डेंगु नियन्त्रण बारे गाउँघरमा सचेतना जगाऊ « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

डेंगु नियन्त्रण बारे गाउँघरमा सचेतना जगाऊ


यलम्वर टाइम्स
३१ जेष्ठ २०७६, शुक्रबार १०:१४

अर्जुनधारा क्षेत्रमा गत वर्ष डेंगु संक्रमणले एक महिलाले ज्यान गुमाउनु परेको थियो भने केहीमा संक्रमण देखा परेको थियो । यो वर्ष पनि एक जनामा डेंगु संक्रमण भेटिएको बिर्तासिटी अस्पताल बिर्तामोडले जनाएको छ । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले सचेतना र नियन्त्रणका लागि औषधि छरेतापनि पूर्ण नियन्त्रणमा आउन सकेको थिएन । पछि अत्याधिक वर्षा भएका कारण डेंगु आफैं नियन्त्रण भएर गएको विज्ञहरुको भनाई छ ।

डेंगु एक अनियन्त्रित रोग हो । सामान्य खोल्सा–खोल्सी र जमेका सफा पानीमा लामखुट्टेका लार्भा पैदा हुने र त्यसको टोकाइबाट उत्पन्न हुने रोग हो डेंगु । त्यसको नियन्त्रणका लागि औषधि छर्कदा त्यस्ता किटनाशक औषधिले मानव जीवनमा समेत प्रभाव पार्ने भएको हुँदा अब घर–घरमा सचेतना आवश्यक देखिन्छ । डेंगु रोकथामका लागि भत्तावाला सभा, गोष्ठी गर्नु तथा किटनाशक औषधि प्रयोग गर्नुभन्दा महिला, बालबालिका र घरमूलीलाई डेंगुबाट बच्ने उपाय सम्बन्धि ज्ञान दिनु जरुरी देखिन्छ ।

गत वर्षमात्र बिर्तामोड र अर्जुनधारामा डेंगु रोग नियन्त्रण कार्यक्रमका लागि लाखौं रकम स्थानीय सरकारले खर्चिर्यो, तर पनि नियन्त्रण हुन सकेन । स्थानीय सरकार नहुँदा जिल्ला जनस्वास्थ्य शाखाले यसअघि पनि नियन्त्रणका नाममा धेरै रकम खर्चिएको थियो । यसरी रकम खर्चिने चलनले समाजमा परिणाममुखी सन्देश नआएको हुँदा स्वास्थ्य कर्मी र स्वास्थ्य स्वयमसेवीकाबाटै स्थानीय स्तरमा डेंगुबाट बच्ने उपाय र नियन्त्रण गर्ने जुक्ति दिलाउन जरुरी छ ।


प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका लागि ८० लाख रुपैयाँ बजेट बिनियोजन गरे पनि त्यसलाई उचित नियन्त्रण गाउँबस्तीमा पुगेर ज्ञान दिनु नै हो । त्यसो गरिएन भने संक्रमण अझ बढेर जाने निश्चित छ ।

सकिन्छ भने डेंगु सम्भावित ठाउँमा झुलभित्र सुत्ने वातावरण बनाइदिन उचित हुन्छ । झुल दिन नसकिए पातलो कपडा लगाएर सुत्न, घर नजिकका खाल्डा खुल्डी पुर्न र पानी जम्न नदिने उपाय सिकाउनु पर्छ । त्यसैले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तीनै तहबाट डेंगु रोग सम्बन्धि सभा गोष्ठीभन्दा घर–घरमा पुगेर सचेतना सम्बन्धि आवश्यक जानकारी दिनु उपयुक्त हुन्छ । हुन त प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका लागि ८० लाख रुपैयाँ बजेट बिनियोजन गरे पनि त्यसलाई उचित नियन्त्रण गाउँबस्तीमा पुगेर ज्ञान दिनु नै हो । त्यसो गरिएन भने संक्रमण अझ बढेर जाने निश्चित छ । त्यसतर्फ स्थानीय स्वास्थ्य संघसंस्था र स्थानीय सरकार सचेत हुन आवश्यक छ ।