शहीदका सपना साकार पार्न १ नं. प्रदेशलाई समृद्ध प्रदेश बनाउन जुटौं: मुख्यमन्त्री राई « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

शहीदका सपना साकार पार्न १ नं. प्रदेशलाई समृद्ध प्रदेश बनाउन जुटौं: मुख्यमन्त्री राई


यलम्वर टाइम्स
२२ फाल्गुन २०७४, मंगलवार ११:०२

सुखानी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले हाम्रै पालामा मुलुकलाई समृद्ध बनाएर लानुपर्ने बताएका छन् ।

४५ औं सुखानी शहीद स्मृति दिवसको अवसरमा दक्षिण इलामको सुखानी पार्कमा २१ गते सोमबार शहीदहरुप्रति पुष्प अर्पण गर्दै मुख्यमन्त्री राईले देश संघीय लोकतान्त्रिक अवस्थामा ल्याउन शहीदहरुको ठूलो बलिदानी भएको हुँदा उहाँहरुको सपनालाई साकार पार्न मुलुकलाई समृद्धिको बाटोमा पुर्याउनु पर्ने बताए ।

उनले शहीद रत्नकुमार वान्तवा, रामबहादुर प्रधान, चन्द्र डाँगीलाई पनि बिर्सिए अपमान हुने समेत बताए ।

१ नं. प्रदेश जल सम्प्रदा, भौगोलिक वन जंगल, हिमाल, पहाड र प्रशस्त उब्जनी हुने प्रदेश भएको हुँदा विदेशीले लगानी गर्न इच्छाइरहेको बताउँदै यस प्रदेशलाई समृद्ध बनाउन विदेशीभन्दा पनि हामी आफै लाग्नुपर्ने बताउँदै १ नं. प्रदेशभित्रका हरेक क्षेत्र वा नगर, गाउँपालिका सक्रिय भएर जनताको स्नेहता बटुल्न आग्रह गरे ।

उनले भने ‘मुलुकलाई समृद्ध बनाउन हामीले नगरे कसले गर्ने ?’ हामी भर्खरै नीति निर्माण गरेर आएका हौं त्यसैले पनि समृद्ध प्रदेश बनाउन सबैको सहयोग आवश्यक भएको बताए ।

विशेष गरी शहीदका ठाउँहरुलाई नमूना नगर वा गाउँ बनाएर जानेमा विशेष नीति ल्याइने बताउँदै जनताको चाहना र भावनालाई सम्बोधन गरिएन भने संघीय लोकतान्त्रिक गणतन्त्रको कुनै अर्थ नरहने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अगाडि बढाउन चालेको कदम प्रशंसनीय भएको त्यसै मुताबिक प्रदेशलाई पनि अगाडि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा संसदीय दलका नेता टंक आङ्बोहाङले शहीदको बलिदानीबाट मुलुक यहाँसम्म आएको बताउँदै राष्ट्रको र जनताको उन्नतिको बाटोमा १ नं. प्रदेश सक्रिय रहने बताए ।

सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले यस क्षेत्रको स्तरोन्नतिमा राज्यको विशेष भूमिका जाने बताउँदै जनताको भावनालाई सम्बोधन गरेर देशलाई शान्ति ढंगमा परिवर्तन गरे शहीदको सपना साकार हुने बताए ।

प्रदेश सभासद तथा माओवादी नेता झलकसिंह दर्लामीले परिवर्तन आफैमा प्रगतिशिल छ त्यसतर्फ मुलुक नगए शहीदको सपना अधुरो हुने बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवनकुमार घिमिरे, केन्द्रीय नेता रविन कोइराला, देवेन्द्र दाहाल लगायतले शहीदका विषयमा आ–आफ्नो विचार राखेका थिए ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले जिल्ला कमिटी झापाको संयुक्त आयोजनामा भएको सभामा दुवै पार्टीका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो । सोही दिन संघीय समाजवादीसँग आवद्ध रहेका केदार पराजुली लगायत केही नेकपा एमाले प्रवेश गरेका थिए ।

कार्यक्रममा झापाका क्रियाशिल पत्रकार तिर्थ सिग्देलद्वारा लेखिएको पूर्वको राजनीति नामक पुस्तक मुख्यमन्त्री राईले विमोचन गरेका थिए ।

एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकको सभापतित्वमा भएको कार्यक्रममा स्वागत प्रेमबहादुर गिरी र सञ्चालन मणिकुमार साम्पाङले गरेका थिए ।

कार्यक्रमको बिच समयमा सांगीतिक कार्यक्रम गर्नुका साथै तेक्वान्दोका उत्कृष्ट खेलहरु प्रदर्शन गरेका थिए भने मुख्यमन्त्री राईलाई माई नगरपालिकाका प्रमुख दिपक थेवे, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना र स्थानीय संघसंस्थाले सम्मान गरेका थिए ।