अर्जुनधारा–बुद्धशान्ति जोड्ने पुलको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा–बुद्धशान्ति जोड्ने पुलको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास


यलम्वर टाइम्स
१९ बैशाख २०७५, बुधबार ०४:४६

अर्जुनधारा । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका जोड्ने पुल निर्माण हुने भएको छ । अर्जुनधारा नपा वार्ड नं. १ र बुद्धशान्ति गाउँपालिका वार्ड नं. २ स्थित सिस्नेमा पर्ने विरिङ खोलाको पुल प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेपछि निर्माण हुने भएको हो ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना र बद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेलको सहभागितामा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

निर्माणाधिन पुल २ सय मिटरको बन्न लागेको हो । उक्त पुलको कुल लागत २३ करोड ६९ लाख २१ हजार ३ सय रहेको छ । बाहुण्डाँगी, बुधबारे, खुदुनाबारी, दानाबारी, चिसापानी, राजदुवाली नाम रहेको उक्त सडकमा बन्ने यस पुल योजनाको नाम विरिङ खोला पुल डिजाइन तथा निर्माण रहेको छ ।

उक्त पुलको २०७४ असार ८ गते नै सम्झौता भएको थियो । २०७७ असार ७ गते निर्माण सम्पन्न गर्ने योजना रहेको पुलको वरपर ६ सय मिटर नदी नियन्त्रणको काम समेत हुने जनाइएको छ ।

पुल शिलान्यास पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका काममा सहयात्रा गर्न प्रतिपक्षी दलहरुलाई समेत आह्वान गरेका छन् । उनले निरंकुशताविरुद्धको आन्दोलनबाट प्राप्त उपलब्धि आफूहरुले विकासका लागि प्राप्त गरेको हुँदा सबैलाई विना भेदभाव सहभागी गराउनेमा विश्वस्त हुन अनुरोध गरे ।

कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राई, सांसद पवित्रा निरौला खरेल, जितु गौतम, हरिचरण श्रेष्ठ, प्रदेश सांसद वृखप्रधान, प्रेम गिरी लगायतको उपस्थिति रहेको थियो ।

भौतिक तथा योजना मन्त्री रघुवीर महासेठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
सोही दिन नै प्रधानमन्त्री ओलीले लक्ष्मीपुर, रातेखाल, मदनपुर हुँदै साधुटार जोड्ने राजन गिरी मार्गको समेत उद्घाटन गरेका थिए ।