबार ०४:२३

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले निर्वाचनको तिथि जनतालाई पूजा गर्ने अवसरको दिन भएको हुँदा जनता झुक्याउने नेतालाई मत जाहेर गर्न नहुने बताएका छन् ।

शनिश्चरे बजारको देवकोटा चोकमा पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सूर्यवंशीले २१ औं शताब्दीका जनताले अब झुक्याउने नेतालाई पहिचान गरी आफ्नो मत जाहेर गर्न सक्ने भएको हुँदा पहिचान पक्ष र विकास प्रेमी दललाई मत जाहेर गर्न आग्रह गरेका छन् ।

सर्पलाई पूजा गर्ने दिन कचौरोमा दूध बोकी सर्प खोजी–खोजी हिंड्ने, लक्ष्य पूरा भएको भोली पल्ट त्यही सर्पलाई लठ्ठीले हिर्काएर मार्ने नियत ठूला दलका नेताहरुले बोकेको हुँदा होसियार रहन आग्रह गर्दै चुनावको भोली पल्ट सर्पलाई खेदाए जस्तै जनतालाई बेवास्था गर्ने हुँदा सचेत हुन आग्रह गरे । उनले दलका नेता र तिनले बाँडेका घोषणापत्र अनुसार काम भएन भने अदालतमा उभ्याउनु पर्ने दिन आएको हुँदा जनतालाई नझुक्याउन ठूला दललाई आग्रह गरे । महासचिव सूर्यवंशीले संघीयताको पहिलो आवाज उठाउने दल राष्ट्रिय जनमुक्ति भएको हुँदा यसका उम्मेद्वारलाई मत दिन जोड दिए ।

महासचिव सूर्यवंशीले अगाडि भने –‘हामीले सबै जाति, वर्ग र सम्प्रदायको उत्थानको लागि आन्दोलन गरिरहेका छौं । संघीयता धर्मनिरपेक्षता र संविधानमा सबै जातिहरुको अधिकार पूर्ण सुनिश्चिताको लागि मेची–महाकालीबाट यो चुनावमा सहभागि भएका छौं । हामी सदैव जनताको पूजा गर्ने छौं ।’ त्यसर्थ हाम्रा उम्मेद्वारलाई मत दिन अनुरोध गरे । यहाँ पटक–पटक मेची–महाकाली रेल मार्ग खडा गरी रेल कुदाउने सपना बाँड्ने दलहरुबाट अब जनताले विश्वास नगरे हुन्छ । उनीहरु सर्वसाधारण सोझा जनताको मन छुने घोषणा पत्र त बनाउँछन् तर पूरा गर्न सक्दैनन् । त्यस्तासँग के विश्वास लिने ? महासचिव सूर्यवंशीले प्रतिप्रश्न गरे । हिजो हामी थोरै थियौं हाम्रा कुरा राज्यले सुन्न सक्दैन थियो । अहिले हाम्रो दल मेची–महाकालीसम्म पुगेको छ । राज्यले नसुने उसलाई घाटा हुने समेत बताए । अब हुने प्रदेश सभा र प्रतिनिधि सभाको नाममा पुग्ने नपुग्ने विकासे एजेण्डा बाँडेका छन्, हामीले कति विश्वास गर्ने ?

सम्बोधनको क्रममा महासचिव सूर्यवंशीले आचारसंहिता निर्माण गर्ने त्यसैको धज्जी उडाउने, संविधान निर्माण गर्ने बहानामा विदेशीबाट सहयोग लिने त्यसको ऋणभार जनतालाई थुपारिदिने के अब त्यस्ता नेतालाई अझै चुनेर पठाउने त ? त्यसतर्फ आम नेपाली जनताको ध्यान जान जरुरी रहेको बताए ।

उनले जनमुक्तिको शासन भए भ्रष्टाचारीहरुलाई मृत्युपर्यान्तसम्म जन्मकैद गरिने बताउँदै जनताले चाहेको संविधान निर्माण र पहिचान पक्षधरहरुले जनमुक्तिलाई स्नेहता प्रदान गर्नुपर्ने समेत बताए । हामीले भन्दै आएका छौं राज्यको हरेक निकायमा यहाँका जातिहरुको समान सहभागिता हुन जरुरी छ । गठबन्धनको नाममा तालमेल गरेर पहिचान पक्ष दलहरुलाई पाखा लगाउने काम भयो भने त्यसको जिम्मा ठूला दलले लिनुपर्ने बताए ।

उनले जनतालाई दिएको वाचा पूरा गर्न नसक्दा एमाले र माओवादी गठबन्धनको साइनो लिएर जनतामाझ आएका छन् । पटक–पटक सत्तामा बस्ने मुलुकको विकास र पहिचानको नाममा माखो नमार्ने दललाई मत दिएर ५ वर्ष पछुताउनु नहुने दोहोर्याए ।

चुनावी सभामा मुल्याङ्कन विभाग प्रमुख रामबहादुर तुम्बाहाम्फेले वैदेशिक रोजगारको नाममा युवाहरुलाई बेचेर देश कङ्गाल बनाउने दलप्रति सचेत हुनुपर्ने बताए ।

महिला नेतृ तथा समानुपातिकका उम्मेद्वार मीना पन्धाकले पटक–पटक विजय भएर गएका दलका नेताहरुप्रति सचेत हुँदै जनमुक्तिलाई सत्तामा पु¥याउन एक पटक अवसर प्रदान गर्न आग्रह गरे ।

अर्का नेता शिव आचार्यले समान अधिकार, विकास र समानुपातिक सिद्धान्तको बाटोबाट देशको निकास हुने हुँदा जनमुक्तिको विचारलाई सम्मान गर्न आग्रह गरे । क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेद्वार पर्शुराम थापाले देश बनाउने जिम्मा अब जनमुक्तिको भएको बताए ।

मंगलबार नै महासचिव केशव सूर्यवंशीले झापाको दूधेमा भएको कोण सभालाई सम्बोधन गर्दै तपाईहरुले दिएको मतबाट देश निर्माण गर्न टेवा पुग्ने बताए ।