जनमुक्ति सहित तीन राजनीतिक दल एकतामा जुट्दै « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

जनमुक्ति सहित तीन राजनीतिक दल एकतामा जुट्दै


यलम्वर टाइम्स
१२ जेष्ठ २०७५, शनिबार १२:२३

बिर्तामोड । पहिचानको पक्षमा वकालत गर्दै आएका चार पहिचानवादी दलहरुबीच एकता हुने भएको छ ।

पहिचानका विषयमा आवाज उठाउँदै आन्दोलनरत रहेका केपी पालुङ्वको नेतृत्वमा रहेको राष्ट्रिय जनमुक्ति पार्टी, सञ्जुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बूवान पार्टी नेपाल, मिसेकहाङ नेतृत्वको लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पार्टी र दिनेश राजवंशी नेतृत्वको कोचिला एकता मोर्चाले ६ वटा बुँदामा सहमति जनाउँदै एकता गर्न सहमत भएका हुन् ।

शनिबार बिर्तामोड स्थित होटल बिनायकमा प्रत्रकार सम्मेलन गर्दै निकट भविष्यमै पार्टी एकिकरण घोषणा गरेर जाने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले यो पत्रकार सम्मेलनबाट पार्टी एकता घोषणा नै भईसकेको बताउँदै केही प्राविधिक पक्षलाई व्यवस्थापन गर्न बाँकी रहेको बताए ।

अध्यक्ष पालुङ्वाले ती पक्षलाई चाँडै मिलाएर आधिकारीक रुपमा घोषणासभाबाट घोषणा गरेर लाने जनाए । कार्यक्रममा बोल्दै अध्यक्ष पालुङ्वाले भने –‘एमाले–माओवादीको दुई तिहाई बहुमत रहेको छ । संविधान बमोजिम दुई तिहाईबाट संविधान परिमार्जन गर्न सक्छन्, जति पनि उपलब्धी हासिल भएको छ त्यो गुम्ने खतरा छ । त्यसैले विचार र मुद्दा मिल्ने दलहरुसँग एकता गर्दै तेस्रो वैकल्पिक शक्तिको निर्माणका लागि एकता गरिएको हो ।’

त्यस्तै संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले नेपाल निर्माणसँगै भएको जातीय, भाषिक र सांस्कृतिक दमनका साथै अपुरो राष्ट्रिय मुक्ति क्रान्ति र आन्दोलनलाई पूरा गर्नका लागि एकताको विकल्प नभएको बताएका छन् ।

अध्यक्ष सञ्जुहाङले यो एकता कुनै पनि हालतमा नतुहिने बताउँदै एकताको एउटै उद्देश्य शसक्त आन्दोलन रहेकोमा जोड दिए । उनले अगाडि भने –‘संविधानमा हाम्रा कुराहरु समेटिएका छैनन् । पहिचानका मुद्दाहरुलाई पाखा लगाइएका छन् । तसर्थ यो संविधान पुर्नलेखन गर्नुपर्छ ।’ यसको लागि शसक्त आन्दोलन गर्न जरुरी छ जुन एकताबाट मात्र सम्भव छ –उनले थपे ।

बृहत कार्यकर्ताहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलन कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, लिम्बूवान राष्ट्रिय क्रान्तिकारीका अध्यक्ष मिसेक हाङ, कोचिला एकता मोर्चाका अध्यक्ष दिनेश राजवंशी, जनमुक्तिका उपाध्यक्ष मीना पन्धाक, मोहन धिमाल, कमला थापा, सचिव पदम जवेगू, झापाका अध्यक्ष पर्शुराम मगर, लिम्बूवानका उपाध्यक्ष सुरेन्द्रप्रसाद जवेगु, निश्चलता लावती, दिल्ली मिथक, कोचिलाका उपाध्यक्ष हिमाल राववंशी, लिम्बूवान क्रान्तिकारीका उपाध्यक्ष पूवराज याक्खा लगायतको उपस्थिति रहेको थियो ।

जनमुक्तिका उपमहासचिव रामु परियारले सञ्चालन गरेको कार्यक्रममा लिम्बूवानका महासचिव लाकिम पालुङ्वाले विज्ञप्ती वाचन गरेका थिए । कार्यक्रममा पार्टीका नाम, झण्डा, चुनाव चिन्ह लगायत अन्य प्राविधिक पक्षहरुको टुंगो पार्टी एकता घोषणासभासम्ममा लगाइसक्ने बताइएको छ ।