प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता


यलम्वर टाइम्स
२२ फाल्गुन २०७४, मंगलवार ०५:४८

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानी प्रधानमन्त्री शाहिद अब्बासीले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई बधाइ ज्ञापनका लागि काठमाण्डौ आएका प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन् ।प्रधानमन्त्री ओली र प्रधानमन्त्री अब्बासी बीच होटल याक एण्ड यतिमा करिब एक घण्टा भेटवार्ता भएको छ ।

भेटवार्तामा मूल रुपमा दुई देशको राजनीतिक र आर्थिक विकासका बिषयमा कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र सुदृढ गर्नुपर्ने काम जारी रहेको र चुनावी प्रक्रियाबाट राजनीतिक संक्रमणकाल अन्त्य गरेको स्पष्ट पारेका छन् । दुई प्रधानमन्त्रीबीच सार्क क्षेत्रीय विकास र दुई देशको सम्बन्धका बारेमा समेत कुराकानी भएको छ ।

सार्कको महत्वलाई थप प्रभावकारी बनाउन दुवै प्रधानमन्त्री सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशहरुका बीचमा कुनै किसिमको असमझदारी भएमा त्यसलाई आपसी छलफलद्वारा टुंग्याउनु पर्ने बताए ।

प्रधानमन्त्री अब्बासीले आफू आउदो सार्क शिखर सम्मेलन आयोजना गर्न तयार रहेको प्रधानमन्त्री ओलीसँग बताएका छन् । यस विषयमा सार्कका अन्य सदस्य राष्ट्रसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

भेटवार्तामा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री ओलीले उपयुक्त समयमा आफूले पाकिस्तान भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथमा अर्थमन्त्री डा. युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, मुख्य सचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदाश बैरागी लगायतको सहभागिता थियो ।

यस अघि प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा ‘गार्ड अफ अनर’ले सम्मान गरिएको थियो ।