राजपा नेताहरुबीच बोलचाल बन्द « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

राजपा नेताहरुबीच बोलचाल बन्द


यलम्वर टाइम्स
१६ माघ २०७४, मंगलवार ११:३९

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुको बीचमा बोलाचाल बन्द भएको छ । जवकि यो बेला दलहरु प्रदेश सरकार गठन गर्नेदेखि लिएर प्रतिनिधिसभा र केन्द्रीय सरकार गठनको विषयमा छलफलमा व्यस्त छन् ।

राष्ट्रियसभा उम्मेदवार चयनमा नेताहरुबीचमा भएको विवादका कारण बोलचाल नै बन्द भएको छ । नेताहरुवीचको विवादको असरा प्रदेशसभाका लागि संसदीय दलका नेता, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका विषयमा हुनुपर्ने छलफलमा परेको छ । यसका लागि बैठक बस्नु पर्ने भएपनि कुराकानी बन्द हुँदा बैठक प्रभावित भएको छ ।

दुई नम्बर प्रदेशमा दुईटा सीट पाएका राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राष्ट्रियसभामा बीभा ठाकुर, महन्थ ठाकुरले वृषेशचन्द्र लाल र दीपेन्द्र झा तथा महेन्द्रराय यादवले रमेश यादव तथा शरतसिंह भण्डारीले शेखर सिंहको नाम प्रस्ताव गरेका थिए ।

राजपाका एक नेता भन्छन्, ‘आ–आफ्नै मान्छे जानपर्ने सबैजनाको अडान थियो । राजेन्द्र महतोले बीभा ठाकुरको जसरी पनि जानुपर्छ भनेर अडान लिएर बसेका थिए । महेन्द्रराय यादव र शरतसिंह भण्डारीले पनि आ–आफ्नो अडान छाडेनन । राती अबेरसम्म छलफल गर्दा पनि कुरा नमिलेपछि रिसाएर राजेन्द्र महतोले महन्थ ठाकुरलाई जिम्मेवारी दिएर बैठकबाट घर फर्केका थिए । अनिल झा र शरतसिंह भण्डारी पनि आफ्नो घरतिर लागेका थिए ।’

ती नेता थप सुनाउँछन्, ‘त्यसदिन महन्थ ठाकुर आफ्नो निवास फर्केपछि राजकिशोर यादव र महेन्द्रराय यादव पनि उनको पछि पछि उतै गएका थिए । त्यहाँ गएर राती एक वजे मात्रै वृषेशचन्द्र लाल र रमेश यादवको नाम टुगों लागेको थियो ।’

जनकपुरको आन्दोलनमा सक्रिय भूमिकामा रहेकी बीभा ठाकुरको नाम नपरेपछि राजेन्द्र महतो निकै मर्मात भए । जनकपुरबाट प्रतिनिधिसभा चुनाव समेत जितेका राजेन्द्र महतोले बीभा ठाकुरको नाम राष्ट्रियसभामा पठाउन नसकेपछि उनलाई जनकपुर जान पनि गाह्रो भएको छ ।

बीभा ठाकुरको नाम प्रदेश सभाको समानुपातिकमा पनि पठाएको थियो । तर, क्रम सँख्या मिचेर पठाएको कारण अन्तिम समयमा आएर बीभा ठाकुरको नाम काटिएको थियो । बीभा ठाकुरको नाम काटिए पछि राजेन्द्र महतोमाथि निकै दवाव आयो ।

दवाव आउनुको एउटा अर्को कारण पनि थियो । महतोले बीभा ठाकुरको ठाउँमा अञ्जु कुमारीको नाम समानुपातिकमा सिफारिश गरेका थिए । बीभा ठाकुर भन्छिन्, ‘यदि मलाई गर्नु नै थियो भने शुरुमै प्राथमिकतामा राख्नु पथ्र्यो । आआफ्नो मान्छे पार्नका लागि नेताहरु शुरुमै प्राथमिकतामा राखे । अहिले आएर यो मिलेन त्यो मिलेन भनेर हुन्छ ।’

रातोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘यसमा म फलानो व्यक्तिलाई दोष दिदैन । छजना अध्यक्ष भएका कारणले आ–आफ्नो मान्छे पार्न यस्तो गरेको हो ।’

समानुपातिकमा बीभाको नाम नपरेपछि राजेन्द्र महतोले उनलाई जसरी पनि राष्ट्रिय सभामा ल्याउने बाचा गरेका थिए । तर, नसकेपछि उनको विरोध भएको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका एकजना सदस्यले भने, ‘राजेन्द्र महतोले बीभा ठाकुरलाई पठाउनु नै छ भने अञ्जुकुमारीलाई फिर्ता बोलाएर उहाँलाई राख्न सकिन्छ । अञ्जु कुमारीको नाम फिर्ता लिएर बीभा ठाकुरलाई पठाउन चाह्यो भने अहिले पनि हुन्छ । पार्टीमा दुख मनाउ गर्ने अवस्था छैन ।’

यही विवादका कारण नेताहरुको बीचमा बोलचाल पनि छैन ।

महन्थ ठाकुर प्रायः पुरानै कार्यालयमा समय बस्छन् । यता नयाँ कार्यालयमा नेताहरु आउन छाडेका छन् । मंगलवार राजकिशोर यादव एक्लै पार्टी कार्यालयमा थिए । महन्थ ठाकुर विजुली वजारको पुरानो पार्टी कार्यालयमा थिए ।

सोमवार पार्टीका संयोजक महन्थ ठाकुरले छलफलका लागि राजेन्द्र महतोलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए । तर, महतो आफ्नो कार्यकक्षबाट उठेर गएनन् । आफ्नै कार्यकक्षमा बसिरहँदा ठाकुर स्वयं उनको कार्यकक्षमा गएर कुराकानी गरेको कार्यलय स्रोत बताउँछ ।

ठाकुर महतोको कार्यकक्षमा छिरेपनि महतो आफ्नो कुर्सीबाट उठेका थिएन । स्रोतका अनुसार ठाकुुर उभिएर नै महतोसँग कुरा गरेर फर्केका थिए । ठाकुरलाई यसलाई राम्रा नमानेको र आफ्नो अपमान भएको बुझेको राजपाका एक नेता बताउँछन् ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले पार्टीमा कुनै प्रकारको विवाद नरहेको दावी गर्दै चाँडै नै बैठक बसेर प्रदेश सभाको विषयमा टुगों लगाउने बताए ।

नेताहरु जिल्ला बाहिर भएका कारणले बैठकमा ढिलाई भएको उनको दावी छ ।

रातोपाटीबाट